October 6th, 2016

तपाईँको गोजीमा भएको नोट यसरी छापिन्छ (हेर्नुस् रिपोर्टमा)

moneyनेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ । त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ । ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पु¥याइन्छ । यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ ।

नेपाल राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ । नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ । स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ । राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ । छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ । समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ । बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ ।

यसरी गरीन्छ नोटको डिजाइन
नेपाल राष्ट्र बैंकमा गर्भनर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकार सम्मीलित नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रबद्र्धन गर्ने भन्ने सुझाब दिन्छन् । सबै पक्षको सुझाबको आधारमा नोटमा कस्ता चित्र, नम्बर समावेश गर्ने भन्ने निर्णय हुन्छ । यसपछि राष्ट्र बैंकमा नोटको डिजाईन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रीपरिषदु्मा नोटको डिजाइन र डिनोमेशन स्वीकृतिका लागि पेश गरिन्छ । अर्कोतर्फ, हरेक देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । सबै नोटमा गर्भनरले हस्ताक्षर गर्ने होईन । गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । यद्यपी सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाएका हुँदैनन् । 

नोटभन्दा बढि लाग्छ नोट बनाउने लागत 
अझै अनौठो कुरा के छ भने, एक रुपैयाँको सिक्का छाप्नको लागि डेढ रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्ने बताईएको छ । त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्छ । ठुलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ ।

यी मुलकमा छापिन्छन् सिक्का 
१. चीन
२. जर्मनी 
३. स्वीडेन
४. बेलायत
५. नेदरल्याण्ड 
६. क्यानडा
७. फ्रान्स
८. रसिया
९.इन्डोनेसीया 
यद्यपी माथि उल्लेख गरीएका सबै मुलुकले आफ्नो देशका हरेक स्थानबाट पैसा छाप्ने भने होईन । उनीहरुले आफ्ना देशको एक स्थानको एउटा कम्पनीबाट मात्रै पैसा छाप्ने गर्दछन् । चीनले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनबाट, जर्मनीले जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच र बन्डेस डर्केरी, स्वीडेनको क्रेन एबि कम्पनि, बेलायतको डिलारु करेन्सी त्यस्तै फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसीयाको पेरुम पेरुरी, नेदरल्याण्डको जोन ईन्सेड बैंक नोट बिभि, क्यानडाको क्यानेडीयन बैंक नोट कम्पनी लिमिटेड बाट नोटहरु छाप्ने काम हुन्छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै ‘प्रि क्वालिफिकेसनका’े सूचीमा समाबेश गर्ने गरेको छ । ‘प्री क्वालिफीकेसनमा’ परेका कम्पनिको प्राविधीक, र आर्थिक सर्वेक्षण अध्ययन गरेर मात्रै नेपाल राष्ट्र बैंकले कम्पनी छनौट प्रक्रिया टुंगाउँछ । यद्यपी नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो  ‘सेक्यूरेटीज’मा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यिनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजानिक गर्नुपर्ने हो, त्यस बराबरको सम्पति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यी विभिन्न प्रक्रिया पुरा गरी छापेको नोट सिधै बजारमा पठाईदैन । छापिएका नोटको ‘प्रिफेक्स’ नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दा सम्म त्यो नोटको मान्यता हुँदैन । त्यसैले राष्ट्र बैंकले सूचना जारी गर्नुपूर्वसम्म मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा सुरक्षित रुपमा नोट राख्छ । 

यसकारण राखिन्छ, सुरक्षा चिह्न
नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरीटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ । नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोट बाहिरै देखिने गरी मिलाईन्छ भने केही भाग नोट भित्र लुकेको हुन्छ यसका साथै नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युरिटी फिचरहरु’ प्रशस्त मात्रामा राखिएको हुन्छ । नक्कली नोट बजारमा आउन नसकोस् भनेर अभिप्रायले यस्ता सुरक्षा चिह्न राखिएको हो ।

च्यात्तिएका नोट के गरिन्छ ?
बैङ्कले झुटो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ । बैङ्कले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ । राष्ट्र बैङ्क ऐनको दफा ६० अनुसार बैङ्कले नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ । त्यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने, काट्ने, फुटाउने वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्छ ।

नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुनः त्यो नोट राष्ट्र बैङ्कमै फर्कन्छ । केरमेट भएका, च्यातिएका, आगोले खाएका आदि पुराना नोटहरू राष्ट्र बैङ्कले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ । च्यातिएर वा आगलागी भएर वा पूर्णरूपमा काम नलाग्ने भएका नोटहरू राष्ट्र बैङ्कमा फर्कंदैनन् । बैङ्कमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मानिन्छ । तर, कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको २ तिहाइ भाग भएको खण्डमा राष्ट्र बैङ्कबाट भुक्तानी पाउन सकिन्छ ।

मुलुकी ऐन खोटा चलनको महलको १ नं अनुसार सरकारी टक लागेको नोट कसैले बाहिर छाप्न, बनाउन लगाउन र बनाउन उद्योग गर्न निषेध गरेको छ । नोट छापी खोटा चलनको अपराध गर्नेलाई बिगोबमोजिम जरीवाना गरी १० वर्ष कैद सजाय हुन्छ । कसैले पनि खोटा चलन गरी सम्पत्ति आर्जन गरी त्यसको शुद्धीकरण गरेमा समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को परिच्छेद ७ बमोजिम सजाय हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]