February 2nd, 2016

तरलता कम गर्ने राष्ट्र बैँकको रणनीति

NRBनेपाल राष्ट्र बैँकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैँकले ५० अर्ब रुपैँयासम्मको ऋणपत्र जारी गर्न लागेको हो । बैँकले चालू मौद्रिक नीतिमा गरेको व्यवस्था अनुरुप नै ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैँकले पहिलोपटक ऋणपत्र जारी गर्न लागेको हो । यसका लागि केन्द्रिय बैँकको राष्ट्र ऋण विभागले प्रकृया समेत अघि बढाइसकेको राष्ट्र बैँकले जनाएको छ । ऋणपत्र जारी गर्ने विषयमा विभागीय निर्णय भइसकेको बताइएको छ । अब व्यवस्थापन समिती र सञ्चालक समितीमा छलफल गर्ने तयारी भइरहेको बताइएको छ । बैँकका अनुसार, व्यवस्थापन समितीले निर्णय गरेपछि सञ्चालक समितीमा प्रस्ताव जानेछ । सञ्चालक समितीले आवश्यक निर्णय गरेपछि मात्रै ऋणपत्र जारी गर्ने बाटो खुल्नेछ । राष्ट्र बैंकले यो ऋणपत्र जारी गर्न भने सरकारसँग स्वीकृति लिइरहनु पर्दैन भने यो ऋणपत्रबाट उठेको रकम विकास निर्माणमा खर्च गरिँदैन ।
रेमिट्यान्सको आप्रवाहले गति लिएसँगै बजारमा झण्डै १८० अर्बको तरलता जम्मा भएको छ । राष्ट्र बैंकले करिव करिव १४५ अर्ब रुपैयाँ तरलता बजारबाट उठाएको छ । राष्ट्र बैंकले ट्रेजरी विल्स, विभन्न ऋणपत्र, रिभर्स रिपो, निक्षेप वोलकवोलबाट तरलता तान्दै आएको छ । अब राष्ट्र बैंक ऋणपत्र पनि थपिने छ । राष्ट्र बैँकले बजारबाट बारम्बार रकम तानिरहँदा पनि तरलता कम नभएपछि बैँकले ऋणपत्र जारी गर्ने योजना बनाएको हो । अहिले वित्तिय प्रणालीमा ३० अर्बजति तरलता रहेको राष्ट्र बैँकले जनाएको छ । बाँकी रहेको २५ अर्ब रुपैयाँ आगामी साता परिपक्व हुँदैछ । यो रकम बजारमा आउनेवित्तिकै प्रणलीमा अझै तरलता थपिने छ ।
विगत चार वर्षदेखि लगातार अधिक तरलताको चाप बेहोरिरहेको बैँकिङ क्षेत्रमा भारतीय नाकाबन्दीका कारण झन् समस्या थपिएको छ । एकातिर, निक्षेप संकलन र कर्जा विस्तारबीच तालमेल नमिल्दा बजारमा तरलता थुप्रिरहेको छ भने अर्कोतिर रेमिटेन्स बढ्ने तर भारतीय नाकाबन्दीका कारण सरकारी खर्च र बस्तु तथा सेवा आयात हुन नसक्दा तरलताको समस्याले बढावा पाइरहेको छ । पछिल्ला वर्षहरुमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर कम छ । मुलुकमा लागनीमैत्री वातावरणको सिर्जना हुन नसक्दा र बैंकिङ क्षेत्रले नयाँ लगानीको क्षेत्रको पहिचान गर्न नसक्दा अधिक तरलताको समस्या यथावत रहेको हो । सरकारले खर्च गर्न नसक्दा अहिले सरकारी ढुकुटीमा ७२ अर्ब रुपैयाँ थुप्रिएको छ । तरलता थुप्रिन थालेपछि ब्याज दरमा उल्लेख्य गिरावट आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]