January 15th, 2017

तेजेन्द्र शर्माले औँल्याए, लघुवित्तका जोखिम न्युनिकरणका उपाय (अन्तरवार्तासहित)

तेजेन्द्र शर्मा लम्साल नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसअघि दुईवटा माइक्रो फाइनान्सको सीईओ बनिसकेका उनी नेपालका एक अनुभवी लघुवित्तकर्मी मानिन्छन् । स्नातकोत्तर अध्ययनको क्रममा लघुवित्त सम्वन्धी शोध (थेसीस) गरेका लम्साल  आफ्नो जीवनलाई लघुवित्त क्षेत्रमै काम गरी व्यतित गर्ने बताउँछन् । हरेक नेपालीले नेपाल राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउने लम्सालसँग नेपालमा लघुवित्त कार्यक्रमको अवस्था, चुनौति र उपलब्धीबारे बैकिङ खबर डटकमका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

लघुवित्तको बारेमा संक्षेपमा बताइदिनुस् न ?
आर्थिक तथा सामाजिक रुपमा पछि परेका परिवारका महिलालाई उनीहरुकै गाऊटोलसम्म कर्मचारी पठाएर गरिने वित्तीय सेवा नै लघुवित्त सेवा हो । महिलाहरुको समुह बनाएर सामान्यतया विनाधितोमा कर्जा दिने, बचत संलन गर्ने, स–सानो बीमा सेवा दिने जस्ता काम लघुवित्त संस्थाले गर्दछन् । लघुवित्त संस्थाले रेमिटेन्स सेवा समेत दिएका छन् ।


लघुवित्त संस्थाका विशेषताहरुहरुबारे बताइदिनुस् न ।
लघुवित्त वित्तीय संस्थाहरु पनि कानूनतः वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी जस्ता वित्तीय संस्था हुन् । यिनीहरुले पनि वित्तीय कारोवार नै गर्ने हुन । वित्तीय कारोवार वाहेक समाजमा बृक्षारोपण गर्न, घरआगन सफा राख्न, खाना खानुअघि हात धुन, शौचालय प्रयोग गर्न, बालवच्चालाई स्कुल पठाउन, आत्मनिर्भर बन्न उत्प्रेरणा प्रदान गर्दछन् । जुन समुहका महिलाले यी सामाजिक कार्य गर्दछन् । उनीहरुलाई लघुवित्त संस्थाले पुरस्कार समेत प्रदान गरेको पाइन्छ । पैत्रिक सम्पत्तीमा पहुँच नभएका, पैत्रिक सम्पत्ती नभएका, सुकुम्वासी, ज्यामी काम गर्नेहरुका परिवारका महिलालाई लघुवित्त संस्थाले शुरुमा विनाधितो कर्जा दिने र क्रमशः ससानो धितोमा कर्जा दिने गरेका छन् । लघुवित्तमा कर्जा लिएकाहरुले आयआर्जनमा लगानी गर्नैपर्ने, आय आर्जन बढाएर आम्दानी भएको रकमबाट कर्जाको साÒवा व्याज तिनुपर्ने गरी उद्यमी बनाउने काम हुन्छ । लघुवित्तको शुरुको विस्तारमा बलजफत समुह बनाउने, बलै सानो कर्जा दिएर आर्थिक कार्य, आय आर्जनमा लगाउने काम समेत हुन्छ ।


बलजफत कर्जा दिने भनेको चाहिँ कस्तो ?
मैले वाग्लुङ जिल्लाको एउटा गाउँमा यो काम गरेको थिए । १५ वर्ष पहिलाको कुरा हो । तल माथि चट्टान भएको करिव २० घरधुरीको मगर बस्ती थियो । त्यहा खानेपानीको समेत अभाव थियो । मैले २० जनाको केन्द्र बनाएँ । तर कर्जाको किस्ता तिर्न सकिन्न, त्यसैले कर्जा त नलिने भन्ने उनीहरुको कुरा थियो । ७ दिन म त्यहाँ जाँदा अम्वा पाकेर न्याउरीमुसो, चराले खाएको देखेको थिए । किन नबेचेको भन्दा फलफुल बेच्ने हाम्रो चलन छैन । यहाँ विक्री हुन्न, बजार कस्ले लगेर बेच्दा कति नै पैसा आउँछ र ? भन्ने जवाफ पाएको थिए । कर्जाको किस्ता तिर्न यीनै अम्वा बेच्ने, वजारमा बेच्न समुहको एक, दुई जना पालैपालो जाने, गाँउको सवै पाकेका अम्वा दिनदिनै छिपेर भारी पु¥याएर बजारमा लैजाने, अम्वा संख्याको हिसावले बेलुका वजारबाट ल्याएको पैसा सवैलाई बाँड्ने र यसबाट वाख्राको वाठो किन्न लिएको किस्ता तिर्न सकिने भन्नेवारेमा बताए, उनीहरुले त्यसै गरे । अर्काे महिनामा उनीहरुले आफ्नो आफ्नो जुठेल्नो, खाना खाएको भाडा सफा गर्ने ठाँऊमा भाडा सफा गर्दाको पानी एउटा खाल्टोमा जम्मा गरेर रायोकोसाग लगाए, पालैपालो बढेका पात बजारमा पु¥याए, विक्री भएको पैसा वेलुका आपसमा बाँडे । यसरी वाख्रा पालन बढ्यो, महुरी पालन गर्न थाले । घर बसेका महिला यसरी आय आर्जनमा लागे । भएन र ?


राम्रो मोडेलको प्रयोग गर्नुभएछ । लघुवित्त सेवा महिला मार्फत किन गरिएको होला ? पुरुषको समुह बनाए हुँदैन र ?
पुरुषको समुह बनाउन नहुने भन्ने होइन, पाइन्छ । सामान्यता महिलाले घरको काम गर्ने, पुरुष आयआर्जन गर्न घरवाहिर जाने पुरानो प्रचलन हो । छोरो सम्पत्ती र छोरी दायित्व भन्ने गलत मानसिकता पनि गाउँमा पाइन्थ्यो । महिलाको पैत्रिक सम्पत्तिमा नगन्य पहुँच थियो । आर्थिक कारोवारमा महिलाको संलग्नता कम थियो । मानौँ, मकै खेति गर्दा मल बोक्ने, खन्ने, डल्ला फुटाउने, पानी लगाउने, गोडमेल गर्ने, मकै भाच्ने, नङ्याउने, उदार्ने, सुकाउने काममा प्राय महिलाहरु लाग्नुपर्ने । तर मकै बेचेको पैसा प्राय पुरुषले लिने जस्ता कारणबाट लघुवित्तले महिलालाई छनौट गरेकामा त्यसलाई निरन्तरता दिए जस्ता मलाई लाग्छ । क्रमशः महिलापुरुषमा विभेद घट्दै गएकोले पुरुषलाई पनि लघुवित्त समुहमा राख्न आवश्यक देखिन्छ ।


नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था त नयाँ हो क्यारे । यसको पछिल्लो प्रगतिबारे बताइदिनुस न ?
नेपाल एग्रो माइक्रोफाइनान्सले २०७३ भाद्र २३ गते राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्ने इजाजतपत्र लिई आश्विन महिनाको ६ गतेदेखि वित्तीय कारोवार शुरु गरेको हो । नेपाल एग्रो माइक्रोफाइनान्सका सल्यान, प्यूठान, रोल्पा, कास्की, पाल्पा, पर्वत, तनहुँ गरी ७ जिल्लामा ११ वटा शाखा कार्यालय हालसालै सञ्चालन भएका छन् ।नेपाल एग्रो माइक्रोफाइनान्सले करिव २,५०० ग्राहकसदस्यलाई वित्तीय सेवा प्रदान गरिसकेको छ ।  ५ करोड ३५ लाख रुपैयाँ लगानीमा रहेको रकम र ४२ लाख रुपैयाँभन्दा बढि वचत रहेको छ ।
 
नेपाल एग्रो माइक्रोफाइनान्सले नाम अनुसारको काम पनि गर्ने सोच छ कि भन्नलाई मात्र नेपाल एग्रो माइक्रोफाइनान्स हो ?
राम्रो प्रसंग आयो । नेपाल एग्रो माइक्रोफाइनान्सले नेपाली कृषकहरुलाई प्राथमिकता दिएर कार्य गर्न शुरु गरिसकेको छ । कुल कर्जा रकमको आधा भन्दा बढि रकम ३ करोड रुपैयाँ भन्दा बढि कृषि क्षेत्रमा लगानी गरिसकेको छ । नेपाल एग्रो माइक्रोफाइनान्समा एकजना सञ्चालक कृषि विज्ञ हुनुहुन्छ । कृषि क्षेत्रको लागि सरकारी गैरसरकारी संघसस्थाहरुसँग सहकार्य गरिने छ । कुनै पनि केन्द्र बैठकमा ग्राहकसदस्यले भन्ने प्रतिज्ञा पनि उन्नत प्रकृतिको कृषि कार्यलाई प्रोत्साहन दिने खालको छ ।


कस्तो प्रतिज्ञा हो भन्न मिल्छ ?
हाम्रा ग्राहक सदस्यहरु मध्ये हालसालै कसैले व्यापार व्यवसाय वा कृषि कार्य वाहेकबाट आय आर्जन गरिरहेका हुन सक्छन् । तर उनको परिवार तथा आफन्तजन कृषि कर्ममा कार्यरत छन् भन्ने मान्यताले हाम्रा सवै ग्राहक सदस्यले यस प्रकारको सदस्य प्रतिज्ञा कविता लयमा भन्नै पर्ने व्यवस्था गराएर कृषकको प्रतिज्ञा गराएका छौं ।


कस्तो कविता ? भनिदिनुस त ।  
  ‘बाँझो जमीन घटाएर, खेतिपाती बढाउछौं 
  पाडाबाच्छा जोगाएर, दुधको मात्रा बढाउछौं’
        पाठापाठी बढाएर, मासुको मात्रा बढाउछौं’
उन्नत नश्ल जोगाएर, आयआर्जन बढाउछौं ’’
कृषिमा यान्त्रिकरण गराएर, किसानलाई सुखी राख्छौं ’
गोवरग्याँस बनाएर, वातावरण सफा राख्छौैंै ’’
                                घरेलु उद्योग बनाएर, व्यवसाय बढाउछौं ’
                                आफ्नो उत्पादन आफैले, बजारसम्म खन्याउछाँै ’’
                           नेपाल एग्रोसँग मिलेर, सम्पन्न समाज बनाउछौँ’
 
सदस्य प्रतिज्ञा सुन्नालई त राम्रो र तर कतिको व्यवहारिक छ ?
यो समाजमा आधुनिक कृषि कर्मबारे सचेतना फैलाउने हाम्रो अभियान हो । देशको आवश्यकता पनि कृषि हो । हाम्रा कामहरु नेपाललाई केन्द्रमा राखेर, देशको हितलाई पहिलो प्राथमिकता दिएर गर्नु हामी नागरिकको कर्तव्य पनि त हो नि । यसको पालना गराउन हाम्रो प्रयत्न रही रहन्छ ।


नेपालका लघुवित्त सेवा प्रदायक संस्थाहरु बारेमा बताइदिनुस् न ।
आजसम्म तीन दर्जन बढी लघुवित्त संस्थाहरु छन् । २५ वटा गैरसरकारी संस्थाले लघुवित्तको काम गरेका छन् । ३०,००० भन्दा बढि सहकारीले पनि विनाधितो कर्जा दिने अभ्यास गरेको भन्ने छ । नेपाल राष्ट्र बैंकमा दर्ताको प्रकृयामा १०० भन्दा बढि प्रस्तावित लघुवित्त बैंक छन् । साथै, धेरै विकास बैंकहरु, वाणिज्य बैंकहरु पनि लघुवित्तमा लागेका छन् ।


के सवै लघुवित्त तथा संस्थाहरुको नियमक निकाय नेपाल राष्ट्र बैंक हो त?
त्यो चाहि होइन । क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु र लघुवित्त बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट नियमन हुन्छ । सहकारीहरुको नियमन जिल्ला सहकारी कार्यालयबाट हुन्छ । नेपालको लघुवित्तको नियमन बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, सहकारी ऐन, वित्तीय मध्यस्थता ऐनको अधिनमा हुने गरेको छ । केहि आमा समुह जस्ताहरुको लघुवित्त स्थानीय समाजबाट समेत नियमन भएको मलाई लागेको छ ।


नेपालका सबै लघुुवित्तलाई राष्ट्र बैंकबाट मात्र नियमन भए राम्रो हुने थियो कि ?
हो । मलाई पनि त्यस्तै लागेको छ । भविष्यमा नेपालको सवै वित्तीय कारोवार एउटै ढोकाबाट, नेपाल राष्ट्र बैंकबाट हुने व्यवस्था बन्ला । आशा गरौं ।


नेपालमा लघुवित्त सेवाको आवश्यकता कस्तो देख्नुहुन्छ ?
दूरदराजका गाँऊमा वित्तीय पहुँच बढाउन पहिला लघुवित्त बैंक पुग्नुपर्ने, लघुवित्त संस्थाको पछिपछि विकास बैंक र विकास बैंकको पछिपछि बाणिज्य बैंक पुग्ने वातावरण बनाउन लघुवित्त सेवा सहयोगी हुने मैले देखेको छु । नेपालमा लघुवित्तले बैंकिङ भुगोल बढाइरहेको छ । अर्काे कुरा, मैले पहिला पनि भने, लघुवित्तले महिलालाई प्राथमिता दिन्छ । महिलालाई घरको काम गर्दागर्दै आयआर्जन गर्न, आर्थिक रुपमा आत्मािर्भरबनाउन र उद्यमी बनाउने वातावरण दिएको छ । लघुवित्त बैंकिङसञ्चालन पहिला आम महिलाले पतिसँग र पतिको आयआर्जन नभएको अवस्थामा ससुरासँग ससानो व्यक्तिगत खर्चको लागि हात थाप्नुको विकल्प थिएन । अहिले धेरै महिलाहरु उद्यमी भएका र हुने क्रममा रहेका छन् । लघुवित्त बैंकिङले आधाभन्दा वढि आकाश ढाकेको महिला बर्गलाई आर्थिक, सामाजिक रुपमा धेरै अघि बढाइरहेको छ । नेपाली सन्दर्भमा कुन ससुुराले आफ्ने बुहारीलाई उद्यमी बनाउन लालपुर्जा लिएर बैंक गई ऋण झिकिदिन्थ्यो होला ? तेश्रो, सम्पत्तिको नाममा खोलाको किनारमा मान्द्राले बारेको घर, २–४ वटा सिल्टेका थालकचौरा, दिउरो, देप्ची र कपडाको नाममा केहि थाङना मात्र भएका अति विपन्न गरीवलाई वालुवा बोक्न शुरुमा डोको खरीद गर्न कर्जा लिएकाहरुले अहिले ट्रकबाट वालुवा बोक्न सक्ने भइसकेका छन् । विगतमा वालुवा बोक्नेहरु अहिले खोलाको बगर भाडामा लिएर बर्खाको वालुवा संकलन गर्ने ढाँड बनाउने कार्य गरेर ठूला वालुवा व्यापारी भएका छन् । यसरी लघुवित्तले श्रमिकहरुलाई उद्यमी बनाउन सफल भएको देखिन्छ । चौथो, बेरोजगारलाई स्वरोजगार दिएको भन्ने पहिला नै भनियो । कृषिमा उत्पादकत्व बढाउन पनि लघुवित्तको भूमिका देखिन्छ ।


नेपालमा लघुवित्त किन आवश्यक छ ?
नेपालमा अझैपनि ५८ प्रतिशत जनसंख्या वित्तीय पहुँच वाहिर रहेको तथ्यांक देखिन्छ । त्यो जनसंख्याको लागि अझै सेवा विस्तार गर्न सकिने देखिन्छ । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच कम भएका २२ जिल्लामा शाखा खोलेमा प्रति शाखा ३० लाख रुपैयाँ सून्य प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह रकमको निश्चित प्रतिशत लघुवित्त क्षेत्रमा विपन्न वर्ग कर्जा अन्तर्गत लगानी गर्नैपर्ने व्यवस्थाले कर्जा प्रवाह गर्ने रकमको श्रोत बढेको छ । निश्चित शर्त तथा अवस्थामा लघुवित्त बैंकले सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने व्यवस्था छ । खासगरी वित्तीय साक्षरता र ग्रामिण क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नका लागि लघुवित्त संस्थाहरुको महत्व छ ।


वजारमा सेयरको मूल्य त बढि छ ? लघुवित्त संस्थामा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ नि ?
लगानी भएको ६ वर्ष भइसक्दा लगानीकर्ताले १ रुपैयाँ प्रतिफल नपाएका लघुवित्त बैंकको सेयरको मूल्य २५ सय रुपैयाँसम्म पुग्यो । सायद लगानीको लागि अन्य सुरक्षित क्षेत्रको अभाव भएको अनुभुति भएर, लघुवित्त बैंकको पुँजी बृद्घि हुन्छ भनेर पनि लगानी कर्ताको आकर्षण हुनसक्छ । थोरै लघुवित्त बैंकले बढि जोखिम लिएर कारोवारको आकार धेरै ठूलो बनाएका कारणले उनीहरुको प्रतिफल बढि भएको देखिन्छ । धेरै लघुवित्त बैंकको प्रतिफललाई हेर्ने हो भने लगानीकर्ताको आकर्षण बढ्न पर्ने मलाई लाग्दैन । वित्तीय क्षेत्रको जोखिम अन्य क्षेत्रकोभन्दा धेरै बढि छ । धेरै कुशल व्यवस्थापन, राम्रो संस्थागत सुशासननभै वित्तीय क्षेत्रको जोखिमको व्यवस्थापन गर्न सकिदैन । लघुवित्त बैंकिङमा त सिमान्तकृत वर्गका श्रमिक महिलालाई नागरिकताको प्रतिलिपि लिएर विनाधितो कर्जा दिनुपर्ने भएकोले अत्याधिक जोखिम छ । लगानी कर्ताको नजरले लघुवित्त क्षेत्रमा जुन हराभरा आज देखिएको छ त्यो धेरै रहने मलाइ लाग्दैन ।


लघुवित्त कार्यक्रममा देखिएका चुनौति अथवा जोखिम चाहिँ के हुन् त ?
आर्थिक तथा सामाजिक रुपमा पछि परेको परिवारका महिलाहरु, प्राय अशिक्षित हुन्छन्, उनीहरुको नागरिकताको फोटोकपी लिएर विना धितो कर्जा लघुवित्तबाटै दिइन्छ । कुनै कारणले निजले कर्जा नतिरेमा वा तिर्न नसकेमा के गर्ने भन्नेमा अन्य बैंकको धितो कर्जा जति सुरक्षित देखिदैन । यो लघुवित्तको प्रकृति नै हो । यो जोखिम नलिए कारोवार नै हँुदैन । दोश्रो, कर्जा लिनेहरुले अन्य बैंकको जस्तो लालपुर्जाको सक्कल दिएमा एकजना ऋणीको स्वतः एउटा वा दुइटा कर्जा हुनेथियो भने नागरिकताको फोटोकपि मात्र लिदा एकजनाले धेरैतिरबाट कर्जा लिन सक्छन् । शहरमा त धेरै तिरबाट कर्जा लिइरहेका पनि छन् । कुनैपनि ऋणीले एउटा संस्थाबाट कर्जा लिएर अर्काेमा तिर्ने अवस्था आएमा त्यसले ऋणी र लघुवित्त संस्था दुवैलाई अवनति गराउछ । तेश्रो, लघुवित्तका ग्राहकहरु सवैमा व्यवसायिक चेतना नहुनपनि सक्ने भएकोले लिएको कर्जाको सदुपयोग नहुन सक्छ । यदि लिएको कर्जाले मासिक रुपमा कमाउदैन भने किस्ता तिर्न कठिन हुन्छ । चौथो, लघुवित्त बैंकिङ विभिन्न ऐनको अधिनमा गर्न सकिने भएकोले नियमक निकायहरुको नियमन फरक फरक हुने गरेको छ । केहि लघुवित्त संस्थाहरुले लघुवित्तको मर्मलाई आत्मसाथ गरी कारोवार गरेका छन् भने केहिले त अरुले तयार गरेको वातावरण विगारेर आफ्नो कमाउ धन्दा मात्र बनाएको जस्तो पनि देखिन्छ । नेपालको राजनैतिक तरलताले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष असर गरिरहेको छ ।


त्यसो भए लघुवित्तको जोखिम न्युनिकरणका लागि के गर्नुपर्ला ?
पैसाको कारोवार गर्दा जोखिम त भइहाल्छ । धितो कर्जामा पनि जोखिम छ । पैसाको सन्दर्भमा घरपरिवारका सदस्य, छिमेकीलाई त पत्याउन एक पटक सोच्न पर्दछ भने हामीले पोखरामा बसेर आज मध्यपश्चिमाञ्चलका जिल्लासम्म काम गरेका छौं । सम्भावित जोखिम कम गर्न धेरे लघुवित्त संस्था नभएको स्थानमा कारोवार गर्ने, दोहोरोपनाबाट बच्ने, कर्जाको आकार सानो राख्ने, कर्जाको सदुपयोगितामा कडाइ गर्ने, आफ्ना कर्मचारीलाई दक्ष बनाएर मात्र कार्यक्षेत्रमा पठाउने, कर्मचारीलाई लक्षको ठूलो भारी नबोकाई बजारमा आफ्नो हिस्सामा रमाउने गरी कार्य गर्ने जस्ता कुराहरुमा सतर्क रहनुपर्दछ । यसभन्दा पनि बढि महत्वपुर्ण कुरो, लगानी भएको कर्जा पक्का असुली हुन्छ भन्ने बारेमा लघुवित्तको मर्म राम्ररी बुझेका लघुवित्त बैंकहरुले कर्जा सुुरक्षाका पाँच घेरा प्रविधिको प्रयोग गरेका छन् । सुरक्षा घेराबारेमा यतिकै भनेर भन्दा पनि केहि वर्ष यस क्षेत्रमा कार्य गरेका कर्मचारीहरुले यसको उचित प्रयोग गर्न सक्छन् । माथि भनिएका कार्य तथा प्रविधिको प्रयोगबाट विनाधितो कर्जा पक्कै असुली हुन्छ । तर केहि बैंक तथा संस्थाहरुले यसबारेमा जानकारी लिएका भएपनि झण्झटिलो मानेर नगर्ने वा केहिलाई यस बारेमा जानकारी नै नभएकोले लघुवित्त क्षेत्र थप जोखिममा रहेको मैले देखेको छु ।


अन्यमा अन्य केही थप भन्नु छ ?
लघुकर्जा विपन्नको उर्जा हुनेगरी कर्जा प्रवाह गर्ने, कर्जाको सदुपयोगिता गर्न लगाउने, क्षमतावान कर्मचारीलाई कार्यक्षेत्रमा पठाउने, बजारले आफुलाई दिएको क्षेत्रको अधिनमा रही शाखाको लक्ष निर्धारण गराउन सवै लघुवित्त संस्थाहरु सक्षम छन् । नभए हुन प¥यो । सवै लघुवित्त बैंकिङ गर्ने बैंक, वित्तीय संस्था, संस्थाहरुले लघुवित्त बैंकिङको सौन्दर्यता जोगाउनु पर्छ । लघुवित्त उद्योग (घर) लाई भुलेर उद्योग (घर) भित्रका संस्था (कोठा) मात्र हाम्रा होइनन् । लघुवित्तको संरक्षण सवै लघुवित्त कर्मीहरुबाट हुनुपर्दछ । नेपाल राष्ट्र बैंकले हामीलाई राम्रो प्रबद्र्धन गरेको छ । नेपाल राष्ट्र बैंकले तथा आफ्नो नियमक निकायका कुराहरु अक्षरस पालना गर्दा पनि सम्भावित जोखिम कम हुने मैले देखेको छु ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]