September 20th, 2016

गाउँ समृद्ध बनाउँदै ‘आशा’ लघुवित्त, (अध्यक्ष रामबहादुर पाण्डेसँगको अन्तरवार्तासहित)

ram-sir-1गाउँमा युवाहरु कमै छन् । खाडी मुलुकमा जाने लहरै चलेका कारण युवाहरु प्राय गाउँमा भेटिदैनन् । तर गाउँमा बसेका जे जति छन् अव ती यूवाहरुले गाउँमै समृद्धि खोज्न थालीसकेका छन् । यसै कारण पनि लघुवित्त संस्थाहरु गाउँ गाउँमा लगानी गर्न तम्सीएका छन् । यही बीचमा गाउँमै समृद्धि खोज्ने योजनामा हालै स्थापना भएको छ ‘आशा’ लघुवित्त वित्तिय संस्था । नुवाकोट जिल्लाको मदानपुरमा प्रधान कार्यालय रहेको आशा लघुवित्त संस्था राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । १० करोड चुक्ता पुँजी रहेको संस्थामा संस्थापक समुहको ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधरणको लगानी रहने छ । देशकै प्रतिष्ठित ‘प्रभु’ ग्रुपद्धारा संचालीत यस संस्थाको अध्यक्षमा युवा उद्यमी राम पाण्डे रहेका छन् । उनी कुशल र मेहनती उद्यमीका रुपमा चिनिन्छन् । ‘हाइड्रो’ ‘कृषि’ र ‘पर्यटन’ क्षेत्रमा समेत संलग्न उनले ग्रामिण तहको विकासका लागि ‘आशा’ लघुवित्त वित्तिय संस्था अग्रसर हुने बताएका छन् । प्रस्तुत छ उनै  आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष राम पाण्डेसँगको वित्तिय अन्तरंग कुराकानी : 

तपाईंहरुले नुवाकोटमा हालै आशा लघुवित्त वित्तीय संस्था संचालनमा ल्याउनुभएको छ, त्यसबाट आम सर्वसाधरणले के अपेक्षा गर्न सक्छन् ?

हो, ‘आशा’ लघुवित्त वित्तीय संस्था हामीले नुवाकोटमा संचालन गरेका छौँ । तर यसको कार्यक्षेत्र त्यहाँमात्रै होइन । यो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । हामीले यो संस्थामार्फत विपन्न नागरिकको आयस्तर उकास्दै मुलुकको उत्पादकत्व बढाउने उद्देश्य राखेका छौँ । संस्थाले ग्राहकको घरदैलोमै पुगी वित्तीय सेवा प्रवाह गर्नेछ । गाउँ–गाउँमा समूह निर्माण गरी समूहकै जमानीमा व्यक्ति तथा समूहलाई विनाधितो कर्जा प्रदान गर्नेछ । यसले न्यून आय भएका तर उद्यम गर्न चाहनेलाई ऋणका साथै आवश्यक तालीम पनि प्रदान गर्नेछ । यो संस्थामार्फत हामी विशेषगरी उन्नत जातको गाईपालन, तरकारी खेती, स्वास्थ्य सेवालगायत क्षेत्रलाई प्राथमिकतामा राख्नेछाँै । 

यतिधेरै वित्तिय संस्थाको बीचमा यहाँहरु आउनुभएको छ, ‘आशा’ लघुवित्त वित्तिय संस्थाले अरु भन्दा फरक र बढी प्रभावकारी सेवा दिँदै अघी बढ्न के कस्ता योजनाहरु बनाएको छ ? 
हो, तपाईले भनेजस्तै अहिले ४०/४२ को हाराहारीमा लघुवित्त संस्थाहरु संचालित छन् । यो भिडमा हामी पनि आएका छौँ । लघुवित्त भनेको नाफाभन्दा बढी सेवा हो भन्न रुचाउँछु म । किनभने तपाईं आफै मूल्याङ्कन गर्न सक्नुहुन्छ कि कुनै पनि बैंकको कर्मचारी जस्तो सुटबूटका साथ लघुवित्तका कर्मचारी बस्न पाउँदैनन् । उनीहरु धेरै दुख गरिरहेका हुन्छन् । बिहानैदेखि बेलुकासम्म खटीरहनुपर्दछ । उनीहरुको कार्यक्षेत्र शहरभन्दा गाउँ केन्द्रित हुन्छ । त्यसैले गाउँ–गाउँ पुगेर काम गर्दा धेरै मेहनत गर्नुपर्छ । यी सबै कुरा थाहा पाएरै हामी यस क्षेत्रमा आएका छौं । अबको पाँच वर्षभित्र देशैभरि आशा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार गर्ने हाम्रो योजना छ । एक वर्षभित्र हामीले कम्तिमा १० जिल्लामा शाखा विस्तार गर्ने गरी योजना बनाएका छौँ । लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएका बैङ्क तथा वित्तीय संस्थाले ग्राहकलाई वित्तीय साधानमात्र उपलब्ध गराएर पुग्दैन, उनीहरूलाई उद्यमशीलताको खाँचो पनि उत्तिकै छ । त्यसैले लगानीसँगै यस्ता खालका प्राविधिक ज्ञान प्रदान गर्न हामी उद्यत रहनेछौँ । अर्को कुरा देशको गरिबी निवारणका लागि यस्ता खालका कार्यक्रमको एकदमै खाँचो छ भन्ने मलाई लागेको छ । 

लघुवित्त कार्यक्रम सञ्चालनमा यावत् चुनौति छन् भनेर विभिन्न क्षेत्रका व्यक्तिहरुले भनिरहेका बेला तपाईहरु आउनुभयो नि ?

हो, हरेक काममा चुनौति हुन्छ । लघुवित्त कार्यक्रममा पनि अवस्य चुनौतिहरु छन् । तर त्यसबाट भागेर ती चुनौति समाधान हुँदैनन् । हामी यहाँ नाफाभन्दा बढी सेवाभावमा संचालित छौँ । भोली सेवा प्रभावकारी हुँदै गएपछि नाफा पनि होला । तर नाफा हुँदैन, चुनौति नै चुनौति छ भनेर रोकिने हो भने काम चाहिँ कसले गर्ने त ? मेरो विचारमा यो कार्यक्रममा जति चुनौतिहरु छन्, उत्तिनै सम्भावनाहरु पनि छन् । लघुवित्त कार्यक्रम सञ्चालन गर्दा ग्रामीण विकासमा यसले टेवा पुर्याउँछ । अव गाउँको मुहार फेर्ने लघुवित्त नै हो ।  यसका साथै समग्र अर्थतन्त्रमा समेत यसले सहयोग पुर्याएको हुन्छ । 

तपाईको नजरमा लघुवित्त क्षेत्रका चुनौतीहरु के-के होलान् ? 

यो क्षेत्र ग्रामिण तहमा सक्रिय हुनुपर्ने र सानोसानो लगानी गर्नुपर्ने भएकाले यसै पनि कठिन क्षेत्र हो । लघुवित्तले प्रवाह गरेको ऋणको उचित अवलोकन (फलोअप) हुन नसक्नुलाई म एउटा चुनौतिकै रुपमा लिन्छु । अधिकांश कर्जा उत्पादनशील क्षेत्रमा उपयोग हुन सकेको छैन । उत्पादित सामग्रीले बजार नपाउनु अर्को चुनौती हो । हालै संचारमाध्यममार्फत थाहा पाइयो एउटा हिमाली जिल्लामा उत्पादित स्याउले बजार नपाएर भैँसीलाई खुवाइयो । त्यस्तै कमजोर सूचना प्रविधि यो क्षेत्रका प्रमुख समस्या वा चुनौति हुन् । त्यसमाथि पछिल्लो समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाले एकै क्षेत्रका ग्राहकलाई लक्षित गरी लगानी गर्दा ग्राहकमा ऋणको भार बढी देखिन्छ । सानो क्षेत्रमा धेरै बैंक तथा वित्तीय संस्था स्थापनाका कारण अस्वस्थ प्रतिस्पर्धासमेत वढेको छ । एकै प्रकारका ग्राहकले दोहोरो सेवा लिने परिपाटी बढेकाले असल ऋणीको संख्यामा कमी आउने खालका जोखीमसमेत बढाएको छ । यी चुनौतीहरुलाई व्यबस्थीत गर्दै लैजानुपर्छ भन्ने लाग्छ । 
 
देशकै प्रतिष्ठित ‘प्रभु’ समूहको लगानीमा ‘आशा’ लघुवित्त वित्तीय संस्था स्थापना भएको छ, यसबाट सर्वसाधरणले कस्तो आशा राख्ने ? 

निश्चय नै ‘प्रभु’ समुह एउटा सफल र देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याइरहेको समुह हो । यो समुह अब शहरबाट गाउँ–गाउँमा लघुवित्त कार्यक्रममार्फत जाँदैछ । यसलाई अत्यन्तै सकारात्मक ठान्नुपर्छ । किनभने यो समुह छोटो समयमा ठूलो प्रगति गरी हजारौँ मानिसहरुलाई रोजगारी प्रदान गर्नुका साथै लाखाँै ग्राहकको विश्वास जितेर अघि बढेको समुह हो । अब यही संस्था विपन्न वर्गको आयस्तर उकास्न लघुवित्त कार्यक्रममार्फत ग्रामिण क्षेत्रमा जाँदैछ भनेपछि धेरै नागरिकको यसप्रतिको आशा बढ्नु स्वभाविकै हो । ‘आशा’ लघुवित्त वित्तीय संस्थाले खासगरी कृषि, पशुपालन तथा उत्पादनशील क्षेत्रमा लगानी गर्नेछ । सामूहिक जमानीमा विनाधितो हामी ऋण उपलब्ध गराउनेछौँ । 

ram-sir-2लघुवित्त संस्थाहरुबाट प्रवाह हुने कर्जाको उचित सदुपयोग भएको छैन भन्ने कुरा पनि आइरहेको छ नि ?

हो, यहाँ केही समस्याहरु छन् । जसलाई लघुवित्त कार्यक्रमका चुनौतिमध्येको एक भन्न सकिन्छ । कर्जा लिएका सबैले उत्पादनशील क्षेत्रमै लगानी नगर्न सक्छन् । कतिले विवाह वर्तबन्ध लगायतका कार्यका लागि पनि लघुवित्तबाट लिएको कर्जा खर्च गरेको पाइन्छ । लघुवित्त कार्यक्रम भनेकै सानो पुँजीबाट व्यवसाय गरी आत्मनिर्भर बन्नको लागि हो । तर त्यही सानो रकम अनुत्पादक क्षेत्रमा खर्च भयो भने त्यसको प्रभावकारीता रहँदैन । त्यसैले केही प्रतिशत कर्जा सदुपयोग नभएको कुरा सत्य हो । हामीले लगानी गर्दा चाहिँ यी कुराहरुमा ख्याल पुर्याउने छौँ । 

तपाईको विचारमा लघुवित्तको वर्तमान अवस्था कस्तो छ ?

नेपालको लघुुवित्त कार्यक्रम अलि तराई केन्द्रित ज्यादा छ । पहाडमा त्यसभन्दा कम पहुँच छ भने उच्च पहाडमा अति नै न्युन छ । तथापी समग्रमा भन्नुपर्दा वित्तीय पहुँचको विस्तारमा लघुवित्तको योगदान अतुलनीय छ । बस्ती र घरदैलोमा पुगेर वित्तीय शिक्षाका साथै लघु वित्तीय सेवा प्रदान गर्ने काम लघुवित्त क्षेत्रले गरेको छ । यसका आधारमा पनि अहिलेको अवस्थामा वित्तीय पहुँच विस्तार र वित्तीय सेवाप्रवाहमा लघुवित्त क्षेत्रको योगदान उच्च छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]