June 27th, 2017

नेरुडे लघुवित्तको हकप्रद लिलामीमा आयो, तिनाउ विकास बैंकको पनि आउँदै

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले एक लाख आठ हजार सात सय ३६ कित्ता हकप्रद सेयर असार १३ गते (आज)देखि लिलामीमा निकालेको छ । बैंकले संस्थापक तर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूह तर्फको १४ हजार सात सय ५९ कित्ता सेयर लिलामीमा राखेको हो । सेयर लिलामी असार २० गतेसम्म खुला रहनेछ ।

कम्पनीले गत चैत १४ गतेदेखि वैशाख १७ गतेसम्म दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको सेयर नेरुडेले लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् । 

नेरुडेको लिलामीमा सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटलबाट आवेदन दिनसक्ने छन् ।

तिनाउ विकास बैंकले पनि हकप्रदमा नबिकेकको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । गत वैशाख १९ देखि जेठ २२ गतेसम्म १० बराबर ३.५ अर्थात ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गरेको बैंकको ३१ हजार चार सय ९७ कित्ता सेयर बिक्री भएको छैन । हकप्रदमा नबिकेको उक्त सेयर बैंकले लिलामीबाट बिक्री गर्न लागेको हो ।

लिलामीबाट बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार २० देखि असार २७ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटलबाट गोप्य सिलबन्दीबाट सेयरमा आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]