May 16th, 2016

नेप्सेका महाप्रबन्धक भन्छन् : ‘हरेक जिल्लामा ब्रोकर सेवा पुग्दै छ’

sitaram thapaliyaपछिल्लो समय शेयर बजारले उकालो गति लिइरहेको छ । बजारको अवस्था हेर्दा यति नै माथि जान्छ भन्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । परिसूचकसँगै कारोबार रकम पनि दिनदिनै बढ्दो क्रममा रहेको छ । एक दिनमा १ अर्बमाथिको कारोबार त सामान्य जस्तै हुन थालिसकेको छ । नेपाल राष्ट्र बैँकले ल्याएको पुँजी वृद्धिसम्बन्धि नीतिले बजार वृद्धिलाई सघाइरहेको छ । पुँजी वृद्धिका लागि बोनस, हकप्रद तथा साधारण शेयर बाँड्ने र मर्जरमा जाने संस्थाहरुको शेयरमा लगानीकर्ता अत्याधिक आकर्षण देखिने गरेको छ । पछिल्लो समय नेप्सेलाई थप व्यवस्थित बनाउनको लागि नीजिकरण गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । यद्यपि, यस विषयमा धितोपत्र बोर्ड र सरकारको धारणा बाझिएको पाइएको छ । यसैबिच, नेपाली शेयर बजारको समग्र अवस्था र यसको सुधार तथा व्यवस्थापनका लागि आगामी योजनाहरुका विषयमा बैँकिङ खबर डट कमका लागि सहकर्मी शिवहरी घिमिरेले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सिताराम थपलियासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

पछिल्लो समयको शेयर बजारको अवस्थालाई कसरी लिनुभएको छ ?
विगत केही समययताः शेयर बजार निरन्तर उकालो लागिरहेको छ । सर्वसाधारणहरुले यसलाई जुन रुपमा विश्लेषण गरेपनि शेयर बजारमा उतारचढाव देखिनु अस्वभाविक भने हैन । नेपाली शेयर बजारमा मात्र नभएर संसारभरकै शेयर बजारमा यो अवस्था रहन्छ । बजारको एउटा आफ्नै आधारभूत सिद्धान्त हुन्छ । त्यो सिद्धान्त अनुकुल नै कारोबार भइरहेकाले अहिले शेयर बजार उकालो लागेको हो । हामी मार्केट अपरेटर भएकाले हामीकहाँ नै भएको कारोबारलाई अस्वभाविक भन्न मिल्दैन । बजार सिद्धान्तअनुसार नै कायम भएको बजार मूल्यलाई पनि अस्वभाविक रुपमा लिन मिल्दैन । 

अहिले बढिरहेको बजारलाई विद्यमान ब्रोकरहरुको क्षमताले भ्याउला त ?
त्यस्तो असहज पस्थिति देखिएको छ जस्तो लाग्दैन मलाई । किनभने ब्रोकरहरुको क्षमता त्यति कमजोर छैन । हामीले उनीहरुलाई बेलाबेलामा निर्देशनहरु दिइरहेका छौँ । पूर्वाधार सुधार गर्ने, आएटी पार्टमा दक्ष व्यक्ति राख्ने, सिसिटीभि जडान गर्न, पेपर राख्नुस भनेर हामीले निर्देशन दिइरहेका छौँ । साथै उहाँहरुको क्षमता वृद्धिको लागि निरन्तर झक्झकाएका छौँ । पछिल्ला चरणमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको एक्सपोजर भिजिटमा बम्बई र ढाकामा गएर त्यहाँका ब्रोकरहरुले कसरी काम गर्दा रहेछन् त्यो विषयमा पनि उहाँहरु प्रत्यक्ष रुपमा हेरेर आउनुभएको छ । निश्चित रुपमा त्यहाँबाट पनि केहि सिक्नुभएको छ । आफ्ना क्लाइन्टहरुलाई के कस्ता सुविधि दिने भन्ने विषयमा भने उहाँहरुले नै बुझ्नुपर्ने हुन्छ । हाम्रो तर्फबाट उहाँहरुको व्यवसायमा थप कसरी प्रगति गर्ने भन्ने विषयमा परामर्शहरु दिइरहेका छौँ । 

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्सको लागि अनुमति दिने विषय धितोपत्र वोर्डले ल्याएको थियो तर यो विषय बीचमै अल्झीएको छ नि ?
यो विषय हामीले पनि मिडियाबाट थाहा पाएका हौँ । यसबारे धितोपत्र बोर्डले हामीलाई औपचारिक जानकारी गराएको छैन । यदि यो निर्णय गरेकै हो भने हामीलाई पनि फाइदा पुग्छ । त्यस्तै अहिलेकै पुँजी लगाएर कमर्सियल बैंकलाई आउन कति सहज छ भन्ने विषयमा कमर्सियल बैंकहरु आफैँले के कस्तो सुझाव दिने हुन्, त्यसमा पनि भर पर्छ । यसबारे कसैले पनि औपचारीक जानकारी नदिएको हुँदा नीतिगत रुपमा हामीकहाँ कुनै पत्र आएको छैन । कुनै जानकारी नै नआएको हुनाले कमर्सियल बैंककै अभिरुची कति छ भन्ने विषयमा मलाई शंका छ । संस्थागत रुपमा पुँजी राम्रो भएका बैंकहरुले लाइसेन्स पाए भने पुँजी बजारलाई राम्रै टेवा पुग्छ । 

नेप्सेका आगामी योजनाहरु केके छन् ?
हामीले शेयर बजारलाई देशव्यापी रुपमा विस्तार गर्नको लागि मेकानिजम नै बनाउँदै छौँ । जसअन्तर्गत  सुगमदेखि दुर्गम क्षेत्रसम्म शेयर बजारलाई विस्तार गर्ने लक्ष्यसहितका कार्यक्रमको मोडलहरु रहनेछन् । सबै जिल्लाको सदरमुकाममा अहिले भइरहेका ब्रोकरको सेवाहरु लैजाने निर्णय गरका छौँ । धितोपत्र बोर्डसँग यो विषयमा परामर्श गरिसकेका छौ । धितोपत्र बोर्डले यो विषय अलि संवेदनशील भएकोले पहिलो अध्ययन गर्न निर्देशन दिएकोले त्यसको लागि हामीले अध्ययन कमिटी पनि गठन गरेका छौँ । अध्ययन गठन गसिरसकेपछि अध्यन कमीटी गरेको अध्यनको प्रतिवेदन आएपछि हामी त्यो अनुसार अगाडि बढ्छौँ । त्यसबाहेक हामीले ७५ वटै जिल्लामा भइरहेका ब्रोकहरुलाई नै पु¥याउने भनेर योजना पनि निर्माण गरेका छौँ । उक्त योजनालाई हामीले ३ वटा श्रेणीमा विभाजन गरेका थियौँ । जसमा अहिले भइरहेका ब्रोकरहरुलाई (क) श्रेणी, सुगम जिल्लाहरुलाई (ख) श्रेणी दुर्गमलाई (ग) श्रेणी अन्यलाई भनि छुट्याएका थियौँ । त्यसपछि हामीले (ख) मा जोसुकैले खाल्न सक्ने तथा  (क) मा खोल्नेलाई कम्तिमा पनि (ग) मा एउटा खोलेको हुनुपर्ने व्यवस्था गरेका थियौँ । त्यसमा जो ब्रोकरहरु स्टक होल्डर हुनुहुन्छ उहाँहरुको प्रतिक्रिया आउने क्रममै थियो । तर त्यो बीचमै हामीलाई धितोपत्र बोर्डले एउटा सुझाब पठाएको हुनाले हामी यो सेवा विस्तारको विषयमा थप सोचनीय भएका छौँ ।

हामीले प्रयोग गर्ने ट्रेडिङ वाइलज धेरै पूरानो भएको कारण काम गर्न कठिन भइरहेको अवस्था छ । यसलाई आवश्यक परिमार्जन गर्नका लागि धितोपत्र बोर्डमा पठाएका छौँ । त्यस्तै हाम्रो कर्मचारी सेवा विनियमावली पनि २ बर्ष पूरानो थियोे । त्यसलाई पनि सुधारको लागि धितोपत्र बोर्डमा पठाएका छौँ । लिस्टिङ वाइलजले गर्दा वर्गाीकरणमा केहि समस्या पनि आइरहेको थियो । यसको सुधारको लागि पनि प्रयासहरु भइरहेको छ । हामीले  गरेका कारोबारमा अहिलेसम्म मेकानिजमले गर्दा समस्या आएको छैन । तर अब भने यसमा केहि असहजता आउने देखिएका कारण हामीले यसलाई व्यस्थित बनाउन सेटलमेन्ट ग्यारेन्टि फन्ड र अक्सन मार्केट विनियमावली ल्याउन लागेका छौँ । 
  
सेयर बजारमा प्रयोग हुने सर्बर निकै पूरानो भयो भन्ने गुनासाहरु आइरहेका छन् । सुधारको प्रयास थालिएको छैन ?
यसलाई सुधार गर्नको लागि हामी अध्ययन गरेर अघि बढीरहेका छौँ । समयक्रमसँगै हामीले यसलाई पनि परिमार्जन गर्नतर्फ लाग्छौँ । अहिले अनलाइन ट्रेडिङ सिस्टम भएन भन्ने विषयलाई मैले स्वीकार गर्छु । तर त्यो भन्दा बाहेकका समस्याहरु हामीले सुधार गरिसकेका छौँ । पहिलाको तुलनामा हाम्रो सिस्टममा धेरै नै सुधार आएको छ । यो समयको माग पनि हो । कसैले विकासको अपेक्षा गर्दा एउटा सिमाभित्र बसेर गर्नुपर्ने हुन्छ । हामी विभिन्न निकायहरुको सुपरभिजनमा छौँ । जबसम्म हामीले ब्रोकरहरुलाई सन्तुष्ट पार्न सक्दैनौँ त्यतिबेलासम्म हामीले हाम्रो सेवालाई चुस्त र दुरुस्त भन्न मिल्दैन । हाम्रो तर्फबाट हामीले हाम्रा ब्रोकर र लगानी कर्ताहरुको लागि परिमार्जित पद्धतिहरु ल्याउँछौ । जसले गर्दा उहाँहरुले आफ्नो काम सहज रुपमा गर्न सक्नुहुनेछ भन्ने हाम्रो अभिलाषा रहन्छ । 

नेप्सेलाई निजीकरण गर्ने भन्ने विषय बाहिरिएको छ नि ?
नेप्सेको स्वामित्व नेपाल सरकार, एनआइडिसी र नेपाल राष्ट्र बैंकले लिएको छ । कुनै पनि स्वामित्व बिक्रि भन्ने कुरा त्यसको कामदार र जागिरे कर्मचारीले गर्न सक्दैन । त्यो त स्वामित्व जोसँग छ उसले गर्ने हो । राष्ट्र बैंक र नेपाल सरकारले आफ्नो सेयर बिक्रि गर्ने हो  भने निजिकरणमा नयाँ रणनीति बनाउनुपर्छ । निजिकरण गर्ने विषयमा हामीलाई अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन । त्यस्तै नेप्सेलाई निजिकरण गर्ने हो भने अहिले भन्दा पनि व्यस्थित बन्छ । कुनै निर्णय लिँदा कसैको सुपरभिजनमा बस्नु पर्दैन । निजी संस्थाले आफूलाई चाहिने सामान तथा प्रविधिहरु आफैँ खरिद गर्न सक्छ ।  

त्यसो भए अहिले नेप्सेमा देखिएको समस्या के हो ? 
धितोपत्र बोर्डसँग नेप्सेको परस्पर ठोस निर्णय हुन सकको छैन । धितोपत्रले ल्याएका नीतिहरु अस्पष्ट भएकै कारण हामीलाई कारोबार गर्न अप्ठेरो परेको छ । त्यसकारण धितोपत्र बोर्डले नै यो विषयमा ध्यान दिन जरुरी छ ।  

नेप्सेमा देखिएको समस्या समाधानको लागि सरकारले चासो नदिएकै हो ?
सरकारले चासो नदिएको भन्दा पनि सरकारी प्रकृयाहरु झन्झटिला भएको कारणले गर्दा हामीलाई केहि असहज भएको हो । नेप्सेमा अधिकांश शेयर स्वामित्व नेपाल सरकारले होल्ड गरिरहेको छ । बाँकी केही हिस्सा प्राइभेट कम्पनीहरुले होल्ड गरेर मात्रै समस्याको समाधान हुँदैनन । यदि सरकारले सबै खालका धितोपत्रहरुको कारोबार हुने वातावरण मिलाउने हो भने केहि सहज हुने थियो । हामीलाई कस्तो खालका प्रोडक्टहरु चाहिन्छ, त्यसबारे अध्ययन गर्न आवश्यक छ । नेपाल स्टक एक्सचेन्जलाई रणनीतिक साझेदार सहित निजिकरण गर्ने हो भने थप व्यवस्थित हुने देखिन्छ । 

धितोपत्र बोर्डले हालै ल्याएको नीति नेप्सेले टेरेन भन्ने सुनिन्छ, खास कुरा के हो ? 
यस्तो होइन, बजारलाई कसैले पनि रोक्न सक्दैन । बजार जहिले पनि स्वतन्त्र नै हुन्छ । जायज विषयहरु हामीले मानेका छौ । तर, जोखिम देखिने विषयलाई पालना गर्ने कुरै भएन । यसलाई नेप्सेले बोर्ड ल्याएको नीति नै टेरेन भन्न मिल्दैन । 

अन्तमा मैले सोध्न छुटाएका र तपाईलाई भन्न मन लागेको केहि छ कि ?
त्यस्तो खासै केहि छैन । नेप्सेलाई थप व्यवस्थित र प्रभावकारी बनाउनको लागि हामीले जोड दिएका छौँ । सेवालाई प्रभावकारी बनाउनको लागि नयाँ योजनालाई मूर्त रुप दिनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]