June 19th, 2017

‘कोल्याप्स’ हुँदै अधिकांश फाइनान्स कम्पनी 

चुक्ता पुँजीका कारण अन्तत अधिकांश फाइनान्स कम्पनीहरु कोल्याप्सको बाटोतिर अग्रसर छन् । आगामी असार मसान्तपछि धेरै फाइनान्स कम्पनीहरु रहने छैनन् । राष्ट्र बैंकले फाइनान्स कम्पनीको औचित्य नरहेको भन्दै यीनलाई हटाउन चाहेको छ । तथापि पुँजी बृद्धि गर्न सक्षम केही फाइनान्स कम्पनी केही समय रहने छन् । राष्ट्र बैंंकले फाइनान्स कम्पनी हटाउन अर्को निर्देशीका ल्याउने छ । पाँचबर्षे समय अवधिमा एउटै बैंंकिङ च्यानल बनाउने रणनीतिमा रहेको राष्ट्र बैंक सबैभन्दा पहिले फाइनान्स कम्पनीको अन्त्य गर्ने योजनामा छ ।

वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्स बैंकका बारे तत्काल नयाँ निर्णय आउने छैन । राष्ट्र बैंकले फाइनान्सहरुलाई अन्य बैंकमा विलय गराउन लागेको छ । व्यवहारिक रुपमा फाइनान्स कम्पनीहरुको आवश्यकता नभएको निष्कर्शमा राष्ट्र बैंक पुगेको छ ।

त्यसो त अधिकांश फाइनान्स कम्पनीहरु चुक्ता पुँजी पुराउन असमर्थ भएका छन् । केही संस्थाहरु चुक्ता पुँजी वृद्धिको कसरतमा पनि लागेका छैनन् । केही सिमित संख्या बाहेक अरु फाइनान्स कम्पनीले चुक्ता पुँजीको मोडल बनाउन सकेका छैनन् । यसअघि यही असार मसान्तभित्र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने व्यवस्था गरेको थियो । आगामी मौद्रीक नीतिमा केही थोरै समय थप गर्नेगरी राष्ट्र बैंक अघि सर्दै छ । अधिकाँस बाणिज्य बैंंकहरुले चुक्ता पुँजीको मोडेल राष्ट्र बैंक समक्ष पेश गरिसकेका छन् । केही कसरतमा छन् । अधिकांश वाणिज्य बैंकहरु आठ अर्ब चुक्ता पुँजी नजिक देखिएका छन् भने विकास बैंकहरु पनि चुक्ता पुँजी पुर्याउने दौडधूपमै छन् ।

विकास बैंकका साथै वित्त कम्पनीहरुलाई पनि चुक्ता पुँजी पुर्याउनुपर्ने दबाब छ । राष्ट्रियस्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

वित्त कम्पनीका लागि समस्याको बजार
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् ।

पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । केही फाइनान्स कम्पनीहरु भने एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने कैंयौं फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् ।

८८ फाइनान्स आधा दर्जनमा सिमित हुँदै
तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले ती फाइनान्स घटेर करिब २२ वटामा झरेका छन् । यीमध्ये करिव १५ वटा मर्जरमा जाँदैछन् भने   केही एक्विजिसनमा जाने क्रममा छन् । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम वित्त कम्पनीमध्ये बढीमा १० वटा फाइनान्सले प’ँजी बढाएर तत्काल आफूलाई जोगाइराख्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]