September 10th, 2017

झन्डै एक दर्जन बैंकमा फेरिए प्रमुख कार्यकारी अधिकृत

सुष्मा थापा । पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत परिवर्तन भएका छन् । कुनै बैंकमा पूरानै सीईओ फर्केका छन् भने कुनैमा अर्को बैंक छोडेर आएका छन् । कुनै बैंकमा कार्यकाल सकिएर विदा भएका छन् भने कुनै बैंकका सिईओले विशेष कारणवश राजीनामा पनि दिएका छन् ।

हालै महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिए । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट आगामी कार्तिक १ गतेदेखि लागु हुने गरी राजिनामा दिएको बताएका छन् । १ बर्षको छोटो अवधिमा २ वटा मर्जर सफलापूर्वक सम्पन्न गरी नेपालकै नम्बर १ विकास बैंक बनाउन सफल भएकोमा आफू खुसी रहेको भन्दै भट्टराईले सहयोग गर्ने सबैलाई फेसवुक स्टाटस मार्फत धन्यवाद समेत दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पदबाट भट्टराईले राजिनामा दिएसँगै महालक्ष्मी विकास बैंकको सीईओमा कैलाश विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं विकास बैंकर्स संघका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेको चर्चा हुन थालेको छ ।

भदौ ४ गतेदेखि बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शोभन देव पन्त नियुक्त भएका छन् । बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा चिनिने पन्त तत्कालिन लुम्बिनी बैंकमा सीईओ थिए । पछि, लुम्बिनी र बैंक अफ काठमाण्डू एकआपसमा गाभिएपछि उनी बैंकिङ क्षेत्रबाटै बाहिरिएका थिए । यद्यपि, बैंक संचालन समितिले उनलाई पुनः सीईओ पदमा नियुक्त गरेपछि अब बिओकेले थप प्रगति गर्ने विश्वास लिइएको छ । उनले तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । 

एक महिनाअघि सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शम्भुनाथ गौतम नियुक्त भएका थिए । यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत गौतमलाई बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिईओ नियुक्त गरेको थियो ।  तत्कालीन सिइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि सिद्धार्थ बैंकमा सिईओको पद रिक्त रहेको थियो ।  

त्यस्तै, सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि यही साउन १२ गते सकिएपछि बैंकको नेतृत्व सम्हाल्न आएका हुन् । विगत २१ बर्षदेखि बैंकिङ्ग क्षेत्रमा सकृय गोबिन्द गुरुङ्ग गत वैशाख १२ गतेदेखि सिभिल बैंकमा नै कामु सीईओ थिए । उनी हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आवद्ध छन् । 

कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । कुमारीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरको हो । यसअघि कुमारीको सीईओ राजिव गिरी थिए । भण्डारी यसअघि सिद्धार्थ बैंकमा सीईओ थिए । गत असारमा मात्रै सिद्धार्थले चार वर्षका लागि भण्डारीको कार्यकाल थप गरिदिएको थियो । जसको एक वर्ष नबित्दै भण्डारी कुमारीमा आएका हुन् । 

जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बिहीबार चार वर्षका लागि कुँवरलाई नियुक्त गरेको हो । तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि तीन बर्षदेखि बैंकिङ बाहिर रहका कुँवर जनता बैंकमा चौथो सिईओ हुन् । स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करिअर सुरु गरेका क्षेत्रीले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा समेत काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक नियुक्त भए । ग्राण्ड बैंकमा जानुअघि उनी तात्कालिन बैंक अफ एसियाका संस्थापक सिईओ थिए । 
 
कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक  नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा  र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ । बैठकले  आगामी २०७४ जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको दुई कार्यकाल मिति २०७४ जेष्ठ १३ गते समाप्त हुने भएपछि संचालक समितिले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

साना किसान विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले डा. कोइरालाई सीईओ नियुक्त गरेको छ । उनी चार वर्षका लागि साना किसान विकास बैंकको सीईओमा नियुक्त भएका हुन् । कोइरालाले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपना विषयमा विद्यावारिधि गरेका छन् । कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव भएका कोइरला वित्तीय दिगो विकास एवं लघुवित्तका विज्ञ मानिन्छन् ।

अरुण फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विष्णु पाण्डे नियुक्त भएका छन् । कम्पनीको गत जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । उनले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालिसकेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]