April 14th, 2016

किन घट्यो अन्तर्राष्ट्रिय लगानी बैँकिङको आय ?

economic 1सन् २०१६ को पहिलो त्रैमासमा विश्वव्यापी लगानी बैङ्किङ शुल्कमा उच्च कमी आएको छ । गतवर्षको सोही अवधिको तुलनामा पहिलो त्रैमासमा लगानी बैङ्किङको आय २९ प्रतिशतले घटेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सद्धारा सार्वजनिक तथ्याङ्कले देखाएको हो । शेयर बजारमा आएको उतारचढावका कारण लगानी सम्झौतामा ब्रेक लाग्नु र कर्जा पूँजी बजारको गतिविधिले पनि लगानी बैङ्किङको आय घटाएको विज्ञहरुको तर्क छ । 

मार्चसम्मको ३ महीनामा विश्वभरि मर्जर र एक्विजशन (गाभ्ने र गाभिने) सम्झौतामा दिइने सल्लाहकार सेवादेखि पूँजी बजारको अपलेखनसम्मका गतिविधिको सेवा शुल्क १६ अर्ब २० करोड डलरमात्र उठेको छ । यो सन् २००९ यताकै सुस्त पहिलो त्रैमास हो । जनवरी–मार्च त्रैमासमा अमेरिका, यूरोप र एशिया प्रशान्त क्षेत्रमा लगानी बैङ्किङको आय क्रमशः ३२ प्रतिशत, २७ प्रतिशत र १८ प्रतिशतले घटेको छ । विश्वको आर्थिक वृद्धिदरसम्बन्धी चिन्ता, मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव र चीनको अर्थतन्त्रमा आएको सुस्तीका कारण विश्व शेयर बजार प्रभावित हुँदा सबै क्षेत्रबाट लगानी बैङ्किङ आय घटेको विश्लेषकहरूले बताएका छन् ।

गतवर्षको सोही अवधिमा कीर्तिमानी स्तरमा ठूला मर्जर एक्विजशन सम्झौताहरू भएका थिए । तर, यस वर्षको पहिलो त्रैमासमा भने कम्पनीको सञ्चालक समिति तथा कार्यकारी अधिकारीहरूले ठूला सम्झौता गर्न हिच्किचाइरहेका छन् । गतवर्षको सोही अवधिको तुलनामा इक्विटी पूँजी बजारको शुल्क सबैभन्दा बढी ४८ प्रतिशतले घटेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार कर्जा पूँजी बजारको शुल्क र मर्जर एण्ड एक्विजशन सम्झौतामा दिइने सल्लाहकार सेवावापतको आय क्रमशः २६ प्रतिशत र १८ प्रतिशतले घटेको छ । एजेन्सी
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]