May 10th, 2016

बुझ्नेले कुरा नबुझेपछि बैदेशिक रोजगार बचतपत्रमा ‘नो अट्राक्सन’

a1सरकारले करिब ७ वर्षअघि साउदी अरेबिया, मलेसिया, कतार, संयुक्त अरब ईमिरेट्स र दक्षिण कोरियामा कार्यरत नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने घोषणा गरेको थियो । त्यसको एक वर्ष त यो घोषणामै सीमित भयो । त्यसयता ६ वर्षमा सरकारले ८ पटक बैदेशिक रोजगार बचतपत्र विक्री गरेको छ । तर ९ अर्ब रुपैयाँ मागिएकोमा जम्मा ३० करोड रुपैयाँ बराबरको मात्रै बचतपत्र बिक्री भएको राष्ट्र बैंक व्यवस्थापन विभागले जनाएको छ । यसको अर्थ, राष्ट्र बैंकले जारी गरेको बचतपत्रप्रति धेरैको ध्यानाकर्षण हुन सकेको छैन । यो वर्षका लागि पनि राष्ट्र बैंकले हालै २५ करोड रुपैयाँको बचतपत्र निष्काशन गरेको छ । तर त्यसमा जम्मा ८ करोड रुपैयाँको मात्र आवेदन परेको बताइएको छ । बिदेशमा काम गरिरहेकाहरुका लागि यो फाइदाजनक पनि छ । तर पनि यसमा उनीहरुको आकर्षण बढ्न सकेको छैन । 

किन बिक्दैन बचतपत्र ?
प्रवासमा रहेका धेरैजसो नेपालीलाई बचतपत्रबारे थाहै छैन । बचतपत्र कहिले जारी हुने, फाराम कहाँ पाउने, रकम कुन ठाउँबाट पठाउने, विनिमय दर कति हुने, बचतपत्रको लागि कति व्याजदर दिने लगायतका विषयमा राष्ट्र बैंकले आफ्नो साइटमा राख्ने गरेको भएपनि त्यसको प्रभाव खासै देखिएको छैन । प्रवासमा बस्ने नेपालीहरु बचतपत्रबारे थाहै नभएको बताउँछन् । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये हालसम्म तुलनात्मक रूपमा सबैभन्दा अप्रभावकारी भएको उपकरण वैदेशिक रोजगार बचतपत्र नै हो । यसो हुनुमा बचतपत्रबारे गैरआवासीय नेपालीको सचेतना र पहुँचको अभाव मुख्य समस्या देखिएको छ । सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा उनीहरूको विश्वास प्राप्त हुन नसकेको विज्ञहरू बताउँछन् । ऋणपत्र बिक्री गर्ने एजेन्टसम्म कामदार र गैरआवासीय नेपालीले पहुँच नपाउनु अर्को समस्या भएको जानकारहरुको भनाई छ । 

रेमिट्यान्स कम्पनीका एजेन्ट अप्रभावकारी 
बचतपत्र बेच्नका लागि अहिले निजी रेमिट्यान्स कम्पनी र बैंकहरुले एजेन्ट लिएका छन् । उनीहरु बैदेशिक रोजगारमा रहेका नेपालीहरुको दैलोमा पुगिरहेका छन् । उनीहरु विक्रि एजेन्ट भएकाले यसको प्रचारप्रसारमा अझ वढि क्रियाशिलता देखाउँछन् भन्ने सरकारी विश्वास छ । तर पनि परिणामले यसको गतिलो प्रभाव देखाएको छैन ।  

बचतपत्र किन्दाका फाइदाहरु
सरकारले यस्तो बचतपत्र किन्नेलाई ९ प्रतिशत ब्याज प्रदान गर्दछ । बाणिज्य बैंकमा भन्दा यो ७ प्रतिशतले बढि हो । बचतपत्रमा सरकारले एक वर्षमा दिने ब्याज बाणिज्य बैंकमा राखेर अपेक्षा गर्ने हो भने ४ वर्ष पर्खिनुपर्छ । अहिलेको अवस्थामा यो धेरै राम्रो ब्याज मान्न सकिन्छ । अर्धवार्षिक रुपमा ब्याज पाइन्छ भने कुनै बेला आफुलाई चाहिएको बेला धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ । अर्को कुरा यो भनेको राष्ट्रको योजना पनि हो । राष्ट्रले मागेको बचतपत्रमा पैसा जम्मा गर्दा सुरक्षित पनि हुन्छ । बैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि भने यो एकदमै राम्रो अवसर मानिन्छ । यो बचतपत्र सरकारको नाममा जम्मा हुन्छ र यो पैसा देश विकासमा प्रयोग गरिन्छ । एक जिम्मेवार नेपाली भएकाले देश विकासमा पनि टेवा पु¥याउन पाइने र आफुले कमाएको पैसा बचत पनि हुने भएकाले यसका फाइदाहरु निकै छन् तर पनि यसप्रति आकर्षण प्रभावकारी पाइएको छैन ।

आकर्षण बढाउन सचेतनाकै खाँचो
कतिपय जानकारहरु भन्छन्, ‘बचतपत्र बिक्रीमा ह्रास आउनुको मुख्य कारण भनेको सचेतनाको कमी नै हो । बचतपत्र किन्नेलाई घाटा नै छैन, ब्याज पनि बढि आउँछ, राष्ट्रको विकासमा आफ्नो भूमिका पनि रहन्छ । बुझाउन सक्ने हो भने जो कोहीले पनि किन्छ ।’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले बचतपत्रबारे थप सचेतनाका लागि योजना बनाईरहेको बताए । ‘विगतमा असफल जस्तै भएको बचतपत्रबारे प्रवासमा रहेका नेपालीहरुलाई मजाले बुझाउन नसकिएको हामीले महशुस गर्यौँ’ ती अधिकारीले भने, ‘अब यसलाई प्रभावकारी बनाउन सचेतना र यसबारे जानकारी प्रवासमा रहेका नेपालीहरुसम्म पुर्याउने गरी तयारी गरिरहेका छौँ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]