May 19th, 2017

‘व्याजदरको उतारचढाव रोक्नुपर्छ’

डा.तिलक रावल, पूर्व गभर्नर  – बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएकाले विगत केही वर्ष ऋणको ब्याजदर पनि न्यून रह्यो । बैंकहरूले निक्षेपमा दिएको ब्याजदर न्यून भए पनि कर्जाको ब्याज न्यून हुनु सामान्य हो । पछिल्लो समयमा तरलताको समस्या बढेकाले ब्याजदर बढेको हो । वाणिज्य बैंकहरूले निक्षेप तान्नका लागि धेरै ब्याजदर दिन थाले । धेरै ब्याजदर दिएर लिएको निक्षेप लगानी गर्दा पनि स्वभावैले बढ्ने भयो । तर, बैंकहरूले बचतको ब्याजदर भने बढाएनन् । पछिल्लो समयमा पनि कर्जा र निक्षेपको ब्याजदर ६ देखि ७ प्रतिशतसम्मको देखिन्छ । 

व्याजदरको उतारचढाव राम्रो होइन
वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको उतारचढाव राम्रो होइन । हाम्रो अर्थतन्त्र आयातमा आधारित छ । निर्यात निकै न्यून छ । त्यसका साथै वित्तीय क्षेत्रको ब्याजदर बढ्दा आन्तरिक उत्पादनमा धेरै लागत लाग्छ । लागत धेरै लागेको उत्पादनको मूल्य पनि धेरै हुने भएकाले आन्तरिक उत्पादनले बजार पाउँदैन । आयात गरिएको उत्पादनभन्दा आन्तरिक उत्पादनको मूल्य धेरै पर्छ । त्यसकारण बैंक–वित्तीय संस्थाको ब्याजदरमा हुने उतारचढावले समग्र अर्थतन्त्रमा नै असर गर्छ । वित्तीय क्षेत्रमा प्राविधिक समस्या देखा परेर ब्याजदर बढेको खण्डमा त्यसले आन्तरिक उत्पादनको खेतीलाई न्यून बनाउँछ । महँगो ब्याजदरमा ऋण लिएर उद्योगी–व्यवसायीले उत्पादन गरेको वस्तु तथा सेवाले आन्तरिक बजार नै नपाउने समस्या आउँछ । 

अर्थतन्त्रमा सकारात्मक संकेत
उपभोक्ता मूल्यस्फीती १० देखि ११ प्रतिशत हुँदा बैंक–वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने बचतको ब्याजदर मुस्किलले ३ प्रतिशत थियो । सामान्यतः वित्तीय प्रणालीको ब्याजदरभन्दा मुद्रास्फीती न्यून हुनुपर्छ भनिन्छ, तर त्यो हुन सकेको थिएन । हाल आएर बिस्तारै समग्र अर्थतन्त्र नै सकारात्मक बाटो चलेको हो कि भन्ने देखिन्छ । हाल बैंकहरूले दोहोरो अंकमा निक्षेप संकलन गरेका छन् भने करिब तीन प्रतिशतको मुद्रास्फीति भनेर तथ्यांक सार्वजनिक भएको छ । यसले अर्थतन्त्रका लागि सकारात्मक संकेत गरेको हो । 

तर, मुद्रास्फीति कम हुनु भन्दैमा निकै न्यून पनि हुनु हुँदैन । आन्तरिक उत्पादन कम भएको अर्थतन्त्रमा मुद्रास्फीति कम हुनु भनेको आयात बढ्नु हो । आन्तरिक उत्पादन कम भएपछि आयात बढ्छ । आयात बढ्नु भनेको आन्तरिक मुद्रा बाहिर जानु हो । स्वदेशी उत्पादन बढाउन नसकेको खण्डमा न्यून मुद्रास्फीतिले उद्योगी–व्यवसायीलाई असर गर्छ ।

हाल ७ प्रतिशतको आर्थिक वृद्धि भनिए पनि कस्तो आधारबाट भएको हो भन्ने कुरा पनि हेर्नुपर्छ । गत करिब शून्य रहेको अर्थतन्त्र बढ्दा उच्च अंक देखिएको हो । हाल मुद्रास्फीति २ र ७ प्रतिशतको आर्थिक वृद्धि राम्रो हो । यसले उद्योगी व्यापारीलाई प्रात्साहित गरे पनि मुद्रास्फीति घट्दा उद्योग–व्यवसायीहरू प्रभावित हुन्छ, त्यसैले धेरै घट्न पनि हुँदैन ।

यसरी रोक्न सकिन्छ व्याजदरको उतारचढाव 
नेपाल राष्ट्र बैंकले ब्याजदरको उच्च उतारचढावलाई नियन्त्रण गर्न ब्याजदर करिडोर लागू गरेको छ । साथै पछिल्लो समयमा बचतको ब्याजदर कल डिपोजिटको भन्दा कम हुन नहुने व्यवस्था गरेको छ । यी व्यवस्थाले पनि ब्याजदर नियन्त्रण नै हुन्छ भन्नुभन्दा पनि केन्द्रीय बैंक बजारमा तरलता नै छोड्न बढी जोड दिनुपर्छ ।

यो व्यवस्थाले केही सहयोग गर्न सक्छ । तर, त्यसमा केन्द्रीय बैंकले सन्तुलित रूपमा तरलता छाड्यो भने सुधार हुन सक्छ । साथै, सरकारले पनि पुँजिगत खर्च बढाउनु पर्छ । सरकारले ३ सय ११ अर्बमा करिब २५ प्रतिशत मात्र खर्च गरेको छ । हाल पनि २ सय ३३ अर्ब सरकारी ढुकुटीमा थन्केर बसेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]