राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैङ्कका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले सोमवार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैङ्कको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले बताएको छ ।
उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए । उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरे । आगामी केही वर्ष भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने बताउँदै उपाध्यक्ष डा श्रेष्ठले विश्व बैङ्कलगायतका विकासका साझेदार संस्थाबाट वैदेशिक लगानी भित्र्याउन आवश्यक सहयोगको अपेक्षा गरेका छन् ।
जवाफमा निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताए । रासस