May 28th, 2017

बैंकको शाखा समेत नभएको वेलका, कसरी भयो नगरपालिका घोषणा ? 

रोयल आचार्य/बैंकिङ खबर
मुलुक संघीय संरचनामा गएपछि सात सय ४४ वटा  स्थानीय निकायहरु निर्माण गरियो । अहिले त्यो संख्यालाई बढाएर सात सय ६६ पुर्याइएको छ । नयाँ संरचना अनुसार निर्माण गरिएका धेरै गाउँपालिकामा बैंकका शाखाहरु खुल्न सकेका छैनन् । गाउँपालिका मात्रै नभएर नगरपालिकामा समेत बैंकको शाखा छैनन् । प्रदेश नम्बर १ को उदयपुर जिल्लामा आठ वटा स्थानीय तह छन्, जसमध्ये, चार वटा गाउँपालिका र चार वटा नगरपालिका छन् । यीमध्ये १ नगरपालिका सहित पाँच वटा स्थानीय तहमा एउटा पनि बैंकको शाखा छैनन् । 

उदयपुर जिल्लाको वेलका नगरपालिका साविकको चार वटा गाविसहरु मिलाएर बनाएको हो । यो नगरपालिकाको जनसंख्या जम्मा ४३ हजार सात सय ३९ छ । साविकको मैनामैनी, बबला, तपेश्वरी र रामपुर ठोक्सिला गाविस मिलाएर बनेको वेलका नगरमा वित्तीय कारोबार गर्नका लागि सहकारीको विकल्प छैन । सहकारी पनि रामपुर र तपेश्वरीमा मात्रै भएका कारण नगरका अन्य भेगका मानिस सिरानीलाई बैंक मान्ने गरेका छन् । कर्जा लिनका लागि पनि नगरका जनता साहू महाजनकहाँ नै पुग्ने गरेका छन् । यस क्षेत्रका जनता कहिले बैंक आउला र बैंकिङ कारोबार गर्न पाइएला भनेर आश गरेर बसेका छन् । 

नगरमा बैंक शाखा नभएका कारण धेरै दुःख पाउनु परेको स्थानीयको गुनासो छ । बैंकिङ कारोबार गर्नै पर्ने बाध्यता भएकाले उनीहरुले टाढा टाढा पुगेर बैंकको सेवा लिइरहेका छन् । ‘नजिकै शाखा नभएका कारण सुनसरीसम्म जानु पर्छ’, स्थानीय रुद्रप्रसाद आचार्यले दुखेसो पोख्दै भने, ‘मेरो पेन्सन महिनैपिच्छे आउँछ । त्यो लिनका एक दिन पुरै माया मारेर सुनसरीको झुम्का पुग्नु पर्छ ’। आचार्य नेपाल प्रहरीको भूपु हवल्दार हुन् । सोहि ठाउँका चक्र बहादुर तामाङको समस्या पनि उस्तै छ । नेपाल आर्मीमा २० बर्ष सेवा गरि रिटायर्ड भएका तामाङ पेन्सन बुझ्न भने तीन घण्टा बसमा चढेर सदरमुकाम गाइघाट पुग्ने गरेका छन् । आचार्य र तामाङ त केवल प्रतिनिधि पात्र मात्रै हुन् । नजिकै बैंक शाखा नभएका कारण उनीहरु जस्ता हजारौं जनता बैंकिङ सेवाबाट टाढा छन् । 

के भन्छन् त सरोकारवाला ? 
वेलका नगरपालिकामा चाँडै बैंकको शाखा खोलिने नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद पौडेलले बताए । बैंकिङ खबरसँग कुरा गर्दै कार्यकारी अधिकृत पौडेलले भने –‘अहिले पूर्व पश्चिम बैकल्पिक राजमार्ग निर्माणले गर्दा भौतिक संरचनाहरु पुनः निर्माणको क्रममा छन् । नयाँ घरहरु निर्माण पश्चात धमाधम बैंकका शाखाहरु खुल्नेछन् ।’ ‘वाणिज्य बैंकको शाखा खोल्नका लागि नगर कार्यपालिकाको कार्यालयले आवश्यक पहल गरिरहेको छ’, कार्यकारी अधिकृत पौडेलले भने, ‘अब ढुक्क भए हुन्छ, नयाँ आर्थिक बर्षमा बैंकको शाखा खुल्छ ।’ 

बैंक नभएको यस नगरमा कसरी हुन्छ, वित्तीय कारोबार ? 
वेलका नगरपालिकामा ४३ हजार सात सय ३९ जना बसोबास गर्छन् । हाल उनीहरु बैंकिङ सेवा सुविधाबाट टाढा छन् । जान्ने बुझ्ने तथा बैंकिङ कारोबार गर्नै पर्ने बाध्यता भएकाले छिमेकी जिल्ला सुनसरीको धरान, इटहरी तथा उदयपुरकै छिमेकी नगरपालिका चौदण्डीसम्म पुग्ने गरेका छन् । 

साविकको चार गाविस मिलेर बनेको बेलका नगरका अधिकांश मानिसहरु वित्तीय कारोबार असुरक्षित रुपमा गर्ने गरेका छन् । भित्री मधेसमा पर्ने यस ठाउँका अधिकांश मानिसहरु कर्जा लिनका लागि साहु महाजनको ढोका ढकढकाउन पुग्ने गरेका छन् । यस ठाउँमा अहिले पनि ३६ देखि ४४ प्रतिशत सम्मको ब्याजदरमा कर्जा लिने गरेका छन् । यद्यपि यस ठाउँमा केहि सहकारी र लघुवित्तका शाखाहरु भने छन् । 

सबैभन्दा बढी जनसंख्या रहेको रामपुर क्षेत्रमा सहयोगी वचत तथा ऋण सहकारी, ठोक्सिला बचत तथा ऋण सहकारी, हातेमालो बहुदेशीय सहकारी, साना किसान महिला सहकारी, मेलमिलाप महिला सहकारी, कमलाबारी कृषि सहकारी लगायतका सहकारीहरु सञ्चालनमा छन् । यीमध्ये सहयोगी बचत तथा ऋण सहकारी संस्थाले नगरवासीलाई धेरै सेवा दिँदै आएको छ । सामान्यतयाः सहकारीले १७ देखि १८ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने गरेको छ ।  नगरपालिका भित्रै रहेका लघुवित्तका शाखाहरुले पनि कर्जा र बचत संकलन गर्ने काम गरिरहेका छन् । उनीहरुले १८ देखि २४ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गर्ने गरेका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]