February 14th, 2017

बीमा कम्पनीप्रति अझै प्रष्ट छैनन् सर्वसाधारण : यस्तो छ, बाली तथा पशुबीमाको अवस्था

जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा बीमा कार्यालय स्थापना भएपनि किसानले हालसम्म बाली तथा पशु बीमा गरेका छैनन् । बीमासम्बन्धी कुनै जानकारी नपाएपछि किसानले हालसम्म बाली तथा पशु बीमा नगरेका हुन् । 

गत चैत महिनामा स्थापना भएको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालयमा हालसम्म कुनै पनि बाली तथा पशु बीमा नभएको शाखा कार्यालय प्रमुख चाँगुनारायण विष्टले जानकारी दिए । जोखिम न्यूनीकरण गर्ने प्रावधान रहेका बीमा कम्पनीप्रति सर्वसाधारण स्पष्ट हुन नसक्नुले पनि बीमा हुन नसकेको उनको भनाइ छ । ‘बाली तथा पशु बीमाको प्रक्रियाबारे किसानलाई जानकारी हुन सकेको छैन,’ उनले भने । सगरमाथा बीमा कम्पनी लिमिटेडले कृषिमा बाली र पशु बीमासँगै घर, गाडी, ठेक्का, उद्योग र सामुदायिक दुर्घटना बीमा समेत गरिरहेको छ ।

त्यसैगरी खलङ्गा—पाँचकाटिया मोटरबाटोको सड्क ठेक्का र खानेपानी पाइप ढुवानी ठेक्काको बीमा गरिएको छ । बाली तथा पशु बीमाको ७२ प्रतिशत किस्ता सरकारले र २५ प्रतिशत किसानले नै बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रावधान छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]