November 13th, 2017

बिटक्वाइनमार्फत हुन्डी कारोबार हुने गरेको खुलासा

सुजित महत / बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ । देशमा अवैध बिटक्वाइन नियन्त्रणमा अभियान चलाइरहेको पुलिसको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुसन्धानमा यस्तो पत्ता लागेको हो । सीआईबीले नौजना बिटक्वाइन कारोबारीलाई पक्राउ गरिसकेको छ ।

‘हुन्डी गर्न बिटक्वाइन सजिलो माध्यम भएको पाइयो’, अनुसन्धानमा संलग्न डीएसपी श्यामबावु ओलिया भन्छन्, ‘यसलाई थप गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका अभियुक्तले विदेशमा बिटक्वाइन पठाएर पैसा ट्रान्सफर गरेको देखिन्छ । बिटक्वाइनमार्फत कति रकम विदेशियो यकिन भइसकेको छैन । सम्पत्ति शुद्धीकरण गर्न पनि बिटक्वाइन सजिलो माध्यम बनेको देखिन्छ। 

उदाहरणका लागि कसैलाई अमेरिका पैसा पठाउनु छ भने उसले पैसा बराबरको बिटक्वाइननै अमेरिकाको सम्बद्ध व्यक्तिलाई पठाइदिए हुन्छ । अमेरिकामा बिटक्वाइन पाउनेले चाहेको बेला बिटक्वाइनलाई नगदमा परिणत गर्न सक्छ । बिटक्वाइनको मूल्य सात हजार ६ सय डलर थियो, छवटा बिटक्वाइन अमेरिका बस्ने सम्बद्ध व्यक्तिको मोबाइल वालेटमा सेन्ड गर्दिए उसले ३८ हजार डलर प्राप्त गर्छ ।

अमेरिकामा बिटक्वाइन वैध छ । बिटक्वाइन वैध भएका देशमा बिटक्वाइनलाई नगदमा परिणत गर्न एटिएमजस्तै बीटीएम (बिटक्वाइन टेलर मेसिन) को सुविधा हुन्छ । डीएसपी ओलियाका अनुसार बिटक्वाइन वालेटको युजर नेम र पासवर्ड राखेपछि बीटीएमले स्क्यान गर्छ र एटीएमलेजस्तै पैसा दिन्छ । बिटक्वाइन अवैध भएका देशमा पनि एजेन्ट÷वेबसाइटमार्फत पैसा लेनदेन हुने गरेको फेला परेको छ ।

बटक्वाइनमार्फत कति रकम विदेशियो यकिन भइसकेको छैन । सम्पत्ति शुद्धीकरण गर्न पनि बिटक्वाइन सजिलो माध्यम बनेको देखिन्छ । 

बिटक्वाइन कारोबारमा रुचि राख्नेले मोबाइल वालेट एप डाउनलोड गरी बिटक्वाइन खरिद गर्न सक्छन् । आफ्ना बिटक्वाइन वालेटमा साँचो लगाएर राखिन्छ । बिटक्वाइन लगायतका क्वाइनलाई क्रिप्टोकरेन्सी भनिन्छ । सेयर कारोबारसँग मिल्दोजुल्दो यसमा आफूसँग भएको बिटक्वाइन जुनसुकै बेला बेच्न सकिन्छ । बिटक्वाइन माइनेवल र नन्माइनेवल गरी दुईथरि हुन्छ । माइनेवल बिटक्वाइन कारोबारीले बिटक्वाइन उत्पादन गर्न सक्छन् ।

बिटक्वाइनको हार्डवेयर र हाइस्पिडको इन्टरनेट प्रयोग गरी बिटक्वाइन उत्पादनै गर्न सकिन्छ । सीआईबीले पक्राउ गरेका दोलखाका प्रशान्तप्रताप शाह बिटक्वाइन माइनिङका साथै खरिद÷बिक्री र ब्रोकरको कामसमेत गर्थे । सन २०११ देखि २०१६ मा अमेरिकामा रहँदा बिटक्वाइनसम्बन्धी ज्ञान हासिल गरेका उनले यतै स्थायीरूपमा बसोवास गरी कारोबार थालेका थिए । पक्राउ परेका बेला उनीसँग १४ करोड रुपैयाँको बिटक्वाइन थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीका अनुसार उपत्यकामा हुन्डीका नाइके र तौरतरिका परिवर्तन हुँदै गएको छ । हुन्डी कारोबारमा संलग्न भनिएका कतिपय निष्किृय देखिएका छन् । तारिकामा पनि बिटक्वाइनजस्तो सजिलो माध्यम प्रयोग गर्न थालेको सूचना छ । तैपनि हुन्डी कारोबारको सम्बन्ध न्यून बिजकीकरणजस्तो व्यापारका विचलनसँग जोडिएको र राष्ट्र बैंक÷राजस्व अनुसन्धान विभागको सहकार्यमा मात्र विवादमुक्त र प्रभावकारी कारबाही हुने भएकाले हुन्डी नियन्त्रण आफ्नो उच्च प्राथमिकतामा नरहेको लोहनी बताउँछन् ।

सेयरजस्तै बिटक्वाइनको पनि बजार घटबढ भइरहन्छ । सोमबार सात हजार ६ सय डलर पुगेको बिटक्वाइनको मूल्य सन २००९ मा सुरु हुँदा १० सेन्टमात्रै थियो । सन २०१६ मा बिटक्वाइनको उच्चतम कारोबार मूल्य ९५८ डलर थियो । गत अक्टोबरको अन्तमा यसको मूल्य ६ हजार डलर नाघेको थियो । दुई अर्ब डलरभन्दा बढी दैनिक कारोबार छ । एक करोडभन्दा बढी क्वाइन कारोबार हुन्छ । बिटक्वाइनको डिजाइनर अहिलेसम्म थाहा भएको छैन, सातोसी नाकामोतोको नाममा सुरु भएको थियो । दुई करोड १० लाख क्वाइन उत्पादन हुन्छ भनिएको छ, यसमा एक करोड ६० लाख क्वाइन उत्पादन भई कारोबार भइरहेको छ ।

बिटक्वाइन हुन्डीका साथै सम्पत्ति शुद्धीकरणमा प्रयोग हुने भए पनि समयमै यसलाई ठेगान लगाइएको सीआईबीका प्रमुख (डीआईजीपी) पुष्कर कार्कीले बताए । सीआईबीका अनुसार देशमा बिटक्वाइन कारोबार सिन्धुपाल्चोक हेलम्बु-७ का मिङमार तामाङले २०७२ सालमा सुरु गरेका थिए, जो अहिले सीआईबीको थुनामा छन् । तामाङसँग साझेदारी गरी पछि छुट्टै कारोबार थालेका सिन्धुलीको कल्पवृक्ष-४ का ज्ञानप्रसाद पौडेल (जीपी) पनि पक्राउ परिसकेका छन् । हर्बो नेटवर्किङ बिजनेसमा संलग्न जीपी सो कारोबार बन्द भएपछि तामाङमार्फत बिटक्वाइनमा सक्रिय भएका थिए । तामाङ र जिपीले बिटक्वाइनको जानकारी दिने क्लास पनि सञ्चालन गर्ने गरेको सीआईबीले जनाएको छ । 

दुवैले बिटक्वाइन किनबेचका साथै ब्रोकरको कामपनि गर्थे । नौवटा वेबसाइटका साथै फेसबुक पेजमार्फत बिटक्वाइन कारोबार भएको फेला परिसकेको छ । ‘फेरि कसैले टाउको उठाउन नसक्ने गरी बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सी कारोबारीलाई तह लगाउने अभियान छ’, उनले थपे ।
राष्ट्र बैंक ऐन इजाजत नलिई वित्तीय उपकरण जारी गरी गरिने कारोबार अवैध हुन्छ । राष्ट्र बैंकले बिटक्वाइनलाई अवैध घोषणा गरेको छ ।

अमेरिका, क्यानडा, इंगल्यान्डका साथै युरोपका कतिपय देश, जापान, सिंगापुर, इजरायललगायत देशमा बिटक्वाइन वैध छ । भारत, बंगलादेश, रसिया, थाइल्यान्ड, आइसल्यान्ड, भियतनाम आदिमा अवैध छ । सरकारी लगानीमै बिटक्वाइन माइनिङ गरेको चीनले केहीअघि यसलाई अवैध घोषणा गरेको छ । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]