October 3rd, 2016

दसैँमा बैंकहरुको सुरक्षा : यस्तो बन्यो ‘सुरक्षा रणनीति’

banking-securityनवराज कुँवर – मुलुक अहिले चाडपर्वको माहोलमा छ । यतिबेला नेपालीलाई चाडपर्वले छोपिसकेको छ । मानिसहरु चाडपर्वको लागि किनमेल, घर रंगरोगनदेखि आवश्यक तयारीमा लागिसकेका छन् । यो बेला व्यापक मात्रामा पैसाको कारोबार हुने गर्छ । जहाँ जति धेरै पैसाको कारोबार हुन्छ, त्यहाँ सुरक्षासम्बन्धी चुनौति पनि उत्तिनै हुन्छ । त्यसैले पनि सरकारले हालै ‘विशेष सुरक्षा रणनीति’ अपनाएको छ । जसअनुसार प्रहरीद्धारा कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्तीजस्ता रणनीति अपनाइएको छ ।

चाडपर्वको बेला बैंक तथा वित्तीय संस्था र त्यहाँ कारोबार गर्ने सर्वसाधरणको सुरक्षासम्बन्धी विषय पनि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले पनि बैंक तथा वित्तीय संस्था रहेका स्थानमा प्रहरीले विशेष रुपमा सुरक्षा दिने प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) प्रतापसिंह थापाले बताए । ‘बैंक तथा वित्तीय संस्थासंगै आर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ’, उनले बैंकिङ खबरसंगको विशेष कुराकानीमा भने, ‘चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाकामा समेत कडाई गरिने छ ।’

pratap-sing-thapa-jpgउनले बैंक तथा वित्तीय संस्थाको सुरक्षालाई अझै चुस्त दुरुस्त बनाउनका सरोकारवालासँग छलफल भईरहेको जानकारी दिए । ‘बैंक तथा वित्तीय संस्थाहरुलाई अहिलेको अवस्थामा कस्तो किसिमको सुरक्षा आवश्यक छ भन्ने विषयमा हामीले छलफल पनि अगाडि बढाइरहेका छौँ’, एआइजी थापाले भने, ‘उहाँहरुलाई हामीले आफ्नै सुरक्षाकर्मी खटाउने र सीसी टिभि राख्ने सवालमा पनि विशेष ध्यान दिन अनुरोध गरिसकेका छौँ ।’

बैंक तथा वित्तीय संस्था र त्यहाँ कारोबार गर्ने सर्वसाधरणले पनि आफ्नो सुरक्षाको लागि संयमता अपनाउनुपर्नेमा उनको जोड थियो । यद्यपी चोरी, लुटपाटजस्ता घट्ना घटेको अवस्थामा तत्काल नजिकैको प्रहरी कार्यालय वा १०० मा फोन गरेर जानकारी गराउन उनले आग्रह समेत गरे ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]