January 3rd, 2017

बीमा समितको अध्यक्षमा चिरञ्जीवि चापागाँई, सरकारले किन लुकायो सूचना ? 

बीमा समितको नयाँ अध्यक्षमा चिरञ्जीवि चापागाँई नियुक्त भएका छन् । आगामी ५ बर्षे कार्यकालका लागि बीमा समितिको अध्यक्ष पदमा चापागाँई नियुक्त भएका हुन् । शिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार मन्त्री परिषद्को गत बैठकले चिरञ्जीवि चापागाँईलाई नियुक्त गरेको हो । बीमा समितिका निवर्तमान अध्यक्ष डा. फत्त बहादुर केसीको गत पुष ७ गते देखी नै कार्यकाल सकिएको थियो । डा.केसीको कार्यकाल सकिए लगत्तै नयाँ अध्यक्ष नियुक्त गनु पर्नेमा सरकारले आन्तरिक समस्या देखाउदै ११ दिन पछि चापागाँईलाई नियुक्त गरेको हो । बीमा समितको अध्यक्ष चुन्न उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चापागाँई सहित ३ जनाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावित ३ जनामध्ये चापागाँईलाई मन्त्रीपरिषद्ले नियुक्त गरेको हो । बीमा समितका नव नियुक्त अध्यक्ष चापागाँई बीमा क्षेत्रका बिज्ञ मानिन्छन् । बिहिबार बसेको मन्त्रीपरिषदले नै उनलाई नियूक्त गरेपनि सरकारले सूचना दिएको थिएन । सरकारका मूख्य सचिव सोमलाल सुवेदीले सोमबार मात्र निर्णय पुस्तिकामा हस्ताक्षर गरेको बुझिएको छ ।

सरकारले किन लुकायो सूचना ? 
मन्त्रीपरिषदको बैठक गत बिहीबारनै बसेको हो । तर रिक्त रहेको बीमा समितिमा अध्यक्ष चुन्ने काम नभएको सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले बैंकिङ खबरलाई बताएका थिए । तथापी उक्त मन्त्रीपरिषदकै बैठकले अन्य क्षेत्रमा नियूक्ति लगायतका निर्णयहरु सार्वजनिक गरेको थियो । मन्त्री परिषदमा बीमा समिति अध्यक्ष चुन्ने काममा विवाद समेत उत्पन्न भएको बताइएको थियो । जसकारण विमा समितिको अध्यक्ष पदमा डा. रविन्द्र घिमिरे नियूक्ति भएको समेत विभिन्न संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । सरकारका जिम्मेवार र आधिकारीक व्यक्तिले यस्तो गलत सुचना किन दिए ? र बीमा समितिमा अध्यक्ष चुनिएका चिरञ्जीवि चापागाँईको नाम किन गुपचुप राखियो ? सरकारमाथि प्रश्न उठेको छ । 
 
नवनियुक्त अध्यक्ष चापाँगई को हुन् ?
बीमा समितका नव नियूक्त अध्यक्ष चिरञ्जीवि चापागाँई बीमा क्षेत्रका बिज्ञ मानिन्छन् । चापागाँई नेपाल राष्ट्र बैंकमा २७ बर्षे लामो अनुभव भएका व्यक्ति हुन् । बैकिङ क्षेत्रको व्यवस्थापनमा लामो अनुभव बोकेका चापागाँई कूशल छवि भएका व्यक्तित्व मानिन्छन् । हाल नेपाल राष्ट्र बैंक शाखा कार्यालय पोखराका निर्देशक रहेका चापागाँई नेपालको वित्तीय क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् । बाग्लुङ्ग जिल्लामा जन्मेका चापागाँईले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । 

बीमाको दायरा बढाउने प्रमुख लक्ष 

बीमा समितिका नव नियूक्त अध्यक्ष चिरञ्जीवि चापागाँईले मुलुकमा हाल बीमा क्षेत्रमा आबद्ध हुनेहरुको संख्या थोरै भएका कारण यसको दायरा बढाउने काम आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । मुलुकमा हाल ७ प्रतिशत मात्रै नागरिकले बीमा गर्ने गरेको विभिन्न अर्थशास्त्रीहरुको भनाई छ । यो अबस्थामा बीमा समितिको अध्यक्ष बनेका उनले देशैभर बीमा जागरण ल्याउनुपर्ने खाँचो औल्याएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले आफ्नो पहिलो प्राथमिकता बीमा बुझाउने र बीमा क्षेत्रको दायरा फराकिलो बनाउँदै आम नागरिकलाई यसको आबश्यकता र महत्व दर्शाएर देशैभरी बीमाको लहर ल्याउने रहेको बताए ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]