November 8th, 2017

‘बाम गठबन्धन’ देखेर तर्सियो सेयर बजार

बैंकिङ खबर । लामो समयदेखि सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । दशैँलगत्तै भएको बाम गठबन्धनले सेयर बजारमा गहिरो प्रभाव परेको छ । गत असोज १७ गते प्रदेशसभा निर्वाचनका लागि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धन भयो । जसको प्रत्यक्ष प्रभाव स्वरुप सेयर बजार निरन्तर रुपमा ओरालो लाग्न थालेको देखिन्छ । बास्तवमा मुलुकको राजनीतिक वा अन्य कुनै पनि क्षेत्रमा भएको सानो परिवर्तनले समेत सेयर बजारमा प्रभाव पार्ने हुन्छ । बाम गठबन्धनका कारण मुलुकमा कम्युनिष्ट शासन आउने अनुमान लगाउँदै सेयर लगानीकर्ताहरु निरुत्साहित भएको देखिएको छ । 

बाम गठबन्धनपछि ८२ अंकको गिरावट
बामगठाबन्धनको दिने सेयर कारोबार १५४९.४६ अंकबाट सुरु भएको थियो । उक्त दिन सेयर बजार ६.८९ अंकको वृद्धिसँगै १५५६.३५ अंकमा पुगेको थियो । यद्यपि, नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै नयाँ शक्ति नेपालले आगामी निर्वाचनमा कार्यगत एकता र त्यसपछि पार्टी एकता गर्ने घोषणाको नकारात्मक प्रभावस्वरुप अर्को दिनदेखि सेयर बजारमा निरन्तर गिरावट आइरह्यो । हुन त बाम गठबन्धनअघि पनि केही समयदेखि सेयर बजार मन्द गतिमा थियो । बामगठबन्धनको एक सातापछि अर्थात असोज २४ गतेदेखि भने असोज ३० गतेसम्म सेयर बजारमा वृद्धि देखिएको थियो । त्यसपछिका एक दुई दिनको सामान्य वृद्धिबाहेक सेयर बजारले हरियाली देख्न पाएको छैन । मंगलबारको कारोबारमा ८.९७ अंकले घटेको सेयर बजार बुधबार पनि १७.८३ अंकले घटेर १४६६.६२ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, बाम गठबन्धनपछि मात्रै सेयर बजारमा ८२.८४ अंकको गिरावट आइसकेको छ ।

अघिल्लो वर्षको साउन महिनामा सेयर बजार हालसम्मकै उच्च विन्दु १८८१ अंक सम्ममा पुगेको थियो । त्यो समयमा सेयर विज्ञहरुले बजार दुई हजार अंकसम्म पुग्ने अड्कल गरेका थिए । ०७२ असारमा ९६१ अंकमा रहेको बजार ०७३ साउनमा १९ सय अंक छुन लागेपछि विज्ञहरुले विभिन्न अन्तर्वार्ताका क्रममा यस्तो विश्लेषण गरेका थिए । यद्यपि, त्यसपछिका दिनहरुमा सेयर बजारमा उतारचढाव आइरह्यो । 

कम्युनिष्ट शासनप्रति जनताको अविश्वास 
बाम गठबन्धमका कारण कम्युनिष्ट शासन आएपछि मुलुकको अर्थतन्त्र प्रभावित बन्ने अनुमानका कारण सेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ । कम्युनिष्ट शासनप्रति नेपाली जनताको अविश्वास सुरुदेखि नै देख्न सकिन्छ । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने कम्युनिष्ट शासन सफल बनेका उदाहरण पनि छन् । तर, नेपालमा नाम मात्रैका कम्युनिष्टहरु छन् । त्यसैले, कम्युनिष्ट शासन आउने भएपछि मुलुकमा आर्थिक समस्याहरु आइपर्ने अनुमान लगाउँदै लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । कम्युनिष्टहरु आर्थिक रुपमा उदार नभएको बुझाईका कारण सेयर बजारमा अझै गिरावट आउन सक्ने सम्भावना देखिएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]