August 12th, 2016

बाँकेका सहकारीबाट ६ हजारलाई रोजगारी

sahakariवित्तीय पहुँच पुग्न नसकेका क्षेत्रका जनतालाई वित्तीय कारोबारमा समेट्ने उद्देश्यले स्थापित सहकारी संस्थाहरु ग्रामीण भेगमा आफ्नो प्रभाव छोड्न सफल भएका छन् । बाँके जिल्लाका कुल २५ प्रतिशत नागरिक सहकारीमा आबद्ध भएर वित्तीय कारोबार गर्दै आएका छन् । 

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लाका ३ सय ९५ सहकारीमा करिब ३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यी सहकारी संस्थाले ३ अर्ब ४६ करोड ऋण लगानी गरेका छन् । बाँकेमा सहकारीको कुल सेयर पुँजी ३९ करोड २ लाख रुपैयाँ छ । जिल्लाका सहकारीको आम्दानी ६९ करोड र खर्च ६३ करोड रहेको छ । त्यस्तै, ती सहकारीमा कुल जगेडा कोष ८ करोड ११ लाख र अन्य कोष २४ करोड ९ लाख छ । बाँके जिल्लामा हालसम्म २ हजार ८ सय ७६ जना सहकारी सञ्चालकहरु रहेका छन् ।  त्यस्तै, सहकारीका एक लाख २२ हजार ७ सय ७२ जना सेयर सदस्यमध्ये ५३ प्रतिशत महिला छन् । बाँकेमा सञ्चालित सहकारीहरूबाट १ हजार ६ सयले प्रत्यक्ष र ५ हजार जनाले अप्रत्यक्ष रोजगारी पाएको पनि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ ।

सक्रिय हुन पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि गत दुई वर्षमा ६३ वटा सहकारी संस्थालाई खारेज गरिएको छ । अनुगमन, निरीक्षण, पत्राचार, पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत सक्रिय हुन नमानेपछि निष्क्रिय सहकारी संस्थालाई खारेज गरिएको सो कार्यालयले जनाएको छ । जिल्लामा दर्ता भएका ३ सय ९५ सहकारी संस्थामध्ये हाल २ सय १४ मात्रै सक्रिय कारोबारमा छन् । कार्यालयको तथ्यांकअनुसार ६३ वटा सुधारोन्मुख र ११८ निष्क्रिय छन् । निष्क्रिय सहकारीलाई सक्रिय हुन र समस्याग्रस्त सहकारीलाई सुधारोन्मुख बनाउन सचेत गराइएको छ । तोकिएको समयभित्र सक्रिय नभए संस्था दर्ता खारेज गरिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]