June 21st, 2017

काभ्रेको भकुण्डेवेसीमा ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’

वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रम काभ्रेको भकुण्डेवेसीमा सम्पन्न भएको छ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा सञ्चालन भइरहेको अभियानअन्तर्गतको कार्यक्रम काभ्रेको भकुण्डेबेसीमा गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे । नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै थापाले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिटै बैंकिङ शाखा विस्तार गर्नुपर्ने कुरामा जोड दिए । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा अध्ययन गर्ने गरेको जानकारी दिँदै कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकको नीतिमाथि प्रश्न नउठाउन आग्रह समेत गरे । उनले बैंकवित्तको उपस्थिति बीना विकास सम्भव नहुने भन्दै देशका सबै क्षेत्रमा बैंकलाई शाखा खोल्न राष्ट्र बैंक सक्रियताका साथ लागिपरेको बताए ।  

त्यस्तै, नमबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिने भन्दै यो क्षेत्रमा राम्रो नीति ल्याइनुपर्ने बताइन् ।  उनले बैंकिङ क्षेत्रमा व्याज महँगो भएको भन्दै यसप्रति ध्यान दिनुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले लघुवित्तहरुको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारे । उनले लघुवित्तहरुले ग्रामिण क्षेत्रमा दिएको सेवा महत्वपूर्ण रहेको बताए । कार्यक्रममा विन्धवासिनी सहकारीका प्रमुख मेनेजर केबी लामाले बैंक नपुगेको ठाउँमा सहकारीहरुले सेवा पुर्याइरहेको बताए । 

कार्यक्रममा बोल्दै वित्तीय साक्षरता राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले मुलुकको समृद्धिको लागि वित्तीय चेतनाको आबश्यकता औंल्याए । उनले आर्थिक विकासमा लाग्नका लागि एवं जीवनस्तर बृद्धिका लागि पनि वित्तीय शिक्षा महत्वपूर्ण हुने बताउँदै वित्तीय चेतना जगाउनका लागि देशव्यापी रुपमा यो कार्यक्रम संचालन गरिएको जानकारी दिए ।   

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत सहकार्य रहेको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तर्गतको राष्ट्रिय कार्यक्रम हो ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]