September 21st, 2017

बहसमा क्यासलेश बैंकिङ : प्रविधिमा तीव्रता, उपभोग न्यून

नेपालको बैंकिङ क्षेत्र विकासको चरणमा छ । चुक्तापुँजी वृद्धि गरेर बैंकहरु सबल बनेका छन् । साथमा सबै स्थानीय तहमा शाखा विस्तार गरेर व्यवसाय समेत बढाउँदैछन् । उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर मुलुकको आर्थिक विकासमा समेत बैंकले ठूलो योगदान पुर्याइरहेका छन् । नेपालमा बैंकको सुरुवात भएदेखि हालसम्म निकै परिवर्तनहरु आएको छ । बैंकिङ क्षेत्रमा थुप्रै प्रविधिहरु भित्रिएका छन् । अब भने डिजिटल फाइनान्स एवम् क्यासलेस बैंकिङको आवश्यकता महमशूस गरिएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले मुलुकमा नगद कारोबारलाई कम गर्दै लैजाने नीति लिएका छन् । बैंकहरुले पनि यसै नीतिलाई आत्मसात् गर्दै इन्टरनेट बैंकिङ, मोबाइल वलेट लगायतका सेवा दिइरहेका छन्, जसबाट मोबाइल, टेलिफोन वा टिभी रिचार्ज गर्न सकिन्छ भने पानी तथा वत्तिको विल समेत चुक्ता गर्न सकिन्छ । त्यस्तै, स्कुल फि समेत मोबाइलमा डाउनलोड गरेको एउटा एपको माध्यमबाट नै भुक्तानी गर्न सकिने प्रविधि भित्रिइसकेको छ । यद्यपि, यसको प्रयोग एकदमै न्युन छ । मानिसहरुलाई इन्टरनेट खोलेर वा मोबाइलमा एप डाउनलोड गरेर रकम भुक्तानी गर्नुभन्दा नगद नै बोकेर सम्बन्धित स्थानमा जाने बानी परेको छ ।

नेपालमा क्यासलेश ट्रान्जेक्सनको आवश्यकता र सम्भावनाहरुका साथै चुनौतिहरुका बारेमा सरोकारवालाहरुको भनाई यस्तो. छ :

केही वर्षदेखि नेपाल सरकारको ध्यान डिजिटल फाइनान्सतिर गएको छ
नरबहादुर थापा, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

नेपालको अर्थतन्त्रको आर्थिक कारोबार अनौपचारिक ढंगले भइरहेको छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारमा भुक्तानीको पद्धतिबारे एउटा अध्ययन गरेको थियो । भारतसँगको व्यापारमा ३५ प्रतिशत अनौपचारिक व्यापार गरेको त्यो अध्ययनले देखाएको छ । भारतले नेपालतर्फ गरेको निर्यात तथा नेपालले भारतबाट आयात गरेको तथ्यांक सार्वजनिक गर्छन् । त्यो तथ्यांक त मिल्नुपर्ने हो, तर मिलेको छैन । यसले ३५ प्रतिशत व्यापार अनौपचारिक रुपमा हुने प्रमाणित गरेको छ । हामी भुक्तानीका लागि नगद प्रयोग गर्न चाहान्छौँ, चेक प्रयोग गर्न चाहँदैनौँ । अझ डिजिटल प्रविधितर्फ त ध्यानै छैन । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान केहि बर्षअघि देखि यस क्षेत्रमा लागिरहेको छ । भुक्तानी प्रणालीलाई डिजिटलाईज गर्ने, अर्थतन्त्रलाई कसरी औपचारिक क्षेत्रमा ल्याउने, कसरी चेकको प्रयोग बढाउने, कसरी नगदको प्रयोग घटाउने भन्नेतर्फ नेपाल सरकार र राष्ट्र बैंकले कदम चाल्दै आएका छन् । उदाहरणको लागि १० लाख भन्दा बढीको नगद कारोबारमा रोक लगाइएको कुरालाई पनि लिन सकिन्छ ।

पहिले डिजिटल फाइनान्सको बारेमा बुझ्नु जरुरी छ
कुसुम लामा, उपाध्यक्ष, प्रभु ग्रुप

नेपालमा क्यासलेस ट्रान्जेक्शनको आवश्यकता छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलन हाम्रो नेपालमा छ । हामीले डिजिटल फाइनान्सको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शन सम्भव छ । अहिले हामी एउटा रिचार्ज कार्ड किन्नका लागि एटिएममा गएर पैसा निकाल्ने गरिरहेका छन् । यस्तो प्रवृत्तिले डिजिटल फाइनान्सको अर्थ हुँदैन । हामीले बैंकहरुबाट लिएको इन्टरनेट बैंकिङ सेवाबाट नै मोबाइल तथा टेलिफोनहरु रिचार्ज गर्ने, पानी, बत्ति लगायतको बिल तिर्ने, स्कुल फी तिर्ने लगायतका कार्य गर्न सक्छौँ भन्ने कुरा बुझ्नु जरुरी छ । यसबाहेक, हामीले त्यस्तो प्रोडक्ट ल्याउनुपर्र्छ, जसका कारण नगद कारोबार नै गर्नुनपरोस् । हाम्रो तलव, भत्ता पनि बैंक खातामा सिधै जाहोस्, बैंक खातामा पनि हामीले इन्टरनेट बैंकिङ अथवा कार्डबाट पेमेन्ट गर्न सकाँै, मोवाइलमा रिचार्ज गर्न सकाँै, डोमेष्टिक मनि ट्रान्फर गर्न सकौँ, इन्स्योरेन्सको पेमेन्ट पनि गर्न सकौँ, नयाँ एप्सको आविस्कारबाट नयाँ कार्यहरु गर्न सकौं ।

विकसित देशहरुमा नगद कारोबार शून्यजस्तै छ
निलेशमान शिंह प्रधान,  

अरु मूलुकहरुमा क्यास ट्रान्जेक्शन झण्डै शून्य प्रतिशतमा छ । स्विजरल्याण्ड, नर्वे जस्ता देशहरुमा क्यासलेस कारोबार हुने गरेको हामीले बिभिन्न संचार माध्यममा पनि देखेका छौं । कतिपय देशहरुमा यसका लागि नीतिगत रुपमा नै व्यवस्था गरिएको हुन्छ । क्यासलेस ट्रान्जेक्शन हुने देशहरुमा नगद छाप्न नै प्रतिबन्ध लगाउने नियमहरु बनेका छन् । विश्वका धेरै जसो विकशित देशहरुमा नगद कारोबार ज्यादै कमी हुने गरेको छ । हाम्रो नेपालमा क्यास ट्रान्जेक्शन ९५ प्रतिशत भन्दा बढी हुन्छ । बाँकी ४÷५ प्रतिशत मात्रै क्यासलेस ट्रान्जेक्शन हुने गरेको छ । अझ डिजिटल प्रविधिको कुरा गर्दा त नेपालमा प्वाइन्ट वान, टू प्रतिशत भन्दा बढी इलेक्ट्रोनिक ट्रान्जेक्शन हुन सकेको छैन । त्यसका लागि आवश्यक कार्य नभएको होइन, बैंकहरुले पनि धेरै लगानी गरेका छन् । अहिले इन्टरनेट बैंकिङ अधिकांश कमर्शियल बैंकको छ । नेपाल राष्ट्र बैंक लगायतका अन्य नियामक निकायले नितिगत व्यवस्था पनि गरेको छ । कुनै पनि एउटा संस्थाले सबै कुरा गर्न सक्दैन । कुनै एउटा बैंक वित्तीय संस्थाले सबै म एक्लै गर्छु भन्ने हो भने आज भन्दा ४÷५ बर्ष अगाडी जस्तो स्थिती थियो त्यस्तै रहन्छ । बीमा क्षेत्रमा यसको प्रयोग केही मात्रा भइरहेको छ । हामीले इन्स्योरेन्सको प्रिमियम प्रत्येक महिना वा ३÷३ महिनामा तिर्नुपर्ने व्यवस्था छ । यसका लागि हामीले आफ्नो खाता रहेको बैंकलाई प्रत्येक ३÷३ महीनामा मेरो खाताको पैसाबाट एक हजार रुपैयाँ आफूले बीमा गरेको कम्पनीमा जम्मा गरिदिनु भनेर एक पटक लेखेर दिनुभयो भने प्रत्येक तीन महिनामा नगद बोकेर बीमा गइरहनुपर्दैन । यस्तै प्रयोग हरेक क्षेत्रमा हुनु जरुरी छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]