August 24th, 2016

पशुबीमा प्रति बढ्दै जनचासो : एकै जिल्लाका ५ हजार बढीको सहभागिता

insuranceतनहुँमा १६ करोड ४९ लाख २० हजार रुपैयाँ मूल्यबराबरको पशुको 'पशुधन बीमा' गरएको छ । जिल्लामा हालसम्म ५ हजार ३ पशुको पशुधन सुरक्षण गरिएको जिल्ला पशु सेवा कार्यालय तनहुँले जनाएको छ । पशुधन सुरक्षणका लागि कृषकले २० लाख ६१ हजार ५ सय रुपैयाँ तिरेका छन् । 

संख्यात्क रुपमा हेर्दा सबैभन्दा बढी बीमा बाख्राको गराइएको पाइएको छ । त्यस्तै, मूल्यका हिसाबले हेर्दा भने गाईको बीमा अग्रस्थानमा छ । जिल्लाका १९ सय २० गाई, १३३ भैंसी, २३ सय २० बाख्रा र ६३० बंगुरको बीमा गरिएको छ । १३ करोड ४४ लाख मूल्यबराबरको गाईको, ७९ लाख ८० हजार मूल्यबराबरको भैंसीको,  १ करोड ६२ लाख ४० हजार मूल्यबराबरको बाख्राको र ६३ लाख मूल्यबराबरको बंगुरको बीमा गरिएको हो । जसमध्ये, गाईका लागि १६ लाख ८० हजार, भैंसीको लागि ९९ हजार ७ सय ५०, बाख्राका लागि २ लाख ३ हजार र बंगुरको लागि ७८ हजार ७ सय ५० रुपैयाँ कृषकले बेहोरेका छन् । 

जिल्लाका सहकारी र समितिमार्फत उक्त पशुधन सुरक्षण गरिएको हो । जिल्लाको सेवर दुग्ध उत्पादक सहकारी संघ व्यास–५, बेल्वास दुग्ध उत्पादक सहकारी संस्था लि. पोखरीभञ्ज्याङ, दुम्सी दुग्ध उत्पादक सहकारी संस्था व्यास–५, पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उत्पादक सहकारी संस्था पुर्कोट, बरादी दुग्ध उत्पादक सहकारी बरादीलगायतका सस्थामार्फत् पशुधन सुरक्षण कार्यक्रम सञ्चालनमा छ । 

पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिन भित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ । दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सदस्य संस्थामार्फत सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ । त्यस्तै सुरक्षण भएको पशुधन थारो भएमा वा अंगभंग भई अनुत्पादक भएमा पशु सेवा केन्द्र वा उपकेन्द्र वा पशु सेवा कार्यालयका प्राविधिक कर्मचारीले सो कुरा प्रमाणित गरेमा सदस्य संस्थाले सुरुमा प्रदान गरेको कर्जा रकम वा प्रमाणित गरेको मितिमा बाँकी रहेको कर्जा रकममध्ये जुन मूल्य कायम हुन्छ सो रकमको ४० प्रतिशतले हुने रकम सदस्य संस्थामार्फत पशुपालक कृषकलाई क्षतिपूर्ति दिइने व्यवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]