March 25th, 2016

बहसमा बाली तथा पशुपंक्षी वीमा : लागतमा नभएर उत्पादनमा केन्द्रित हुनुपर्ने निष्कर्ष

haribolकृषि विकास मन्त्री हरिबोल गजुरेलले पशुपंक्षी तथा बाली वीमा लागतमा नभएर उत्पादनमा केन्दित हुनुपर्ने बताएका छन् । शुक्रबार अनामनगरस्थित मिडिया इन्टरनेशनलको सभाहलमा आयोजित नेपालमा पशुपंक्षी तथा बाली वीमाको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले लागतको विमाबाट कृषकको क्षतिको असुल नहुने भएकाले कृषकहरु वीमातर्फ आकर्षित हुन नसकेको बताए । साथै, उत्पादनमा वीमा गर्नका लागि सरकारी नीति तर्जुमा गरिने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कृषकहरुमा वीमासम्बन्धि जानकारीको अभाव रहेको भन्दै उनले सबैसमक्ष वीमाको पहुँच पुर्याउनका लागि वीमा समितीसँग सरकारले समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए । सरकारले ग्रामीण तहसम्म वीमा समितीहरु पुग्नैपर्ने नीति बनाउन सके मात्र वीमाको पहुँच विस्तार हुने उनको भनाइ थियो । कतिपय अवस्थामा यथार्थ लुकाएर एउटै वस्तुको दोहोरो वीमा दावी गर्ने प्रवृत्ति समेत नेपालीहरुमा रहेको बताउँदै उनले भने, एउटा घर भत्किँदा दुईवटा व्यक्तिको नामबाट छुट्टाछुट्टै वीमा दावी गर्ने गरेको पाइएको छ, यो गलत प्रवृत्ति हो । अबको बजेटमा कृषि वीमासम्बन्धि प्रचारप्रसारमा ठूलो रकम छुट्याउनुपर्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी उनले दिए । 

shiva sundarकार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि प्रचार अधिकृत शिव सुन्दर घिमिरेले कृषि वीमाको लागि सरकारले विभिन्न पहलहरु गरेको भएतापनि प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार, ०६९ माघ १ गतेबाट मात्रै सुरु भएको पशुपंक्षी तथा बाली वीमाको सुरुवातमा ५० प्रतिशत वीमा शूल्क सरकारले बेहोर्ने गरेकोमा हाल ७५ प्रतिशत बेहोर्ने गरेको छ । सुरुवातको चरणमा तोकिएका विभिन्न सीमाहरु हटाइएको छ भने भ्याट समेत हटाइएको छ । यद्यपि, अन्य क्षेत्रको वीमामा भने अझै पनि भ्याट लाग्ने गरेको छ । त्यस्तै, कृषि वीमा सम्बन्धि चेतना जगाउनको लागि कृषि मन्त्रालयले प्राविधिक तालिमसहित अभिकर्ताहरु खटाउने गरेको घिमिरेले बताए । यसले कृषि क्षेत्रलाई नेपाल सरकारले प्राथमीकतामा राखेको कुरा स्पष्ट पार्ने उनको भनाइ थियो । 

fatta bahadurत्यस्तै, वीमा समितीका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले पशुपंक्षी तथा बाली विमाका लागि विभिन्न नीतिहरु ल्याइएको जानकारी गराए । वीमा समितीले कृषकहरुको आवश्यकता तथा मागलाई ध्यानमा राख्दै कृषि मन्त्रालयका विज्ञहरुको सहयोगमा विभिन्न कृषि बाली तथा पशुपंक्षीको छुट्टाछुट्टै वीमाका लागि वीमालेख तयार गरेर वीमा कम्पनिहरुलाई उपलब्ध गराएको केसीले बताए । अन्य आवश्यक वीमालेख निर्जिवन वीमा कम्पनिहरुले तयार पार्नुपर्नेमा उनले जोड दिए । नेपालमा १७ वटा निर्जिवन वीमा कम्पनिहरु रहेका छन् । कृषि वीमासम्बन्धि सचेतना जगाउनका लागि पनि विभिन्न सञ्चार माध्यमहरुबाट सूचनाहरु प्रकाशन तथा प्रशारण गर्ने गरिएको तथा ठाउँठाउँमा अन्तरक्रिया समेत गर्ने गरिएको उनले बताए । 

कार्यक्रममा विभिन्न विमा समितीका प्रतिनिधीहरु तथा व्यवसायिक कृषकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रम मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा सम्पन्न भएको हो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]