September 6th, 2016

नेपाल लाइफको एफपीओबारे छानविन सकियो, प्रतिवेदनमा के छ ?

nepal lifeनेपाल लाइफ इन्स्योरेन्सको एफपीओसम्बन्धि छानविनको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई र सन्तोष कार्की तथा सहायक प्रथमस्तरकी सीता पाण्डेले गरेको आकस्मिक स्थलगत निरीक्षणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो । समितिले कम्पनीबाट पेश भएका कागजात, तथ्यांक तथा अवलोकनका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७३ जेठ ७ गते सम्पन्न १६औं बार्षिक साधारणसभाले चुक्ता पुँजीको २६.३१५८ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । त्यससँगै वोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७०/३० प्रतिशत कायम गर्नका लागि थप साधारण सेयर निस्कासन गर्न साधारणसभाले स्वीकृति पनि दियो । कम्पनीले यसअनुसार १०० रुपैयाँ अंकित दरको सेयरमा २८५१ रुपैयाँ प्रिमियम राखेर २९५१ रुपैयाँमा बिक्री गर्ने निर्णय गर्यो । यही निर्णयको बारेमा सामाजिक सञ्जाल ट्वीटर हेन्डल रहेका एक व्यक्तिले प्रधानमन्त्रीको कार्यालयमा उजुरी गरेका थिए ।

कम्पनीले प्रिमियम मूल्य तोकेपछि नियामक निकाय धितोपत्र वोर्डले पनि सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले बजारलाई प्रभावित पार्ने गरी प्रिमियम मूल्य निर्धारण गरेको भन्दै धितोपत्र वोर्डले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशनसमेत दिएको थियो । वोर्डले कम्पनीसँग स्पष्टीकरणसमेत माग गरेको थियो । स्पष्टीकरण आएपछि उसले असार १५ गते कारोबार फुकुवा गर्न निर्देशन दिएको थियो ।
 
बीमा समितिले छानबिन सकेर आफ्नो राय प्रधानमन्त्री कार्यालयलाई बुझाउँदै पुँजी बजार सम्बन्धि नियमन गर्ने आधिकारिक निकाय आफू नभएर धितोपत्र वोर्ड रहेको यसका बारेमा आवश्यक निर्णय पनि धितोपत्र वोर्डले गर्ने बताएको छ । 

प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]