April 10th, 2017

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिती

समष्टिगत आर्थिक परिदृश्य 
१. आर्थिक वर्ष २०७४ को ८ महिनासम्ममा उपलव्ध समष्टिगत आर्थिक तथा वित्तीय परिसूचकहरुलाई आधार मान्दा नेपाली अर्थतन्त्रको परिदृष्य मिश्रित रहने देखिएको छ । आर्थिक वृद्धि प्रक्षेपित मार्गमा र मुद्रास्फीति प्रक्षेपित भन्दा न्यून रही समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहने देखिन्छ । तथापि हालैका महिनाहरुमा सिर्जित वित्तीय घर्षणले गर्दा वित्तीय क्षेत्रमा भने केही क्षणिक असहजता रहेको अवस्था छ ।
२. कृषिमा अपेक्षा गरिएको भन्दा वृद्धि, उर्जा आपूर्तिमा सुधार र निर्माण तथा पुनर्निर्माण कार्यले लिएको गतिका कारण आशाजनक आर्थिक वृद्धिको परिदृष्य देखिएको छ । 
३. मुद्रास्फीतिको चापमा आएको सहजताले निरन्तरता पाएको छ । परिणामतः आर्थिक वर्ष २०७४ मा मुल्य वृद्धिको चापमा सहजता रहनेर प्रक्षेपित वार्षिक लक्ष्य ७.५ प्रतिशत भन्दा मुद्रास्फीति कम हुन सक्ने देखिन्छ । ४. निक्षेपको भन्दा कर्जाको विस्तार अधिक रहेका कारण विगत केही महिनादेखि वित्तीय क्षेत्रमा देखिएको असन्तुलनको अवस्थामा हाल केही सुधार देखिएको छ । वित्तीय क्षेत्रमा हाल पर्याप्त मात्रामा तरलता रहेको छ । कर्जा प्रवाह बढ्न थालेतापनि सामान्य तहमा पुनरस्थापित हुन अझै केही समय लाग्नेछ । पूँजीगत खर्चले गति लिन थालेपछि कर्जा प्रवाहले पनि सामान्य तहमा पुनरगति लिने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

५. २०७३ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । २०७२ फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो। गत वर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति घट्दै आएको छ । 

खाद्य मुद्रास्फीति 
६. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतकोलत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
९. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.१ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.० प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, निर्माण मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १३.५ प्रतिशत, १३.० प्रतिशत र ११.६ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र

वैदेशिक व्यापार 
११. आर्थिक बर्ष २०७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १२.८ प्रतिशतले वृद्धि भई रु. ४८ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१२. समीक्षा अवधिमा कुल वस्तु आयात ४४.२ प्रतिशतले बढेर रु. ६२८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ । 
१३. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४७.६ प्रतिशतले बढी रु. ५८० अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१५. आर्थिक वर्ष २०७४ को आठ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १०.७ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ८.२ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्त ९त्भचmक या त्चबमभ० मा २.४ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २५.१ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैचीको, निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१६. समीक्षा अवधिमा कुल सेवा आय १७.९ प्रतिशत र कुल सेवा खर्च १९.४ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ४ अर्ब १९ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३८.७ प्रतिशतले वृद्धि भई रु. ३६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २४ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
१७. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई रु. ४४९ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ८.४ प्रतिशतले वृद्धि भई रु. ५४२ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९ प्रतिशतले बढेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
१८. अघिल्लो बर्षको आठ महिनामा रु. १३८ अर्ब ५५ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. ६ अर्ब ३१ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको आठ महिनासम्ममा रु. १५८ अर्ब १८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ५० अर्ब ६ करोडले बचतमा रहेको छ । 
१९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. १० अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ८ अर्ब ३५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ९ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. २ अर्ब ३४ करोड रहेको थियो । 

  • अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १८.८ प्रतिशत र कुल वस्तु आयात ४३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ३५.५ प्रतिशत र वस्तु आयात २०.७ प्रतिशतले घटेका थिए । 
  • समीक्षा अवधिमा भ्रमण आय ३६.७ प्रतिशत र विप्रेषण आप्रवाह ३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २९.२ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । 
  • अघिल्लो आर्थिक वर्षको आठ महिनासम्ममा अमेरिकी डलर १३२ करोड २१ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा अमेरिकी डलर ५ करोड ७० लाखले घाटामा गएको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्षकोआठ महिनामा अमेरिकी डलर १४९ करोड ३३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर ४६ करोड ६० लाखले बचतमा रहेको छ । 

विदेशी विनिमय सञ्चिति 
२०. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३.४ प्रतिशतले वृद्धि भई २०७३ फागुन मसान्तमा रु. १०७४ अर्ब २७ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ फागुन मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु. ९१५ अर्ब ३१ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ४.४ प्रतिशतले वृद्धि भई रु. १५८ अर्ब ९६ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.१ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२१. आर्थिक वर्ष २०७४ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.८ प्रतिशत, ९९.७ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
२२. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७२ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३९.४१ रहेकोमा २०७३ फागुन मसान्तमा २७.१ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५०.१० कायम भएको छ । त्यसैगरी, २०७२ फागुन मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२६४.८० रहेकोमा २०७३ फागुन मसान्तमा ४.८ प्रतिशतले घटी प्रति आउन्स अमेरिकी डलर १२०४.२० पुगेको छ । २३. २०७३ असार मसान्तको तुलनामा २०७३ फागुन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.४ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.७ प्रतिशतले अवमूल्यन भएको थियो । २०७३ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०६.२७ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२४.आर्थिक वर्ष २०७४ को आठ महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ४२ अर्ब ४५ करोडले बचतमा रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ३१ अर्ब ७५ करोड रहेको थियो । 

सरकारी खर्च
२५. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५७.५ प्रतिशतले वृद्धि भई रु. ३७४ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६.५ प्रतिशतले बढेर रु. २३८ अर्ब ११ करोड पुगेको थियो । 
२६. समीक्षा अवधिमा चालू खर्च ५३.५ प्रतिशतले बढेर रु. २७५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १७९ अर्ब ६९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. ६० अर्ब २३ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. २२ अर्ब ९७ करोड भएको थियो । 

सरकारी राजस्व 
२७. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ५१.९ प्रतिशतले वृद्धि भई रु. ३५४ अर्ब १६ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३.४ प्रतिशतले घटेर रु. २३३ अर्ब १४ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका शीर्षकहरुमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात  
२८. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ फागुन मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. १९५ अर्ब ७१ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 

२९. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ९.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ११.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १७.४ प्रतिशतले बढेको छ । 
३०. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५० अर्ब ६ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १५८ अर्ब १८ करोडले बढेको थियो । 
३१. समीक्षा अवधिमा सञ्चित मुद्रा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ फागुन मसान्तमा उक्त मुद्रा १२.७ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३२. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १२.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ फागुन मसान्तमा यस्तो कर्जा २५.७ प्रतिशतले बढेको छ । 
३३. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ११.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७३ फागुन मसान्तमा २८.३ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
३४. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.३ प्रतिशतले बढेको छ । २०७३ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ६.९ प्रतिशत, ३७.६ प्रतिशत र ३८.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ४४.१ प्रतिशत र २८.५ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १७.६ प्रतिशत र विकास बैंकहरुको ६.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ३.६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २८.९ प्रतिशतले बढेको छ । 
३६. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.० प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १७.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १४.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २२.४ प्रतिशतले बढेको छ । 
३७. २०७३ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो । 
३८. २०७३ असार मसान्तको तुलनामा २०७३ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा विस्तार भएको छ । 
३९. २०७३ फागुनसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.६ प्रतिशत (रु. ४२ अर्ब ६९ करोड) छ । 
४०. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १४.१ प्रतिशत (रु. १० अर्ब २३ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो । 

तरलता व्यवस्थापन 
४१. आर्थिक वर्ष २०७४ को आठ महिनासम्ममा यस बैंकले रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत्कुल रु. ३३ अर्ब २१ करोड तरलता प्रवाह गरेको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ५८ अर्ब १७ करोडकोस्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
४२. आर्थिक वर्ष २०७४ को आठ महिनासम्मको अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी रु. २८६ अर्ब ९८ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ८९ करोड खुद खरिद भई रु. ३०६ अर्ब ३३ करोड खुद तरलता प्रवाह भएको थियो । 
४३. आर्थिक वर्ष २०७४ को आठ महिनासम्ममा खुलाबजार कारोबारमार्पmत् रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्पmत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत्रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत्क्रमशः रु. २९७ अर्ब ५० करोड, रु. १६२ अर्ब ७७ करोड र रु.९ अर्ब १० करोड तरलता प्रशोचन गरिएको थियो । 
४४. समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ७२ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी रु. ३०१ अर्ब ९० करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ९८ करोड बिक्री गरी रु. २०८ अर्ब ३७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा 
४५. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ९ अर्ब ९ करोड र निर्यात कर्जा रु. ४२ करोड गरी कुल रु. ९ अर्ब ५१ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. २ अर्ब २६ करोड र निर्याततर्फ रु. १ अर्ब १२ करोड गरी जम्मा रु. ३ अर्ब ३८ करोड पुनरकर्जा उपयोग भएको थियो । 
४६. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ फागुन मसान्तसम्म कुल २६४ जनालाई रु. ५२ करोड ६२ लाख कर्जा प्रवाह भएको छ । 
४७. वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.९ प्रतिशत रहेको छ । 
४८. “क”, “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा न्यूनतम् ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७३ पुस मसान्तसम्ममा यस अन्तर्गत क्रमशः ५.६ प्रतिशत, ६.५ प्रतिशत र ४.६ प्रतिशत कर्जा प्रवाह भएको छ । 

अन्तर–बैंक कारोबार 
४९. आर्थिक वर्ष २०७४ को आठ महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ७५० अर्ब ४९ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. २७५ अर्ब ८५ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ५२३ अर्ब ८४ करोड र रु. ४५ अर्ब २० करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५०. २०७२ फागुनको तुलनामा २०७३ फागुनमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर बढेको छ । २०७२ फागुनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.५३ प्रतिशत रहेकोमा २०७३ फागुनमा ०.७४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर– बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ फागुनको ०.४२ प्रतिशतको तुलनामा २०७३ फागुनमा ०.९० प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ फागुनको ०.९८ प्रतिशतको तुलनामा २०७३ फागुनमा ७.९६ प्रतिशत रहेको छ । 
५१. २०७३ फागुनमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा यस्तो ब्याजदर अन्तर ६.१ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ फागुनको ६.५ प्रतिशतको तुलनामा २०७३ फागुनमा ८.३ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५२. वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । २०७३ फागुन मसान्तसम्ममा कुल १३४ वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ९१ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४३ संस्था कायम रहेका छन् । 

शाखा पुनस्र्थापना 
५३. नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका द्वन्दकालमा विस्थापित भएका ३१८ शाखाहरुमध्ये २०७३ फागुन मसान्तसम्म १५१ शाखा पुनस्र्थापित भएका छन् । 

पुँजी बजार 
५४. नेप्से सूचकाङ्क २०७२ फागुन मसान्तको १,३१८.९ विन्दुबाट २०७३ फागुन मसान्तमा २.८ प्रतिशतले वृद्धि भई १,३५५.२ विन्दुमा पुगेको छ । २०७३ असार मसान्तको १,७१८.२ विन्दुको तुलनामा भने नेप्से सूचकाङ्कमा २१.१ प्रतिशतले ह्रास आएको छ । 
५५. आर्थिक वर्ष २०७४ को आठ महिनामा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८८.४ प्रतिशतले वृद्धि भई रु. १३२ अर्ब ५८ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको तथा चालू आर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको कारण तुलनात्मक रुपमा कुल कारोबार रकममा वृद्धि देखिएको हो । 
५६. आर्थिक वर्ष २०७४ को पहिलो आठ महिनासम्ममा नेपाल धितोपत्र बोर्डले ११ वटा कम्पनीहरुलाई रु. ११ अर्ब ३१ करोड बराबरको ३ करोड ७५ लाख कित्ता सेयर प्राथमिक निष्कासन (एफपिओसहित) का लागि स्वीकृति दिएको छ ।

स्रोत : नेपाल राष्ट्र बैंक


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]