June 15th, 2017

बीमा समितिको अनुगमन : बीमा कम्पनीहरुलाई कडा निर्देशन

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरु अनुगमन थालेको छ । बीमा ऐनमा कम्पनीहरूको निरक्षण गर्नुपर्ने व्यवस्था भएबमोजिम समितिले कम्पनीहरुको समग्र पक्षको निरीक्षण गर्न सुरु गरेको हो । यसअघि उजुरीका आधारमा मात्रै निरीक्षण गर्दै आएको समितिले यसपटक स्थलगन निरीक्षण नै सुरु गरेको छ । पहिलो चरणमा निजीर स्तरका निर्जिवन बीमा कम्पनीहरु युनाइटेड इन्स्योरेन्स लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबाट अनुगमन सुरु गरेको बीमा समितिले जानकारी दिएको छ । 

निरीक्षणका लागि समितिले गत चैतदेखि आफ्ना कर्मचारीलाई प्रशिक्षण दिएको थियो । आन्तरिक प्रशिक्षणपछि समितिले कर्मचारीलाई अभ्यासका लागि स्थलगत निरीक्षणमा नै पठाएको हो । निरीक्षणमा जानुपूर्व कम्पनीलाई सूचना दिइने समितिले बताएको छ । त्यस्तै, निरीक्षण गरिने विषयको पनि जानकारी गराइनेछ । 

निरीक्षणका लागि समितिले उपनिर्देशकसहितको एउटा टोली निर्माण गरेको छ । निरीक्षणपछि टोलीले कम्पनीको सञ्चालक समितिलाई प्रतिवेदन बुझाउनेछ । सञ्चालक समितिले उक्त प्रतिवेदनको दुई दिनमा जवाफ दिनुपर्नेछ । सञ्चालकको जवाफ पछि टोलीले पुनः अन्तिम प्रतिवेदन तयार पार्नेछ । टोलीले देखाएका कमजोरीलाई कम्पनीले सुधार गरे नगरेको निरन्तर फलोअप गरिने समितिले जनाएको छ । 

समितिले बीमा कम्पनीहरुको निम्न पक्षहरुको अनुगमन गर्नेछ :

चुक्तापुँजी वृद्धि
बीमा समितिले बीमा क्षेत्रलाई पनि बैंकिङ क्षेत्रजस्तै बलियो बनाउने उद्देश्यले पुँजीवृद्धिको घोषणा गरेको छ । समितिले निर्जिवन बीमा कम्पनीहरुलाई एक अर्ब र जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । यसका लागि समितिले ०७५ असार मसान्तसम्मको समयावधि दिएको छ । चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरु कसरी अगाडी बढिरहेका छन्, भन्ने कुराको अनुगमन समितिले गर्नेछ । 

स्थानीय तहमा शाखा विस्तार
सरकारले सबै नेपालीहरुलाई बीमाको दायराभित्र ल्याउने योजना राखेका छ । सो योजना पूरा गर्न बीमा कम्पनीहरु कत्तिको उद्धत देखिएका छन्, भन्ने कुराको अनुगमन पनि समितिले गर्नेछ । हाल घोषणा गरिएका ७४४ स्थानीय तहमध्ये कतिवटामा बीमा पहुँच पुगेको छ ? कुन कम्पनीले ग्रामिण÷सहरी इलाकामा बढी शाखा विस्तार गरेको छ ? लगायतका कुराहरुको अवलोकन समितिले गर्नेछ । साथमा बीमाको पहुँच नपुगेका स्थानीय तहमा तत्कालै पुर्याउने गरी पहल समेत थालिने समितिले जनाएको छ । 

कृषि तथा पशु बीमामा योगदान
मुलुकभर कृषि तथा पशुहरुको बीमा गराउन कृषकहरुलाई प्रेरित गरिरहँदा बीमा कम्पनीहरुले यो विषयमा के कति योगदान पुर्याएका छन् भन्ने कुराको पनि अनुगमन गरिने भएको छ । कुन कम्पनीले कृषि बीमा, बाली बीमा, पशु बीमा जस्ता योजनालाई महत्व दिएको भन्ने कुराको अध्ययन हुने बताइएको छ । यस्ता योजनालाई प्राथमिकता नदिने कम्पनीहरुलाई तत्काल त्यसतर्फ लाग्न निर्देशन समेत दिइने भएको छ ।  

अन्य,
बीमा कम्पनीहरूले निर्देशिकाअनुसार काम गरे नगरेको, ऐनको उचित पालना गरे नगरेको, संस्थागत सुशासन कार्यान्वयन भए नभएको, दाबी भुक्तानीको प्रक्रिया, अन्डर राइटिङको अवस्थालगायतको निरीक्षण गरिने बीमा समितिले जनाएको छ । 

प्रत्येक वर्ष अनुगमन हुने
हाल नेपालमा १७ वटा निर्जिवन, नौ वटा जीवन र एउटा पुनर्बिमा गरी कुल २७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यसका साथै समितिले १० नयाँ जीवन कम्पनी सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति समेत प्रदान गरिसकेको छ भने चार वटा निर्जिवन बीमा कम्पनी लाइसेन्स प्रक्रियामा छन् ।  योसँगै नेपालमा बीमा कम्पनीको संख्या ४१ पुग्नेछ । यी सबै कम्पनीको अवदिेखि वर्षमा एक पटक अनिवार्य रूपमा निरीक्षण गर्ने योजना बीमा समितिले बनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]