October 17th, 2017

गोरखाको त्यो ठिटो, मेहनतले बन्यो यो ‘भवन भट्ट’ (जीवनीसहित)

रोयल आचार्य/बैंकिङ खबर- गैर आवसीय नेपालीहरुको छाता संगठन गैर आवसीय नेपाली संघको आठौँ विश्व सम्मेलनबाट अध्यक्ष पदमा विजयी भएका भवन भट्टको संघर्षको कथा निकै रोचक छ । गोरखा जिल्लाको एक दुर्गम गाउँमा सामान्य परिवारमा जन्मेका भट्ट अध्ययनको शिलशिलामा आजभन्दा २० बर्ष पहिले जापान पुगेका थिए । वि.सं. २०३३ सालमा जन्मिएका भट्ट पढाईमा सानै उमेरदेखि आफू अब्बल भएको बताउँछन् । वि.सं. २०५४ सालमा २१ वर्षको उमेरमा उनी टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि गोरखाबाट जापान गएका थिए । अध्ययनको शिलशिलामा जापान पुग्दा आफूले एक रेष्टुराँमा भाडा माझ्ने काम गरेको भट्ट बताउँछन् । 

२० बर्ष पहिले रेस्टुराँमा भाँडा माझ्ने भट्ट अहिले जापानमा २९० होटल तथा रेस्टुराँका मालिक भएका छन् । पढाइ खर्च जुटाउनका लागि न्युनतम तलबमा भाडा माझ्ने काम गरेका भट्टले अहिले जापानमा ५ हजार जापानी र २५० नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुवाती दिनमा मैले रेस्टुराँमा भाँडा माझेँ,’ बैंकिङ खबरसँगको कुराकानीमा नवनिर्वाचित अध्यक्ष भट्टले भने– ‘काम सानो–ठूलो हुँदैन भन्ने सोचकै कारण म अहिले यो स्थानमा छु ।’ 

शिक्षित व्यक्ति भएर पनि भाडा माझ्नु पर्दा कहिलेकाहीँ नरमाइलो लाग्ने गरेको भट्टको स्मरण छ । ‘भाँडा माझ्दा अरुले भन्दा शिक्षित व्यक्तिले सफा गरी काम गर्नुपर्छ भन्ने लागेर धेरै मेहनत गर्थेँ’ आफ्नो संघर्षको कथा सुनाउँदै भट्ट भन्छन्– ‘मेरो कामबाट प्रभावित भएपछि साहुले तलब ५० येन बढाएर ७५० पुर्याइदिए, कामप्रतिको लगाव देखेर उनले पछि मलाई वेटरमा बढुवा गरिदिए ।’ यसरी ६ वर्षसम्म फरकफरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न आफू सफल भएको भट्टको भनाई छ । खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गएको र सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना बनाउन थालेका भट्ट अहिले झण्डै ३ सय होटल तथा रेष्टुराँको मालिक बन्न पुगेका छन् । 

कसरी थाले व्यवसाय ? 
जापानका विभिन्न होटल तथा रेष्टुराँमा काम गरेको अनुभवलाई भट्टले अवसरमा बदल्ने सोच गरे । सोहि सोचका कारण उनले टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा एउटा घाटामा गएको रेस्टुराँ खरिद गरेका थिए । घाटामा गएको रेष्टुराँ किनेका भट्टले केहि समयसम्म दैनिक खर्च समेत उठाउन सकेनन् । सुरुमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँमा ग्राहकहरुको आकर्षण बढेको भट्टको भनाई छ । 

सोहि रेस्टुराँबाट आएको फाइदाको रकमबाट उनले अर्को रेस्टुराँ किनेपछि फाइदा बढ्दै गयो । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक ३२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए । उनले नेपालमा पनि टिबिआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु २ अर्ब लगानी गरिसकेका छन् । 

कसरी जोडिए एनआरएनएमा ? 
आठौँ विश्व सम्मेलनबाट एनआरएनएको मूख्य नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका भट्ट गैर आवसीय नेपालीहरुको छाता संगठन गैरआवसीय नेपाली संघको संस्थापक मध्येका एक हुन् । भट्ट एनआरएनएको स्थापना कालदेखि नै यसमा आवद्ध छन् । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे । भट्टले एनआरएन जापानको अध्यक्ष तथा एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । अध्यक्ष पदमा निर्वाचित हुनुपूर्व भट्ट एनआरएनएको कार्य समिति उपाध्यक्ष थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]