March 27th, 2017

पाँच अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले १३ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्नका लागि शिलबन्दी बोलपत्र माग गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलकबोल हुने भएकाले सो समयभित्र URL https:// obss.nrb.org.np/pd मार्फत बोलकबोल पेश गर्नुपर्ने बताइएको छ । 

बोलकबोलको माध्यमबाट व्याजदर निर्धारण गरिने उक्त ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । अर्धवार्षिक रुपमा व्याजदर पाइने उक्त ऋणपत्र बुधबार निष्काशन गरिनेछ भने ०८६ साल चैत्र १६ गते ऋणपत्र खरिद गरेको सावाँ रकम पनि फिर्ता पाइनेछ ।

खरिदकर्ताले घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने बताइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार अर्ब रुपैयाँ र एक अर्ब रुपैयाँ छुट्याइएको छ । साथमा अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बताइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]