May 10th, 2017

किन हुन्छ आन्तरिक बैंकिङ ठगी ?

प्रकाश भण्डारी । हालै मात्र फेरि एउटा अर्को बैङ्किङ कसूरको समाचार सार्वजनिक भएको छ । कैलाश विकास बैङ्क पोखरा, लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल ठूलो रकम ठगी गरेर गायब भए । बैङ्कमा काम गर्ने एक उच्च तहको कर्मचारीले गरेको यो कसूरको घटना सार्वजनिक भएपछि विगतमा धेरै प्रकारका कसूरबाट पाठ सिकेर सबल जोखीम व्यवस्थापन गर्न तथा अन्तरिक जोखीमबाट मुक्त हुन सबै बैङ्क अझै सक्षम भइनसकेको कुरा स्पष्ट देखिएको छ । यो लेखमा कुन मनोविज्ञान र प्रेरणाले कर्मचारीहरू आफूले काम गर्ने बैङ्कमाथि नै ठगी गर्नका लागि प्रेरित हुन्छन् भन्नेबारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

कुनै पनि व्यक्ति चाहे बैङ्कमा होस् वा अन्यत्र, उसलाई आर्थिक अपराध गर्नका लागि ‘अवसर’, ‘दबाब’ तथा ‘औचित्य पुष्टि’जस्ता तीनवटा मनोवैज्ञानिक तत्त्वहरूले प्रेरित गरिरहेको हुन्छ भनिन्छ । यसलाई ‘कसूरको त्रिकोण’ भनेर पनि बुझिन्छ । नेपालमा भएका प्रायः सबै आन्तरिक बैङ्किङ ठगीका घटनाहरू पनि यही ‘त्रिकोण’को सेरोफेरोमा रुमल्लिएको पाइन्छ ।

कसूरको त्रिकोणअन्तर्गत रहेको ‘दबाब’बाट चर्चा शुरू गरौं । कुनै पनि व्यक्तिलाई अन्तरिक र बाह्य दुवै कारणले दबाब दिइरहेको हुन सक्छ । आफ्नै कुलत तथा खराब आचरणदेखि लिएर साथीभाइको सङ्गतजन्य दबाब तथा बिग्रँदो आर्थिक अवस्थाजन्य दबाब आदि बाह्य दबाबका कारण पनि कुनै व्यक्ति कसूर गर्न पुग्छ भन्ने विश्वास गरिन्छ ।

कसै कसैको जूवातास खेल्ने, क्यासिनो जाने बानी हुन्छ भने कसै कसैको मदिरापानलगायत लागूऔषध सेवन गर्ने बानी पनि हुन्छ । अझ आजभोलिका केही युवामा त ग्याजेटप्रतिको मोह यति धेरै देखिन्छ कि उनीहरू त्यसको नयाँ नयाँ मोडेल ग्रहण नगर्ने हो भने शान्तसँग रहन नै सक्दैनन् । एकातिर यस्ता अनगिन्ती जायज नाजायज इच्छापूर्ति गर्नुपर्ने मानसिक दबाब त अर्कोतर्फ सीमित आम्दानीको स्रोत । यही दुवै प्रकारको अन्तरिक दबाबलाई सामञ्जस्य गर्न उनीहरूसँग बाँकी रहने उपाय भनेको त्यही ‘कसूर’ नै हो, जुन कसूर गर्नका लागि उनीहरूका अगाडि निर्बाध ‘अवसर’ पनि प्राप्त छ ।

कैलाश विकास बैङ्कका कसूरदारले पनि आफू विभिन्न व्यक्तिको दबाबमा फसेर त्यस्तो कसूर गर्न पुगेको अभिव्यक्ति दिएका छन् । भलै उनले आफ्नो तीव्र धन कमाउने लोभले सृजना गरेको अन्तरिक दबाबका कारण आफूले आफ्नै बैङ्क ठगी गरेको स्वीकार गरेका छैनन् तापनि उनलाई बाह्य तत्त्वले दबाब दिनुभन्दा पहिले आफ्नै लोभजन्य दबाबले कसूरका लागि अभिप्रेरित गरिरहेको कुरा कसूरको औचित्य पुष्टि गर्ने क्रममा उनी आफैले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारले स्पष्ट पार्दछ । अवसरका रूपमा उनले आफ्नो प्रबन्धकीय अधिकारलाई दुरुपयोग गरेको देखिन्छ ।

दबाबकै बारेमा कुरा गर्दा कम्पनीले पनि कतिपय अवस्थामा कर्मचारीलाई अनावश्यक दबाब दिएको हुन सक्छ । अस्वाभाविक तथा हासिल नै गर्न नसकिने खालको लक्ष्य दिनु, कुनै काम सम्पन्न गर्नका लागि अत्यन्त कम समय निर्धारण गर्नु, अपेक्षित एवं निष्पक्ष मूल्याङ्कन तथा व्यवहार नगर्नु, विनाकसूर निर्दोषलाई सजाय दिनु र दोषीलाई उन्मुक्ति दिनुजस्ता कारणले गर्दा पनि कर्मचारीले संस्थागत दबाब भोगिरहेको हुन सक्छ ।

अतः दबाब आफ्नै अन्तरिक कारण तथा अन्य बाह्य कारणबाट सृजना हुन्छ । यस्तै विभिन्न दबाबका कारण कुनै पनि व्यक्ति कसूर गर्न मनोवैज्ञानिक रूपमा प्रेरित हुन्छ भनिन्छ ।

चर्चा गरिएका बैङ्कका प्रबन्धकले गरेको ठगीलाई हेर्दा एकातिर उनी आफ्नै गलत क्रियाकलापको बाध्यताजन्य दबाबमा रहेका रहेछन् भने अर्कोतर्फ केही बाह्य तत्त्वहरूले पनि उनलाई कसूरका लागि दबाब सृजना गरिरहेको रहेछ भन्ने देखिन्छ ।

‘औचित्य पुष्टि’को कुरा गर्दा भने अलिक चनाखो हुनुपर्छ । आफूले गरेको कसूरलाई पुष्टि गर्ने क्रममा कसूरदार व्यक्तिले मनमा जम्मा गर्ने जबर्जस्ती सकारात्मक तर्कहरूलाई ‘औचित्य पुष्टि’ भनेर बुझ्न सकिन्छ । मलाई मेरो संस्थाले विगत यति वर्षदेखि पदोन्नति गरेको छैन, यदि त्यसो गरेको भए मेरो कमाइ अहिले यति भइसक्थ्यो भन्ने जस्ता काल्पनिक र अनुचित हिसाबकिताब गरेर त्यसको परिपूर्ति गर्न ठगी कसूरबाहेक अरू विकल्प नदेख्ने अवस्था भनेको औचित्य पुष्टि गर्ने कुराको ज्वलन्त उदाहरण हो ।

कैलाश विकास बैङ्कका प्रबन्धकले पनि आफ्नो कसूरलाई तर्क कुतर्कका माध्यमबाट औचित्यपूर्ण भएको साबित गर्ने प्रयास गरेका छन् । तर, बिर्सन नहुने कुरा के हो भने ‘दबाब’ र ‘औचित्य पुष्टि’मात्र चाहिँ कसूर गर्नका लागि पर्याप्त आधार हुन सक्दैनन् । ‘अवसर’को उपलब्धता ठगी वा कसूरका लागि अनिवार्य एवं महत्त्वपूर्ण शर्त हो ।

अब हामी कसूरका लागि उपयुक्त अवसर भनेको के हो भन्नेतर्फ सङ्क्षेपमा चर्चा गर्नेछौं ।

कुनै कर्मचारीको जिम्मेवारी स्पष्ट रूपमा परिभाषित नहुनु भनेको उसलाई कसूरका लागि सबैभन्दा उपयुक्त अवसर प्रदान गरिएको मानिन्छ । त्यसमाथि पर्याप्त मात्रामा अनुगमन तथा निरीक्षण पनि नहुने हो भने त झन् सुनमा सुगन्ध भइहाल्यो । नियन्त्रण र सन्तुलनको अभावका साथै कुनै व्यक्तिविशेषलाई एकल जिम्मेवारी थोपर्ने प्रवृत्ति पनि यस्ता कसूरका लागि जिम्मेवार छन् । कमजोर अन्तरिक नियन्त्रण प्रणाली सँगसँगै स्पष्ट नीति नियम तथा कार्यप्रणालीको अभाव अर्को टड्कारो देखिएको समस्या हो, जसले कसूर गर्न चाहनेलाई पर्याप्त अवसर प्रदान गर्दछ ।

कुनै व्यक्तिविशेषलाई सर्वा्धिकार सुम्पनु, उसको विकल्प नभएको जस्तो हालीमुहाली हुन दिनु, प्रविधिलाई गोप्य राख्नु तथा प्रविधिको स्वतन्त्र लेखापरीक्षण नगराउनु, प्रविधिप्रति पूर्ण जानकारी राख्ने व्यक्ति एकमात्र वा सीमित मात्र हुनुजस्ता अवस्थालाई कसूर वा ठगीका लागि उपयुक्त अवसर भएको मानिन्छ ।

एकातर्फ प्रविधि स्वयं अपर्याप्त हुनु तथा अर्कोतर्फ उपलब्ध प्रविधिको पनि कम मात्र प्रयोग हुनु कसूरदारका लागि अर्को समुचित अवसर हुन सक्छ ।

हाम्रो जस्तो देशमा त दण्डहीनता अथवा न्यूनतम दण्ड पनि कसूरका लागि जिम्मेवार रहेको देखिन्छ । जतिसुकै ठूलो कसूर गरे पनि ४–५ वर्षपछि समाजमा सजिलै स्वीकार्य हुने र कानूनी दण्डबाट पनि उन्मुक्ति पाउने विद्यमान कानूनी व्यवस्थाका कारण पनि बैङ्किङ कसूर बढिरहेको अनुमान गर्न सकिन्छ ।

अतः यस्ता बैङ्किङ ठगीहरूबाट बैङ्क तथा वित्तीय संस्थाहरूलाई मुक्त राख्ने संस्थागत उपाय भनेको प्रभावकारी संस्थागत सुशासन, मजबुत जोखीम नियन्त्रण प्रणालीको स्थापना र समयसापेक्ष प्रविधिको समुचित उपयोग नै हुन आउँछ । यसका अलावा दण्डहीनता वा अप्रभावकारी दण्ड व्यवस्था गरिएका कानूनहरूलाई संशोधन गरी ठगीमा शून्य सहनशीलताको सिद्धान्तलाई कार्यान्वयन गर्न सके भविष्यमा यस्ता ठगीका घटनामाथि प्रभावकारी नियन्त्रण कायम गर्न सकिन्छ ।  (लेखक बैङ्कर हुन् ।) अभियान राष्ट्रिय दैनिकबाट साभार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]