May 21st, 2016

बिमाकर्मी शेखर बरालको नजरमा बिमा कम्पनिका पाँच चुनौतीहरु 

शेखर बराल, सीईओ, युनाईटेड इन्स्योरेन्स
shekhar baral 2बिमा जोखीमको व्यवस्थापन गर्न अपनाइने एक किसिमको सम्झौता हो । बिमाको काम त्यसबेला हुन्छ, जब कसैमाथि जोखीमको स्थिति निम्तिन्छ । यो एउटा जोखिमसँग सम्बन्धित विषय भएकोले कहिले, कहाँ, कसरी र कति बेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जोखीमबाट सुरक्षित रहनको लागि बिमा गरिन्छ । यद्यपि, सर्वसाधारणहरुमा विमासम्बन्धि चेतनाको अभाव छ । जसकारण विमा गर्नेको संख्या एकदमै न्यून रहेको छ । मुलुकको सबै स्थान र वर्गसम्म विमाको पहुँच पुग्न सकेको छैन । विमाको महत्वका बारेमा जनचेतना जगाएर विमाको पहुँच विस्तार गर्न विमा कम्पनिहरु नै अग्रसर हुनुपर्ने देखिन्छ । जनमानसमा विमासम्बन्धि चेतना नै नभएको यो अवस्थामा नेपालका विमा कम्पनिहरुले सामना गर्नुपर्ने ५ चुनौतीहरु यसप्रकार छन् :   

मानिसमा बिमाप्रतिको गलत बुझाई
कतिपय मानिसहरुमा बिमाप्रतिको बुझाई नै गलत पाइन्छ । जसको कारण बिमा गर्न उनीहरु उदाशीन बनेका हुन् । तर पछिल्लो समय यस्तो अवस्था विस्तारै न्युनिकरण हुँदै गएको छ । आर्थिक दायित्वबाट मुक्त हुन र भविष्य सुरक्षित गर्नकै लागि बिमा गर्ने हो भन्ने कुरा मानिसहरुले बुझ्दैछन् । गत वर्ष बैशाखमा गएको बिनाशकारी भूकम्पका कारण ठूलो क्षति भयो । त्यतिबेलाका समयमा बिमा गर्नेहरुले निकै राहत पाए नि । त्यसयता पनि एकथरी मानिसहरुको बिमाप्रतिको गलत सोच परिवर्तन भएको छ । तर बिमाबारेको भ्रम चिर्न एउटा कम्पनीले मात्र भनेर पुग्ने अवस्था छैन । सबैले सामुहिक रुपमा अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता छ । 

दक्ष जनशक्तिको अभाव
बिमा क्षेत्रको अर्को ठूलो चुनौती भनेको दक्ष जनशक्ति अभाव नै हो । कम्पनीहरुको संख्या बढे तर दक्ष कर्मचारी त्यही अनुपातमा बढ्न सकेका छैनन् । काठमाडौं बाहिरबाट कारोबार थालियो भने बाहिर जाने कर्मचारी पाइदैन । त्यसमाथी बिमाबारे छुट्टै शिक्षाको व्यवस्था नभएकाले त्यसमा पोख्त र चासो राख्ने जनशक्ति पाउन मुस्किल छ । यहाँ कम्पनीमा हामी आफैले तालीम दिनुपर्ने अवस्था छ । हामी प्राय बाहिर–बाहिर नै हिडिराख्नुपर्ने हुन्छ तर पनि कर्मचारीलाई बिमाबारे प्रशिक्षण आफैले दिनुपर्ने अवस्था छ ।  

गुणस्तरीयतामा बेवास्ता 
हुन त हरेक क्षेत्रमा प्रतिष्पर्धा हुन्छ । तर अस्वस्थ प्रतिष्पर्धा भयो भने त्यसले सम्बन्धीत क्षेत्रलाई राम्रो गर्दैन । बिमाको बजार प्रशस्त छ । बिमा बारेमा सर्वसाधारणले चासो राख्न थालेकाले कम्पनीहरुलाई थप सहज भएको छ । बिमालेखको संख्यामा मात्र होइन गुणस्तरमा पनि ध्यान दिन सक्यो भने बिमा उद्योगको विस्तारमा नै सहयोग पुग्छ । यो व्यवसाय जनतासंग प्रत्यक्ष जोडिएको छ । गुणस्तरमा ध्यान दिन नसक्दा पनि यसप्रतिको विश्वसनीयता कमजोर हुने खतरा हुन्छ । 

प्रतिकुल राजनीतिक वातावरण 
बरु भूकम्पको असर जीवन बिमा कम्पनीमा भने त्यति देखिएन । तर, तराईमा भएको आन्दोलन र सीमामा देखिएको अवरोधले भने जीवन बिमा कम्पनीको व्यवसायलाई असर पारेको छ । मार्केटिङका लागि फिल्ड भ्रमण पूर्णरूपमा प्रभावित भयो । पोलिटिकल स्टेबिलिटी कायम नभएसम्म उपयुक्त वातावरण कायम हुन सक्दैन । हामीलाई सरकाले निर्वाध रुपमा काम गर्न सक्ने वातावरण मिलाइदिनुपर्छ । 

ग्रामीण क्षेत्रमा पुग्न नसक्नु
ग्रामिण क्षेत्रमा हामी चाहेर पनि जान सकेका छैनौँ । गएर पनि प्रभाव जमाउन सकेका छैनौँ । किन भने मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको गास, बास, कपास नै हो । त्यसपछि मात्र बाँकी कुराहरुको चाहाना मानिसहरुले राख्ने हो । ग्रामिण भेगमा अहिले पनि अधिकांश जनता गरिबीको रेखामुनि नै छन् । उनीहरुलाई अहिले बिमा गर्नभन्दा पनि दैनिकी कसरी टार्ने भन्नेतिर नै ध्यान छ । त्यो स्वभाविक पनि हो । पहिला आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि मात्रै न हो बाँकी आवश्यकता, चाहाना र महत्वकांक्षा । त्यसैले ग्रमिण क्षेत्रका मानिसहरुमा हाम्रो पहुँच विस्तार हुन नसक्नुलाई म एक किसिमको चुनौति नै मान्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]