December 5th, 2017

चुनावको मौका छोपी नक्कली नोट

पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएकोमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केहीमा नक्कली नोट भेटिन थालेका छन् । 
कुश्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो । गण्डकी विकास बैंकमा केही दिनपहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैंकमा स्थानीय सुदीप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा पनि एक हजार रुपैयाँको नक्कली नोट फेला परेको बताइएको छ । नक्कली नोटमा कलम लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको बैंकका अधिकारीको अनुभव छ । 
म्याग्दी र बाग्लुङमा जस्तै पर्वत पातीचौरमा पनि नक्कली नोट भेटिएको थियो । 
चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । मतदान अगाडि जनतालाई आफ्नो पक्षमा पार्नका लागि मतदातालाई पैसा दिने गरेका आशंका सर्वत्र गरिएका बेला नक्कली नोट भेटिन थालेपछि त्यही प्रयोजनका लागि यस्ता नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । पर्वतका वित्तीय क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले यस्तो समयमा नचिनेका मानिसहरूले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन् । नक्कली नोट फेला परेमा ग्राहकलाई मुलुकी ऐन अनुसार जाली नोटमा जेल सजाय समेत हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिप घिमिरेका अनुसार जाली नोट कारोबारमा राष्ट्र बैंकले पनि कारबाही गर्छ भने मुलुकी ऐनअनुसार जेल सजायसमेत हुन्छ । 
चलनचल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरूले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालको नजिकै रहेको गोलाकारभित्र अंकित तस्बिर नभएको जनाइएको छ । 
यस्ता नोटहरू बजारमा आउँदा अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्तो गतिविधिमा संलग्नहरूलाई कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूबाट कारोवार नगरी सिधै हुने भएकाले यस्ता नोटहरूको चलखेल हुन सक्ने भन्दै नक्कली नोटका कारोवारीहरू यहीबेला सल्वलाउन सक्ने भएकाले छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने सरोवारवालाले माग गरेका छन् । कारोबार दैनिकबाट 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]