January 9th, 2017

’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि बढ्यो : सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग गरेको छ । जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गरेको हो । ’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत उर्जामन्त्री जनार्दन शर्माले सोमबार एक वेवसाइट सार्वजनिक गरेका छन् ।

सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुबाट पनि नेपालको आयोजनामा लगानी गराउने लक्ष्य लिएको छ । सर्वसाधारण नेपालीले अप्पर अरुण, दूधकोशी, तमोर,  सुनकोशी ३,  लाङटाङ,  नलसिङगाड,  उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा सेयर लगानी गर्न सक्नेछन् । यसमा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्स, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष सेयर लगानी गर्न पाउने छन् । 

लगानी प्रतिवद्धता जनाउने तरिका
http://www.moenonline.moen.gov.np/login मा गई आफ्नो एकाउन्ट बनाउनुहोस् । त्यसपछि तपाईँले पेज खोलेको हो वा होइन भनेर नोटिफिकेसन तपाईको इमेलमा जान्छ । इमेलमा गएको लिंकलाई तपाईले क्लिक गरेपछि तपाईको ’युजर आइडी’ एक्टिभ हुन्छ । त्यसपछि पेजमा ‘सेयर लगानी प्रतिवद्धता फारम भर्नुहोस्’ भन्ने शीर्षकमा क्लिक गरी व्यक्तिगत विवरण भर्नुहोस् । त्यसपछि आउने स्टेपहरुलाई फलो गर्दै जानुहोस् र फारममा मागिएको विवरण भर्दै जानुहोस् । भरिसकेपछि फारम सबमिट गर्नुहोस् । 

तपाईँले भर्नुभएको विवरणका आधारमा उर्जा मन्त्रालयले तपाईँलाई सम्पर्क गरी आयोजना अघि बढाउँदा सहभागी गराउने व्यवस्था मिलाइएको छ । सेयर लगानीका लागि पैसा तिर्ने विषयमा उर्जा मन्त्रालयले पछि छुट्टै सुचना निकाल्ने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]