December 17th, 2017

पुँजी बृद्धिको अन्तिम तयारी, कुन बैंकको कस्तो ?

सुष्मा थापा, बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको पुँजीवृद्धिका लागि तोकिएको समयावधि सकिन अब एक महिना मात्रै बाँकी छ । पुस मसान्तसम्ममा क, ख र ग वर्गका बैंकहरुले तोकिएको चुक्तापुँजी पुर्याइसक्नुपर्ने हुन्छ । केही बैंकहरुले सोबमोजिम चुक्तापुँजी पुर्याइसकेका छन् भने के बैंकहरु अझै कसरत गरिरहेका छन् । 

१३ बैंकको चुक्तापुँजी आठ अर्बमाथि
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणअनुसार, २८ वाणिज्य बैंकमध्ये, १३ वटाको मात्रै चुक्तापुँजी आठ अर्बमाथि रहेको छ । सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ रहेको छ । सरकारी स्वामित्व भएका नेपाल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड २६ लाख रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । निजी स्तरको पहिलो बैंक नविल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा बैंकको चुक्तापुँजी आठ अर्ब १२ लाख रुपैयाँ, माछापूछ्रे बैंकको आठ अर्ब पाँच करोड रुपैयाँ एनआईसी एशिया बैंकको आठ अर्ब तीन करोड ११ लाख रुपैयाँ र लक्ष्मी बैंकको चुक्तापुँजी आठ अर्ब २१ करोड ९६ लाख रुपैयाँ रहेको छ । यसबाहेक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक र सिटिजन्स बैंकको चुक्तापुँजी क्रमशः आठ अर्ब १५ करोड रुपैयाँ, आठ अर्ब आठ करोड ५५ लाख रुपैयाँ, आठ अर्ब आठ करोड तीन लाख रुपैयाँ र आठ अर्ब दुई करोड ९१ लाख रुपैयाँ रहेको छ । 

सात बैंकले छिटै पुर्याउँदै
असोज मसान्तमा पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ चुक्ता पुँजी भएको सेञ्चुरी कमर्सियल बैंकले हालै अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । जसपश्चात् बैंकको चुक्तापुँजी सात अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकले जनाएको छ । 

छ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्न पुस २५ गते साधारणसभा डाकेको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । 

छ अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित पुस २८ गतेका लागि साधारणसभा डाकेको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ । 

स्टान्डर्ड चार्टर्ड बैंकले एक सय प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । जसपश्चात्, स्टान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । 

जनता बैंकको छ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले १४.४० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । जसपश्चात्, बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।

पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । उक्त हकप्रद सेयरको पुँजीकरणपछि बैंकको चुक्तापुँजी सवा सात अर्ब रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब पुँजी पुर्याउनेछ । 

छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी भएको हिमालयन बैंकले चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।

हकप्रद निष्काशनको अनुमतिको पर्खाइमा तीन बैंक
छ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी भएको सिद्धार्थ बैंक १० बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि धितोपत्र बोर्डको अनुमतिको पखाईमा छ । प्रभु बैंक पनि १० बराबर चारको अनुपातमा हकप्रद जारी गर्न लामो समयदेखि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेको छ । अहिले प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति मागिरहेको छ । 

बाँकी पाँच बैंकको अवस्था
कृषि विकास बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ७६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको छ अर्ब ९७ करोड रुपैयाँ, एनएमबि बैंकको छ अर्ब ४६ करोड रुपैयाँ, कुमारी बैंकको पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको पाँच अर्ब ६२ करोड रुपैयाँ र मेगा बैंकको चुक्तापुँजी चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ रहेको छ । यी सबैले गत आर्थिक वर्षको कमाईबाट बोनस बाँड्न बाँकी छ । बोनस बाँडेपछि कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र एनएमबि बैंकको चुक्तापुँजी आठ अर्ब पुग्न सक्ने देखिन्छ । बैंक अफ काठमाण्डूले लिलामीमा एफपिओ जारी गरेर केही रकम जोडेको छ । मेगाले टुरिजमलाई गाभ्ने प्रक्रिया टुंगोमा पुर्याउन बाँकी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]