February 21st, 2017

‘गरिबी न्युनिकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण छ’

सरोज घिमिरे नयाँ नेपाल लघुवित्त विकास बैंकका कार्यकारी सञ्चालक हुन् । सञ्चालक समितिमा समेत रहेका घिमिरेले नयाँ नेपाल लघुवित्तको सँस्थागत बिकासका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । १० जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्त विकास बैंकले ग्रामीण भेगका विपन्न वर्गहरुलाई थप सेवा प्रदान गर्न थप नयाँ शाखा बिस्तारका लागि अध्ययन गरिहेको छ । नयाँ नेपाल लघुवित्तको पछिल्ला गतिबिधि लगायतका समसामायिक बिषयमा उनै कार्यकारी सञ्चालक घिमिरेसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादीत अंश :

नयाँ नेपाल लघुवित्त बिकास बैंकको पछिल्लो वित्तीय अवस्था वारे वताइदिनोस् न । 
अहिलेको अवस्थामा नयाँ नेपाल लघुवित्तको वित्तीय अवस्था राम्रो छ । विगतमा केहि खराब कर्जाले गर्दा थोरै नकरात्मक असर परेको थियो । अहिले खराब कर्जाको रेसियो न्यून हुदै गएको अवस्था छ । प्रति सेयर आम्दानी अहिले लगभग ४७ रुपैंया छ । हाल ६ वटा शाखाहरु छन् । निकट भविष्यमा शाखाहरु विस्तार गरी ग्रामिण क्षेत्रमा सेवा प्रवाह गर्ने योजना रहेको छ । यसले अझै वित्तिय कारोबार सुदृढ हुने अवस्था देखिन्छ ।

नयाँ नेपालको शाखा सञ्जाल कहाँ कहाँ छन् ? 
नयाँ नेपाल लघुवित्त विकास बैंक १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त हो । १० वटा जिल्लामा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, झापा, मोरङ र सुनसरी कार्य क्षेत्र हुन् । तर, अहिले हाम्रो ४ वटा जिल्लामा मात्र शाखा कार्यलय स्थापना भएका छन् । बाँकी जिल्लाको थप नयाँ स्थानहरुमा समेत हामीले शाखा सञ्जाल स्थापनाका लागि आवश्यक गृहकार्य गरिरहेका छौं ।  

नयाँ नेपालले कर्जा लागानी गर्दा कुन क्षेत्रलाई बढी फोकस गर्छ ? 
हामीले कर्जा लगानी गर्ने भनेको कृषि क्षेत्र नै हो । माइक्रोफाइनान्सको कर्जा लगानी विवरण हेर्ने हो भने सबैले धेरै जसो कृषि क्षेत्रमा नै लगानी गरेका छन् । हामी गाउँगाउँमा पुग्छौं, ग्रामीण भेगका गाउँगाउँमा अन्य क्षेत्र भन्दा पनि कृषि, पशुपालन व्यवसाय तथा व्यापार कर्जा बाट नै नागरिकहरु आत्मनिर्भर रहेका हुन्छन् । यसर्थ हामीले कृषि तथा पशुपालन तथा व्यापार कर्जा क्षेत्रलाई नै फोकस गरेका छौं । 

लघुवित्तहरुले बढी ब्याज लिन्छन भन्ने जनगुनासो पनि सुनिन्छ, यसलाई तपाईले कुन हिसाबले हेर्नु हुन्छ ? 

ग्रामिण भेगका कतिपय स्थानहरुमा अझै पनि नागरिकले शाहु महाजनबाट सयकडा ३ देखी ५ सम्म का दरले कर्जा लिएर चलाउदै आएका छन् । सयकडा ३ देखी ५ भनेको ३६ प्रतिशत देखी ५८ प्रतिशत सम्म हुन्छ । कतिपय नागरिक अझै पनि यस्तो महँगो ब्याजदर लिएर आफ्नो कार्य गर्दै आएका छन् । अब भन्नुस माइक्रोफाइनान्स को ब्याज कसरी महँगो ? हो, केहि माईक्रोफाइनान्सहरुले २५ देखी २६ प्रतिशत सम्म पनि ब्याज लिएका छन् । तर नयाँ नेपालको कुरा गर्ने हो भने १८÷२० को हाराहारीमा छ । कर्जा सदुपयोग गर्ने सदस्यलाई यो ब्याजदर महँगो हुँदैन तर, कर्जा लिएर उत्पादनशिल क्षेत्रमा लगानी नगरी अन्य भोजभतेरमा खर्चिन्छ भने यस्तो अवस्थामा चाहि यो व्याज पनि ज्यादै महँगो हुन जान्छ । 

अन्य लघुवित्त र नयाँ नेपाल लघुवित्तबीच तुलना गर्दा फरकपना के छ ? 
म यो लघुवित्तको संचालक समितिमा पनि छु । नयाँ नेपाल लघुवित्तको स्थापना भएको २०६५ सालमा हो । हामीसँगै स्थापना भएका अन्य लघुवित्तहरुले धेरै शाखा खोलेर धेरै प्रगति गरिसके तर हाम्रा शाखा कम छन् । के कारणले हाम्रो यस्तो हुन सकेन भनेर मैले यस बिषयमा अध्ययन पनि गरेको छु । मेरो अध्ययनको निष्कर्ष के निस्कियो भने नयाँ नेपाल माइक्रोफाइनान्सले साच्चिकै लघुवित्तहरुले गर्ने कार्य गरेको छ । नेपालको कतिपय ग्रामिण भेगका नागरिक कोहि जातियताका कारणले गरिब भएका छन् त, कोहि काम नै नगरेर पनि गरिब भएको मैले देखेको छु । अन्य लघुवित्तहरुलाई हेर्दा दलित वर्गमा जान डराउने गरेको मैले महसुस गरेको छु । तर, हामी जातियता भन्दा पनि कहाँ सेवा दिन सकिन्छ भनेर लागि परेका छौं । हामीले निम्नस्तर भएका दलित समूदायको वस्ती भएको ठाउँमा आफ्नो सेवा धेरै दिएका छौ । दलित र विपन्न समूदायहरुमा हामीले गरेको लगानीको भाखा नाघ्यो, समयमा कर्जा उठेन तर, ति समुदायका मानिस विपन्न वा दलित भए पनि इमान्दार भएका कारण हाम्रो सानो ताकेताले मात्र पनि कर्जा उठ्न सफल भयो । लघुवित्तहरुले सेवा दिने भनेको ग्रामिण भेगका दलित तथा विपन्न वर्गलाई हो । हामीले साच्चिकै लुघुवित्तले गर्ने कार्य गरेका छौं । यसमा हामीलाई गर्भ छ । 

नयाँ नेपालको व्याजदरको अवस्था के छ ? 
हाम्रो व्याजदरको अवस्था बिभिन्न क्षेत्रमा फरक फरक छ । हाम्रो ब्याजदर भनेको न्युनतम् १५ प्रतिशत देखी लिएर अधिकतम् २० प्रतिशत मात्र छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष सम्ममा अधिकतम् १८ प्रतिशत मात्र ब्याजदर कायम गर्ने गरी निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमलाई पालना गर्दै हामी चालु आर्थिक बर्षको असार मसान्त सम्ममा ब्याजदर अधिकतम् १८ प्रतिशत बनाउछौं । 

बिना धितो कर्जा लगानी गर्दा डुब्ने खतरा कत्तिको हुन्छ ? 
वास्तबमा बिना धितो कर्जा डुब्ने र धितो राखेर नडुब्ने भन्ने हुँदैन । धितो त केवल विस्वास मात्र हो । धितो राखेर कर्जा लिए पछि कर्जा लिने व्यक्तिले आफ्नो सामाजिक प्रतिष्ठा, मानसम्मान र इज्जतको ख्याल गरी कर्जाको सदुपयोग गर्छ भन्ने हेतुले मात्र धितो राखिएको हो । नेपालको इतिहाँसमा वाणिज्य बैंकहरुले जस्तो माइक्रोफाइनान्सले धितो राखेर अहिले सम्म धितो लिमाम गर्नुपर्ने अवस्था आईसकेको छैन । 

सदस्यहरुले कर्जाको सदुपयोगिता कत्तिको गर्छन ? 
हाम्रा सदस्यहरु अधिकांशले कर्जाको सदुपयोग गरेको हामीले देखेका छौं । हाम्रा कर्मचारी साथीहरुले कुन शिर्षकमा कर्जा माग गरेको थियो र त्यो कर्जाको सदुपयोग भएको छ छैन भनेर बुझिरहेको हुन्छ । अनि समूहका अन्य सदस्यहरुले पनि यस बिषयमा ख्याल गर्ने हुँदा ८० प्रतिशत भन्दा बढी कर्जाको सदुपयोग भएको छ । हामीले कर्जा कारोबारमा उत्कृष्ठ सदस्यहरुलाई ग्रिन कार्ड दिन्छौं र त्यो ग्रिन कार्ड पाएको सदस्य वा निजको परिवार विरामी भएर अस्पतालमा लैजानु पर्ने भयो भने त्यस्तो अवस्थामा हामीले आकस्मिक कर्जाको पनि व्यवस्था गरेका छौं । त्यस्तो अवस्थामा हामीले १० हजार सम्म कर्जा तत्कालै उपलब्ध गराउछौं । हाम्रा सदस्यहरुको सुखदुखमा हामी सहयोग गछौं । समग्रमा वित्तिय कारोबारमा सदस्यहरु सचेत रहेको नै पाएका छौं ।

तपाईहरु अझै पनि देशको ग्रामीण भेगमा पुग्न सक्नु भएको रहेनछ नि हैन ?
यस लघु वित्त विकास बैकको स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तारका लागि हामीले भर्खरै बिभिन्न क्षेत्रहरुमा पुगेर स्थलगत रिपोर्ट तयार पारेका छौं । हामी २ महिना भित्र हाम्रो कार्यक्षेत्र अन्तर्गतका ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि आर्थिक क्रियाकलापमा वृद्धि हुने विश्वास लिएका छौं ।

लघुवित्तहरुले बैंक लेख्न नपाउने भन्ने कुराले अहिले चर्चा पाएको छ, बैंक लेख्न नपाएको अवस्थामा सदस्यहरुको आत्मविस्वास घट्छ त ? 
नेपाल राष्ट्र बैंकले यस बिषयमा किन यस्तो कुरा ल्यायो म पनि छक्क परेको छु । शब्दकै बिषयमा राष्ट्र बैंकले त्यति चासो दिनु उपर्युक्त हुने थिएन । वर्तमान अवस्थामा ग्रामीण क्षेत्रका विपन्न वर्गहरुलाई हाम्रो पनि बैंकमा खाता छ, हामी पनि बैंकिङ कारोबार गरिहेका छौं भन्ने महसुस भएको छ । लघुवित्तहरुले बैंक लेख्न नपाउँदा अलि नकरात्मक असर त अवस्य नै पर्छ । राष्ट्र बैंकले ल्याएको यो नीति ग्रामिण भेगका विपन्न वर्गका लागि उनीहरुको सोचमा मर्म विपरित हुन जाने हुन्छ । 

नयाँ नेपालको पुँजि वृद्धिका योजनाहरु वारे वताइदिनोस न ?
कुनै पनि बैंक तथा वित्तीय सँस्थाहरुका लागि पुँजि वृद्धि महत्वपूर्ण हुन्छ । हामीले पनि पूँजी वृद्धिका लागि के गर्न सकिन्छ भनेर वेलावेलामा छलफल गर्ने गरेका छौं । हामी निकट भविष्यमा पूँजी वृद्धि गर्ने विभिन्न प्रक्रिया अवलम्बन गरि पूँजी वृद्धि गर्ने सोच बनाएका छौं ।

लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्न ग्रामीण भेगमा सहज कि शहरी क्षेत्रमा ?
शहरी क्षेत्र त यसै पनि सुविधा सम्पन्न र जिवनस्तर उच्च हुने भएको र तुलनात्मक रुपमा बसोबास र पिछडिएको क्षेत्रमा लघु कर्जा प्रदान गरी सदस्यहरुको आर्थिक जिवनस्तर उकास्ने मुल मर्म अनुरुप नै लघुवित्तहरुले सेवा दिने भनेको बिशेष गरेर ग्रामीण भेगमा नै हो । तर, कुनै एक ग्रामीण भेग जहाँ सुख्खा पाखा र उब्जाउ नहुने जमिन छ भने त्यहाँ लघुवित्त कार्यक्रम सफल हुन सक्दैनन । मरुभुमिमा ‘कृषि पेशा गरेर उद्यमी बन’, भनेर जति लगानी गरे पनि त्यसको प्रतिफल राम्रो नआउन सक्छ । लघुवित्त कार्यक्रम सञ्चालन गर्नका लागि कुनै पनि ठाउँमा उद्यमशिल बन्ने सहज वातावरण हुनु आवश्यक हुन्छ । 

नेपालमा लघुवित्तहरुको भुमिका कस्तो छ ? 
नेपालको बैंकिङ इतिहास हेर्दा ठूला वाणिज्य बैंकहरुको इतिहास लामो छ । तर धेरै पछि सञ्चालनमा आएको लघुवित्तको भूमिका महत्वपूर्ण छ । बैंकिङ क्षेत्रको नेतृत्वको रुपमा म लघुवित्तहरुलाई लिन्छु । महिलाहरुलाई महिला शसक्तिकरणको तालिम दिएर उनीहरुको जीवनस्तर उकास्ने तथा धेरैलाई उद्यमशिल तथा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउन समेत लघुवित्तकोे प्रमुख भुमिका छ । 

लघुवित्तले नागरिको जीवन स्तरमा कस्तो परिवर्तन ल्याएको छ ? 
लघुवित्तहरुले ग्रामीण भेगका नागरिकहरुको आर्थिक, सास्कृतिक, सामाजिक तथा शैक्षिक रुपमा सकरात्मक परिवर्तन ल्याएको छ । हिजो ६ महिना सम्म १ किलो खसीको मासु किन्न पैसा नहुने मान्छे साथै एउटा सामान्य महिलाले कुनै पर्व विशेषमा चुरा पोते किन्न धौ धौ पर्ने अवस्थाबाट लघु कर्जाको माध्यमबाटै आज उद्यमशिल बनेर लखपति बनेका छन् । यो सबै लघुवित्तको देन हो । लघुवित्तहरुले कर्जा लगानी मात्र होइन सदस्यको जीवन स्तर उकास्नका लागि बिभिन्न सिपमूलक तालिमहरु पनि प्रदान गर्ने गर्दछन् । 

अनुत्पादक क्षेत्रमा कत्तिको कर्जा माग हुन्छ ? 
सोझै त्यसरी कर्जा माग त हुदैन तर पनि अप्रत्यक्ष रुपमा त्यस्तो कर्जाको माग भैरहेकै हुन्छ । कसैले छोराको ब्रतबन्ध गर्न भनेर त कसैले छोरीको बिहे गर्न भनेर पनि कर्जा माग गर्छन । हामीले यसलाई एकै पटक कम गर्न त सक्दैनौ, विस्तारै विस्तारै अनुत्पादक क्षेत्रमा कर्जा घटाउदै लगेका छौं । 

आम नागरिक, समाज र राष्ट्रको आर्थिक समृद्धि हुन नसक्नुका कारण के हुन् र यसको ,समाधानका लागि लघुवित्तको भूमिका कस्तो हुनु पर्ला ? 
हाम्रो देश कृषि प्रधान देश हो ! देशको अत्याधिक बजेट कृषिमा लगानी भएको देखिन्छ । तर यसको उपलब्धी अत्यन्त नगन्य रुपमा मात्र छ । जब सम्म कृषि क्षेत्रको आधुनिकीकरण गरिदैन तब सम्म राष्ट्रले जती वजेट छुट््याए पनि बालुवामा पानी हाले बराबर हो । हामी नेपाली हाल जुन परिस्थितीमा छौ यो अत्यन्त नाजुक अवस्था हो । देशका उद्योगधन्दा सबै बन्द हुने, कृषि योग्य जमीन बाँझो रहने, उर्बर जग्गामा घरबासको लागि प्लटिङ्ग हुदै जाने, काम गर्न सक्ने युवा युवती सबै खाडी मुलुकमा काम गर्न जाने,उनीहरुले कमाएर पठाएको पैसा सामान्य जीवीका चलाउन मात्र प्रयोग हुने , बचत नहुने गाँउ घर केटाकेटी, बुढाबुढीमा मात्र सिमित हुने, सरकारमा बस्नेले रेमिट््यान्सको हिसाब किताब गरेर मात्र बस्ने जुन अहिले सिर्जना भएको सरिस्थिती हो । यो अत्यन्त डरलाग्दो अवस्था हो । रेमिट््यान्स भनेको दिर्घकालीन हुँदैन यो अल्पकालीन मात्र हो । यसको भरपर्नु हुँदैन, विदेशीन लागेका युवा युवतीलाई नेपालमा नै उद्यमी बनाउन तर्फ देशको व्यबस्थापकीय तहमा बस्नेले अब नसोच्ने हो भने बिकराल अवस्था आउन सक्छ । “बाँसको जरा सुक्तै गएको छ टुप्पो मात्र हरियो छ ” भनेझै हामी अहिले यही परिस्थितीमा छौ । यो अवस्थाबाट फड्को मार्नका लागि काम गर्न सक्ने युवा युवतीलाई स्वदेशमा नै उद्यमी बनाउन सकियो,कृषिमा अकर्षित गर्न सकियो,काम गर्न सक्ने र हलो समाउन सक्नेलाई जमीनको व्यबस्था गर्न सकियो, नेपालको भूँवनौट अनुसारको फलपूmल खेती तर्फ लगाउन सकियो, पशुपालन तर्फ आकर्षित गर्न सकियो भने आर्थिक संमृद्घी हाँसिल गर्न धेरै समय लाग्दैन यी यावत कुरा गर्नको लागि हामीलाई पुँजीको आवस्यकता पर्छ ,आवस्यक पुँजी कसरी पुर््याउने, यसको संयन्त्र कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण छ । हामीले देखेको अवस्था के हो भने सरकारले उपलब्ध गराउने रकम ,ऋणको त्यती सारो सदुपयोग नभएको NGO र INGO हरुले डलर ल्याएर गाँउमा बाँडी दिने गरेको यसले गर्दा गरीखाने भन्दा पनि हामी नेपालीलाई माँगीखाने पो बनाउने हो की भन्ने तर्फ हामीले सोच्नु पर्ने आवस्यक भई सकेको छ । अहिलेको अवस्थामा लघु वित्त संस्थाहरुले जुन संजाल बृध्दि गरेका छन र जस्तो किसिमबाट समुह जमानीलाई आधार बनाएर कर्जा बितरण गरेका छन यो नै अत्यन्त सफल देखिएको छ । र मानिसको पुरै जीवन स्तरमा अत्यन्त परिवर्तन भएको खासगरी महिला शसक्तिकरणमा ठूलो भूमिका खेलेको, छिमेकीले प्रगती गरेको देखेर अरु गाँउकाले पनि सिको गरेको , समाजमा जाँड रक्सी जुवातास आदी ईत्यादीका  गलत कामहरु गर्ने मानिसहरु घटदै गएको , सबै मान्छेमा काम गर्नु पर्छ ,व्यबसायी बन्नु पर्छ भन्ने आत्म बिश्वास बढदै गएको र पछिल्लो समयमा विशेष गरेर विदेशमा हण्डर खाएर फर्किएका  युवा युवतीहरु लघु वित्त संस्थाहरु संग जोडिएको घटनाक्रमले अब राष्ट्रको समृद्घी यदी साच्चै जराबाट सुरु गर्ने हो भने लघु कर्जा दिने संस्थाहरुलाई अझै सरकारले प्रोत्साहित गरोस गाउँ गाउँ कुनाकाप्चा सम्म पहँुच  पुर््याउन राज्यले सहयोग गरोस अनिमात्र हामीले सोचेको देख्न चाहेको नयाँ नेपालको संमृद्घि सम्भब छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]