May 23rd, 2017

कृषि बैंकसँग निर्माण व्यवसायीको कहाँ मिल्छ तालमेल ? अस्वभाविक विषयमा, स्वार्थको चंगुल  

सुष्मा थापा । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को प्रतिनिधिमण्डलले सोमबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाप्रकाश सिटौलासँग भेटवार्ता गरी अन्य बैंकसरह कृषि विकास बैंकबाट पनि निर्माण व्यवसायीलाई सुविधा उपलब्ध गराउन आग्रह गरे । सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा हालै भएको संशोधनअनुसार निर्माण व्यवसायीले बढीभन्दा बढी बैंक ग्यारेन्टी देखाउनुपर्ने भएकाले सोही अनुसारको व्यवस्था गर्न निर्माण व्यवसायीले आग्रह गरेका हुन् । 

स्वार्थको माग 
विगतमा कृषि क्षेत्रको विकासको निमित्त आवश्यक वित्तीय एवं प्राविधिक सेवा उपलव्ध गराउँदै ग्रामिण कृषिलाई व्यवसायिकरणको माध्यमबाट कृषि क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले कृषि विकास बैंकको स्थापना गरिएको थियो । तर, उद्देश्यबाट नै विमुख गराउने गरी निर्माण व्यवसायीहरुले कृषि विकास बैंकसँग सुविधाको माग गर्नु उचित देखिँदैन । नेपालमा थुप्रै बैंकहरु सञ्चालनमा छन् । कृषि विकास बैंकबाहेक २७ वटा त वाणिज्य स्तरका बैंकहरु मात्रै छन् । सबै बैंकहरुले सबै क्षेत्रमा लगानी गरिरहेका छन् । यस्तो अवस्थामा, धेरै बैंक ग्यारेन्टी देखाउनुपर्ने भन्दै कृषि विकास बैंकसम्म यो अनुरोध लिएर पुग्नु अलि अस्वभाविक देखिएको छ । मुलुकमा उत्पादनमूलक क्षेत्रमा लगानी नभएकोमा चिन्ता बढिरहेको छ । अनुत्पादक क्षेत्रमा लगानी घटाउन नेपालको केन्द्रीय बैंक तथा सबै बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न पहलहरु गरिरहेको छ । राष्ट्र बैंकले बैंकहरुलाई कुल लगानीको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगाउन भनेको छ । यद्यपि, उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी औसतमा १६÷१७ प्रतिशत मात्रै हुने गरेको छ । कृषि विकास बैंकले भने कृषिमा ३३ प्रतिशत लगानी गरेको छ । समग्रमा, कृषि विकास बैंकको ७५ प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा नै छ । यो एकदमै सकारात्मक पाटो हो । यद्यपि, कृषि विकास बैंकले निर्माण व्यवसायीको अनुरोधलाई सम्बोधन गर्दै त्यसतर्फ लगानी गर्ने प्रतिवद्धता जनाउनु मुनासिव देखिँदैन ।  

विषयगत कुरालाई फोकस गर्नु जरुरी  
हुन त, कृषि विकास बैंकले कृषिको अलवा अन्य थुप्रै क्षेत्रमा लगानी गरेको छ । यसले कृषिमा लगानी गर्दै उद्योग, जलविद्युत् तथा उर्जा, पर्यटनलगायत सम्पूर्ण क्षेत्रलाई समेटेको छ । यसका ग्राहक, किसान तथा सबै किसिमका उद्योगीहरु र साना किसानदेखि ठूला व्यापारीसम्म छन् । यसले कृषिदेखि आधुनिक बैंकिङ क्षेत्रले गर्ने सबैखालका काम गरेको छ । मुलतः कृषि विकास बैंक लि. कृषिको आधुनिकीकरण एवं व्यवसायिकरणको माध्यबाट मुलुकको कृषि क्षेत्रको दिगो विकासमा महत्वपूर्ण हिस्सेदार मात्र नभई आर्थिक विकासको सबै क्षेत्रमा वित्तीय साधनको कुशल परिचालनको माध्यमबाट भूमिका निर्वाह गर्न तयार रहेको बैंकका सीईओ सीटौलाको भनाई छ । विपन्न वर्गमा पनि यो बैंकले राष्ट्र बैंकले भनेको भन्दा धेरै लगानी अर्थात १० प्रतिशत लगानी पुर्याएको छ । यसरी, कृषि तथा उत्पादनमूलक क्षेत्रमा उल्लेख्य लगानी गरेर व्यवसायीक तथा आधुनिक कृषितर्फ अग्रसर हुन जनतालाई प्रेरित गरिरहेको कृषि विकास बैंक मुनाफाको आसमा व्यवसायिक लगानी बढाउनुतर्फ लाग्नु राम्रो संकेत पक्कै होइन । कृषि विकास बैंकले यो कुरालाई ध्यानमा राख्नु जरुरी छ । 

बैंकिङ लगानीसँगै कृषि आधुनिकिकरणको खाँचो
कृषि विकास बैंकलाई प्रविधि, चुक्तापुँजी लगायत समग्र क्षेत्रबाट उत्कृष्ट बनाउने प्रयासहरु भइरहेका छन् । सवै प्रकारका किसानलाई यो बैंकले केबल कर्जा प्रवाह मात्र गरेको छैन । साथमा कृषकको सीप विकासको निमित्त बैंकले निरन्तर तालिम समेत दिने गरेको छ । ग्रामीण क्षेत्रका कृषकहरुलाई वित्तीय साक्षरताका माध्यमबाट बैंकसँग जोड्ने प्रयास निरन्तर भइरहेको छ । विगतदेखि साना किसानलाई गर्दै आएको सेवा अझै विस्तार गर्दै जाने योजना बैंकको छ । यस्तै, योजनालाई कार्यान्वयनमा ल्याउँदै जाने हो भने कृषि विकास बैंकको उद्देश्य सार्थक हुनेछ । नेपालमा अधिकांश मानिसहरु कृषि पेशामा निर्भर छन् । यद्यपि, कृषिबाट मनग्गे आम्दानी गर्न सकिरहेका छन् । पूरानै शैलीको कृषि, लगानीको अभाव, व्यवसायीकताको कमी लगायतका कारण यस्ता कृषकहरु विहान खाए बेलुका के खाउँको अवस्थामा छन् । अन्तर्राष्ट्रिय अवस्था हेर्ने हो भने विकसित मुलुकहरुमा थोरै जमिनमा गरेको कृषिले समग्र मुलुकलाई पालिरहेको हुन्छ । नेपाल भने कृषि प्रधान देश भएर पनि खाद्यान्न, तरकारी तथा फलफूलहरुकै लागि अन्य मूलुकमा भर परिरहेको छ । कृषि व्यबसायमा आधुनिकता अझै भित्रिन सकेको छैन । यसै कुरालाई मध्यनजर गर्दै सँधै कृषि तथा उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी बढाउनुपर्ने, घरजग्गा, गाडी लगायतमा बैंकिङ लगानी घटाउनुपर्ने कुरालाई जोड दिइँदै आइएको छ । त्यसैले, उत्पादनमूलक क्षेत्रमा लगानी बढाइरहेको कृषि विकास बैंकले निर्माण व्यवसायीहरुमा लगानी गर्ने सोच बनाउनु हुँदैन । कृषि क्षेत्रलाई कसरी माथि उठाउने, कसरी कृषिलाई व्यवसायिक र आधुनिक बनाउने, कृषि उत्पादनमा मुलुकलाई कसरी आत्मनिर्भर बनाउने भन्ने तर्फ कृषि विकास बैंकले ध्यान दिनु आवश्यक छ । कृषि विकास बैंकले कृषि क्षेत्रलाई उकास्न अझै धेरै प्रयासहरु गर्नुपर्ने हुन्छ, न कि निर्माण व्यबसाय र अन्य क्षेत्रमा । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]