April 18th, 2017

पुँजीबृद्धिको समय ३ महिना बाँकी, बैंकिङ मर्जरमा तीब्रता

नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको समय अब तीन महिना मात्र बाँकी रहेको छ । तोकिएको समयमा नै चुक्तापुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु लागी परेका छन् । कतिपयले हकप्रद तथा बोनस सेयर निष्काशनको प्रक्रिया अघि बढाएका छन् भने कतिपय संस्थाले मर्जर तथा एक्विजिसनको प्रक्रियालाई तीव्र पारेका छन् । प्रायः वाणिज्य बैंकहरुले विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई आफूमा मिलाएर पुँजी पुर्याउँदैछन् । दुई दर्जनको संख्यामा विकास बैंकहरु मर्जर तथा एक्विजिसन प्रक्रियालाई अघि बढाएका छन् । केही ठूला विकास बैंकहरुले साना विकास बैंकलाई एक्वायर गर्दैछन् भने केही ठूला विकास बैंकहरु नै वाणिज्य बैंकमा विलय हुँदैछन् । केहीले भने अर्को ठूलो बैंकसँग मर्जरमा गएर थप सबल बैंक बन्ने प्रक्रिया अघि बढाएका छन् । 

एभरेष्ट बैंक लिमिटेडले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने विशेष प्रस्ताव अघि सार्दै वैशाख २० गतेका लागि विशेष साधारणसभा डाकेको छ । बैंकले कुन संस्थासँग मर्जरमा जाने वा, कुन संस्थालाई एक्वायर गर्ने विषयमा भने खुलाएको छैन । 

साझा विकास बैंक लिमिटेडले देवः विकास बैंक लिमिटेडमा विलय हुने सम्झौता गरेको छ । एक्विजिशन पश्चात संस्थाको नाम देवः विकास बैक लि. नै रहने गरी यी दुई बैंकबिच सम्झौता भएको छ । युनिक फाइनान्ससँग पनि एक्विजिसन प्रक्रियामा रहेको देवःको चुक्तापुँजी दुवै एक्विजिसनपश्चात् एक अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । साझा विकास बैंकको चुक्ता पूँजी १० करोड तथा युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । थप पुँजीका लागि बैंकले अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जाने योजना बनाएको छ । 

त्यस्तै, त्रिवेणी विकास बैंक लिमिटेडलाई गाभेर हालै एकीकृत कारोबार सुरु गरेको जनता बैंक लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई एक बराबर एकको स्वाप रेसियोमा एक्वायर गर्दैछ । सिद्धार्थलाई गाभेर जनताले आठ अर्ब चुक्तापुँजी नघाउन लागेको हो । 

यता, राष्ट्रिय स्तरका दुई विकास बैंकहरु यती डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडले गाभिएर देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएका छन् । यी बैंकबीचको मर्जर सहमतिलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ । मर्जरपछि महालक्ष्मी विकास बैंककै नाममा एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । दुई बैंकले एसको एक सय कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी सेयर स्वाप निर्धारण गरिएको छ । केही महिनामा नै यी बैंकबीचको एकीकृत कारोबार सुरु हुनेछ । एसलाई खरिद गरेपछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी नौ अर्ब २० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग अल्पाइन डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स एक्विजिसनमा जाँदैछन् । हाल तीन अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी रहेको सेञ्चुरीले यी तीन संस्थालाई खरिद गरेर झन्डै दुई अर्ब पुँजी जोड्नेछ । आठ अर्ब पुँजी पुर्याउने दौडमा रहेको सेञ्चरीले बाँकी पुँजी हकप्रद अथवा बोनसबाटै पुर्याउने जनाएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडसँग बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडको एक्विजिसन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । यी दुई बैंकलाई खरिद गर्नका लागि प्राइमले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी तीन संस्था एक्विजिसनमा जान लागेका हुन् । दुई विकास बैंकलाई एकवायर गरेपछि प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुग्नेछ ।

आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिएर हाल ७८ करोड ८५ लाख रुपैयाँ रहेको चुक्तापुँजीलाई एक अर्ब रुपैयाँभन्दा बढी बनाउन लागेको रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव दशौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको बैंकले हकप्रद निष्काशन खारेज गरी ग्लोबल आईएमईसँगको एक्विजिसनलाई नै अघि बढाउने निर्णय गरेको हो ।

काष्टमण्डप डेभलपमेन्ट बैंकले कुमारी बैंकसँग एक्विजिसन सम्झौता गरेको छ । हालै २५ प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको मुनाफाबाट २३.३७ प्रतिशत बोनस सेयर वितरण चुक्तापुँजी एक अर्ब नघाएको बैंकले आफैँ कसरत गरेर पुँजी बढाउनुको सट्टा कुमारी बैंकमा विलय हुने निर्णय गरेको छ । काष्टमण्डपसँगै कुमारीमा काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स पनि गाभिँदैछन् । 
राष्ट्रिय स्तरको सबल विकास बैंकमध्येमा गनिएको एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक बराबर ०.४१ को स्वाप रेसियोमा खरिद गर्दैछ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब रुपैयाँ नाघिसकेको छ । तरपनि बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गरेर थप सबल बन्ने योजना बनाएको छ ।  

त्यसैगरी, पुँजीवृद्धिका लागि राष्ट्र बैंकले निर्धारण गरेको म्याद सकिन छ महिना मात्र बाँकी रहँदा मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मर्जरमा जाने सहमति गरे । आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन कसरत गरिरहेको बैंकले गत माघ ६ गते मेगा बैंकसँग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यी दुई बैंक १००ः९५ को स्वार रेसियोमा गाभिनेछन् । 

अल्पाइन डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक सेञ्चुरी कमर्सियल बैंकमा विलय हुँदैछन् । चार वटै बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेपछि एक्विजिसन प्रक्रिया अघि बढाइने बताइएको छ । यसबाहेक, सेञ्चुरीले सगरमाथा फाइनान्सलाई पनि खरिद गर्दैछ । 

अर्को राष्ट्रियस्तरको विकास बैंक एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले खरिद गर्दैछ । सरकारको स्वामित्वमा रहेका दुई संस्थाबिचको एक्विजिसनलाई अर्थमन्त्रालयले स्वीकृति प्रदान गरी मन्त्रिपरिषदले पनि पारित गरिसकेको छ ।

वाणिज्य बैंकहरुमा विकास बैंकहरु गाभिने लहर चलिरहँदा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले भने लुम्बिनी फाइनान्ससँग आफ्नै नामै मेटिने गरी मर्जरमा जाने सम्झौता गरेको छ । गत वर्ष मात्रै भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर बनेको भिबोर सोसाईटीले मर्जरपछि लुम्बिनी डेभलपमेन्ट बैंक नाम रहने गरी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँग मर्जर सम्झौता गरेको हो । उक्त मर्जरपछि मुलुककै सबैभन्दा ठूलो विकास बैंक बन्ने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]