August 10th, 2016

बरिष्ठ सेयर विज्ञ गोपाल भट्टको विश्लेषण : ‘बुझ्न सके बजार घट्दा पनि लगानीकर्तालाई फाइदै हुन्छ’

dr gopal bhattaसेयर बजारको पछिल्लो उताचढाव सेयर बजारमा भईरहेको पुरानै उतारचढावको निरन्तर श्रृंखला हो । शेयर बजार आफैमा उतारचढाव भईरहने ‘इकोनोमिक भेरिएवल’ अर्थात आर्थिक चर हो । सूचकमा उतारचढाव भईरहनुनै पर्छ । यसले बजारमा आएको सूचनालाई लगानीकर्ताले कसरी मूल्यमा कन्भर्ट गर्छन् भन्ने कुरा प्रष्ट पारिदिन्छ । स्टक मार्केटको इफिसियन्सी भन्ने एउटा ठूलो सिद्धान्त छ । यसमा व्यापक अनुसन्धानहरु भईरहेका छन् । यसले भन्छ, त्यो बजार जसले बजारमा आउने सूचनालाई आफ्नो मूल्यमा तुरुन्तै कन्टेन्ट गर्छ त्यसलाई इफिसियन्ट मार्केट अर्थात कुशल बजार भनिन्छ । नेपालमा मैले गरेको रिसर्च पनि यसै विषयसंग सम्बन्धित थियो । यसले पनि बजारमा आएका सूचनाहरुलाई मूल्यमा कन्भर्ट गर्न सकेन भने त्यो बजार कुशल बजार मानिदैन थियो । तर अहिले नेपालमा जति पनि सूचना आउँदैछन्, चाहे त्यो राजनीतिक, सामाजिक वा आर्थिक होस्, अझ भनौँ देशको राष्ट्राध्यक्षले हाच्छिउँ गरेको सूचना पनि बजारको मूल्यसंग जोडिन्छ भन्ने मान्यता राखिन्छ । ती सूचनाहरुलाई बजारले त्यही किसिमले रियाक्ट गरिरहेको छ । त्यसैले मलाई लाग्छ यो सामान्य छ ।

बजार परिवर्तन र लगानीकर्ताको प्रतिक्रिया
बजार एउटा गतिमा गईरहेको छ । कहिले माथि कहिलो तल भईरहेको छ । तर जब यसमा परिवर्तन आउँछ, स्वभाविक रुपमा त्यसलाई लगानीकर्ताहरुले रियाक्ट गर्छन् । बजार माथि गईरहेका बेला लगानीकर्ताहरु उत्साहित भईरहेका हुन्छन् । तल ओर्लिनु भनेको नेपालको मार्केट रुललाई हेर्नुपर्छ । नेपालमा अहिले वान साइडेट मार्केट छ । सबैले बजारमा लगानी गर्ने, आफुले लिएको सेयरको मूल्य बढ्यो भने प्रोफिट बूक गर्ने तर मूल्य घट्यो भने रिटर्न नेगेटिभ हुने बजार छ हामीकहाँ । स्टक मार्केटहरु विकसित भएका मुलकहरुमा बजार उकालो लागेपनि ओरालो लागेपनि लगानीकर्ताले प्रोफिट बूक गर्न सक्छ । यसको मतलव, बजार बढेर मात्रै नाफा हुँदैन त्यस्तो बजारमा बजार घट्दा पनि नाफै हुन्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानी कर्तालाई फाइदा नै हुन्छ ।

सर्ट सेलिङ भन्ने लगानीको अर्को प्रकार छ । लगानीकर्ताहरुले दुई किसिमका पोजिसन लिन सक्छन् – एउटा लङग पोजिसन, एउटा सर्ट पोजिसन । बजारमा अर्को किसिमले पनि रिटर्न लिन सकिन्छ । त्यो हो सर्ट सेलिङ । बजार घट्न लाग्यो भने त्यतिबेलै फाइदा लिन लगानीकर्ताले अहिले सेयर बेचिदिन्छ । अहिलेको मूल्यमा सेयर किन्छ र भोलि अरुबाट बरो गरेको सेयर हुन्छ, भोलि सस्तोमा किनेर त्यो बरो गरेको सेयरलाई फिर्ता गरिदिन्छ । त्यहाँ उसले अहिले बढीमा बेचेको हुन्छ कममा किनेर फिर्ता गरेको हुनाले त्यो बेलामा पनि उसलाई फाइदा हुन्छ । त्यो किसिमको मेकानिज्म धेरै विकसित देशहरुमा देख्न सकिन्छ । हाम्रो छिमेकी भारतमा पनि सर्ट सेलिङको प्रोभिजन इन्डियामा पनि छ । त्यसैले अब नेपालमा पनि यस्तो विधि अपनाउने बेला आइसकेको छ । किनभने बजार पनि ठूलो भईसकेको छ । लगानीकर्ताहरु पनि बढेलेखेका छन् । बजारको लगानीको क्षेत्र पनि बढेको छ । अब यसलाई प्राविधिक रुपमा आधुनिकीकरणतर्फ लैजानु आवश्यक छ ।
 
बर्गिकृत लगानीकर्ता
हामीकहाँमात्रै होइन, लगानीकर्ता जहाँ पनि दुई किसिमका हुन्छन् । एउटा सूचना लिन्छन्, विश्लेषण गर्छन् र आफ्नो बजारमा गएर लगानी गर्छन् । तर अर्को ठूलो समूह हुन्छ जसलाई लिक्वीडिटी इन्भेस्टर भन्न सकिन्छ । उनीहरुसंग पैसा हुन्छ । बजारको ट्रेन हेर्छन् । अरुलाई पछयाउँछन् । आफुसंग भएको पैसा व्यवस्थापनका लागि अरुमार्फत नै उनीहरुले फाइदा लिन्छन् । यीनिहरुको ठूलो प्रभाव हुन्छ बजारमा । सूचना लिई विश्लेषण गरेर बजारमा छिरेकाहरुले बजारलाई सन्तुलनमा राख्न भुमिका खेलिरहेका हुन्छन् । तर यी पैसा भएका लगानीकर्ताहरुले बेखबर र अपरिपक्व छन् तिनीहरुले नै बजारलाई प्रभाव पारिरहेका हुन्छन् । बजारमा पैसा आयो तर लगानीका विकल्पहरु भएनन् । बैंकको ब्याजदर पनि कम भयो । त्यसकारण धेरै क्षेत्रबाट सेयर बजारमा पैसा लगानी भैरहेको छ । बजारमा वैध लगानी आएको हो भने बजारको उतारचढाव स्वभाविक नै हो । कालोधन हो भने सम्बन्धीत निकायले छानविन गर्नुपर्छ । बजार निरन्तर उकालो चढेको थियो भने जोखिम हुने थियो । अहिले तलमाथी भैरहेको छ, त्यसले बजारमा क्रमशः परिपक्कता आईरहेको भन्ने बुझाउँछ । यसैगरि बजारलाई परिपक्क बनाउने हो ।

हामीसंग आधार खै ?
यतिबेला हामीसंग हाम्रो सेयर परिसूचकको उच्चतम बिन्दु कति हो भनेर निरक्र्यौल गर्ने आधार छैन् । कुनै पनि सिद्धान्तले बजारको उच्चतम बिन्दु यति हो भनेर भन्ने अवस्था छैन् । बजार भनेको लगानी कर्ताको इच्छाशक्तिले निर्धारण गर्ने हो । बजारमा उपलब्ध सूचनाले पनि बजार निर्धारणमा सहयोग गर्छ । त्यससँगै बजारमा रहेको तरलताले पनि भूमिका खेल्छ ।

अहिले बजार बढ्दा उचालिएर गएर लगानी गर्ने अनि घट्नेवित्तिकै रुवाबासी गर्ने प्रवित्ति छ । अन्त यस्तो हुन्न । नियामक निकायले पनि बजार घट्दा पनि तनाब लिएको देखिन्छ अनि बजार बढ्दा पनि तनाबै लिएको देखिन्छ । यस्तो पनि कहिँ हुन्छ ? नियामक निकाय बजार उकालो लागेन भने पनि रुने अनि बजार उकालो चढ्दा पनि रुने ? बजारमा समस्या छन भने करेक्सन गर्नु पर्छ । मलाई लाग्छ नेपालको बजारमा सुधार्नु पर्ने धेरै कुराहरु छन् ।
 
धितोपत्र बोर्ड र नेप्से
नेपाल धितोपत्र बोर्ड नियामक निकाय हो । जसले सेयर बजारमा नियमन गर्ने अधिकारी पाएको छ । त्यस्तै नेपाल स्टक एक्सेन्ज नियमहरु कार्यान्वयन गर्ने अधिकार लिएर बसेको छ । तर समस्या कहाँनेर छ भने, धितोपत्र बोर्ड पनि सरकारी स्वामित्वको हुन्छ र नेप्से पनि । ती दुवै संस्थामा आउने प्रमुखहरु राजनीतिक भागबण्डाका आधारमा सरकारले नियुक्त गरेका हुन्छन् । त्यसैले यीनिहरुबीच समन्वयमा केही समस्या रहेको कुरा कसैले अस्वीकार गरेर हुँदैन । मेरो विचारमा धितोपत्र बोर्डलाई नियमनकारी निकायको रुपमा पूर्ण अधिकार दिएर नेप्सेलाई निजिकरण गर्नुपर्छ । यस्तो नेप्से त भोलि अरु पनि रहन सक्छन् ।
(नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशकसमेत रहेका बरिष्ठ सेयर विश्लेषक भट्टसंग गरिएको कुराकानीमा आधारित )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]