January 15th, 2018

दोस्रो किस्ता नलाने भूकम्पपिडितको पहिलो फिर्ता

भीम गौतम / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै दोस्रो किस्ताको अनुदान लिन नआउने भूकम्प प्रभावितबारे अनुसन्धान गरी पहिलो किस्ताको रकम फिर्ता प्रक्रिया अघि बढाउने भएको छ । एक वर्षअघिको पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लगेर हालसम्म दोस्रो किस्ता नलाने प्रभावितहरूबारे थप अनुसन्धान गर्दै पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता प्रक्रिया अघि बढाउन लागेको हो । गत २८ असारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले पुस मसान्तसम्म अघिल्लो वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पप्रभावितले दोस्रो किस्ता लिने समयसीमा तोकेको थियो तर दोस्रो किस्ता लिनेको संख्या थोरै छ । 


प्राधिकरणको तथ्यांकअनुसार ६ लाख ६६ हजार ९ सय ७७ ले पहिलो किस्ता लिएकोमा दोस्रो किस्ता लिनेको संख्या १ लाख ७५ हजार ६ सय २७ मात्र छ । सरकारले तीन वर्षभित्र निजी आवास पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेकोमा ६ महिना बाँकी रहँदा दोस्रो किस्ता लिनेको संख्या यति थोरै देखिएको हो । प्राधिकरणले समयसीमा तोक्दा समेत दोस्रो किस्ताको रकम लिने संख्या थोरै देखिएपछि अहिले यसबारे प्रभावितहरूमा अन्योल देखिएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले किस्ता लिने समय निरन्तर रूपमा दिन नसकिने बताउँदै दोस्रो किस्ता लिन नआउनेबारे अनुसन्धान गरिने बताए । “यति लामो समयसम्म दोस्रो किस्ता लिन नआउनेहरूबारे अनुसन्धान हुन्छ, दोस्रो किस्ता लिन नआउनुको कारण अन्त कतै घर भएर हुन सक्छ तर कसैले निजी आवास बनाउन नसक्नुको मनासिव कारण देखाएमा समय थप पनि गर्न सकिन्छ,” उनले भने । 

भुसालले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले गरेको निर्णय पालना गर्नु प्राधिकरणको दायित्व भएको र यति लामो समयसम्म जग्गा सम्याएर सामान्य जगसमेत नहालेको अवस्थाले नलाने प्रभावितबारे अनुसन्धान गर्नुपर्ने देखिएको बताए । “घर बनाउन नसक्ने ७० वर्षभन्दा बढीका वृद्धवृद्धा, ६० वर्षमाथिका एक एकल महिला, १६ वर्षमुनिका नालाबालक र अपांग भएका व्यक्तिको हकमा अहिले प्रभावित ३२ जिल्लाका २ सय ८२ स्थानीय निकायमा सर्भेक्षण गरिरहेका छौँ , उनीहरूको घर भने प्राधिकरणले बनाउँछ,” उनले भने । 
प्राधिकरणले गत वर्षको पुस मसान्तपछि पहिलो किस्ता लिनको हकमा भने आगामी चैत्रभित्र दोस्रो किस्ता लिन पाउने र आगामी असारभित्र तेस्रो किस्ताको रकम लिईसक्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुषाल भने गत वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएर हालसम्म दोस्रो किस्ता नलिने प्रभावितहरूले पहिलो किस्ताको रकम फिर्ता गर्नुपर्ने बताउँछन् । “दोस्रो किस्ता लिन नसक्नुको मनासिव कारण नदेखिएमा पहिलो किस्ता लिनेले सो रकम फिर्ता दिनुपर्छ, यसको प्रक्रिया अघि बढ्छ,” उनले भने । प्राधिकरणले प्रभावितहरूले लगेको पहिलो किस्ताको रकम निजी आवासका लागि भएकोले सो नबनाएमा सरकारी रकम दुरूपयोगसरह मानिने बताएको छ । 
भूकम्प प्रभावितहरूले भने इन्जिनियर, प्राविधिक र दक्ष जनशक्तिको अभावको कारणले पुनर्निर्माणको काम अघि बढाउन नसकेको कारणले दोस्रो किस्ता लिने समय थप्नुपर्ने माग गरेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–३ का मोटप्रसाद सापकोटाले प्राविधिक तथा दक्ष जनशक्तिको अभावमा कयौं भूकम्पपीडितले घर बनाउने चाहाना हुँदाहुँदै नसकिएकोले म्याद थप गरी जनताको समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । कारोबार दैनिकमा प्रकाशित समाचार

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]