August 27th, 2016

कस्तो अवस्थामा हुन्छ शेयर बजारमा जोखिम ? पढ्नुहोस्, नरेन्द्र चुदालीको विश्लेषण


narendra
नरेन्द्र चुदाली
कहिले तिब्र गतिमा बढ्ने त कहिले सोही गतिमै घट्ने, त्यो पनि  एकै दिनको फरकमा । अघिल्लो दिनमा लाखौँको नोक्सानी ब्यहोरेर पुर्पुरो समाउन बाध्य लगानीकर्ताहरु अर्को दिन एकाएक हौसिन्छन् । नहौसिउन पनि कसरी ? अघिल्लो दिनभारी मात्रामा मूल्य घटेर निराश हुने लगानीकर्ता अर्को दिनमा फेरी तीब्र गतिमा नै नेप्से बढ्दा आफ्नो नोक्सानी रिकभर गर्न सफल हुन्छन् । तर बजारमा त्यस्तो कुनै ठोस कारण भेटिँदैन की अघिल्लो दिन एकाएक घटेको बजारमा अर्को दिन पुरै चामत्कारीक परिबर्तन होओस् । यिनै हुन् पछिल्ला केही दिनहरुमा नेपालको पुँजीबजारमा देखिएका अनौठा प्रवृत्तिहरु । 

विनाकारण सेयर बजारमा उतारचढाव : जोखिमपूर्ण
हुन त पुँजीबजार सधै यथाअबस्थामा रहिरहने कुरा होईन । यसमा उतावचढाव आउनु पनि स्वभाविक हो । त्यही उतावचढावलाई  नै लगानीकर्ताहरुले मुनाफाआर्जनको अवसरको रुपमा परिणत गर्ने हो । तर बजारमा सेयर घटबढ हुनुमा धेरै कारक तत्वहरुले भुमिका खेलेको हुन्छन् । माग र  आपुर्ती, सुचीकृत संगठित कम्पनिहरुको वित्तिय अबस्था, ब्यावस्थापकिय पक्ष, वासलात, लाभांश दिने ट्रेण्ड, प्रतिसेयर आम्दानी ,नेटवर्थ लगायत देशको आर्थीक नीति तथा राजनीतिक रुपमा भईरहने परीवर्तन आदिले बजारमा हुने घटबढमा भुमीका खेलेको हुन्छ । यसमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि धेरै हदसम्म प्रभाव पारिरहेको हन्छ । 

तर जब बजारमा देखिने उतावचढावमा कुनै त्यस्तो कारक तत्व फेला पर्दैन तब जोखीम पनि बढ्दै जान्छ । पछिल्लो समयमा नेप्सेमा आईरहेको अस्वभाविक उताव चढावको पनि कुनै त्यस्तो स्पष्ट कारण भेटिन सकेको छैन । अघिल्लो दिन तीव्र गतिमा बढेको बजार अर्को दिन सर्कीट बे्रकर लाग्ने गरि घट्दा लगानीकर्ताहरुले ठुलो नोक्सानी ब्यहोर्नु पर्यो । बजारमा घट्दा वा बढ्दा हुने नाफा नोक्सान पुँजी बजारको विषेशता हो । यसमा दुईमत छैन । तर पछिल्लो समय बजारमा जुन अस्थीरता र असन्तुलन पैदा भईरहेको छ यो भने संबेदनशील नै छ । किनकि बजार घट्ने र बढ्नेको अनुमान नै गर्न नसकिने अबस्था आएको छ । जसरी कुनै ब्याक्तिको ब्लड प्रेसरमा एक्कासी उतारचढाव आउँनु खतरनाक मानिन्छ त्यसरी नै बजारमा भारी उतावचढाव पैदा हुँदा लगानीकर्ताको पुँजी जोखीममा पर्दछ । बजार सन्तुलीत हुनुपर्दछ ।

यसरी थाहा पाउनुस् जोखिमपूर्ण सेयर बजार
बजार बढीरहँदा लौ अब बजार राम्रो हुन्छ भन्ने पनि होईन । मुख्य विषय के हो भने बजारको बढाई स्वभाविक छ की छैन ? बजारमा रहेका कारक तत्वहरुको अध्यानबाट बजारको बढाई न्यायोचीत देखिन्छ कि देखिँदैन भन्ने हो । यदिकुनै घरको जगको क्षमता ३ तल्ला मात्र थेग्न सक्ने छ र त्यसमा अरु धेरै तल्ला थपिए भने सो घर नै भत्किन्छ । तसर्थ बजार पनि क्षमता अनुसार मात्र बढ्नुपर्ने हुन्छ ।

बजारमा देखएिका परिबर्तनमा यससंग सम्वन्धीत फ्याक्टरहरुको सम्बन्ध मेल खाएन भने त्यहाँ जोखीम बढेर जाने कुरा लगानीकर्ताले बुझ्नु जरुरी छ । किनकी बजार भुकम्पजस्तो अनुमान गर्न नसकिने चिज होईन । यसको बढाई र घटाई धेरै हदसम्म वैज्ञानिक तथा तथ्यपरक  नै हुनुपर्छ । ुनसक्छ त्यसमा केहीहदसम्म लगानीकर्ताको मनोविज्ञानले काम गर्ला । तर सेयर बजार हावामै चल्छ, कमाउने र गुमाउने कुरा भाग्यमै भरपर्छ भन्ने चाहिँ अवश्य होईन ।

तथ्यगत रुपमा चल्नुपर्ने बजारलाई हावामा चलाउँदा बढ्यो जोखिम
यो बजारमा यस्तो ठुलो तप्का छ कि बजारलाई जुगा कै रुपमा लिन्छ । र लगानी गर्छ । नितान्तै प्राविधिक तथा तथ्यगत रुपमा चल्नुपर्ने बजार हावा र हचुवाका भरमा अगाडि बढ्दा बजारमा जोखिम बढ्दै गईरहेको छ । एक त बजारमा धेरै लगानीकर्ताहरुमा सेयरसम्बन्धी आधारभुत ज्ञानको अभाव छ । उनीहरु अन्य साथी सर्कलले कमाएको देखेर लगानी गरीरहेका छन् । उनीहरुमा न त कम्पनीको बारेमा राम्रो ज्ञान छ न त जोखिम बहन गर्न सक्ने क्षमता । बजारमा परिपक्व लगानीकर्ता नहुँदा बजारमा चलखेल गर्ने समुहले झनै मौका पाईरहेका छन् । 

अहिले बजारमा धेरै लगानीकर्ताहरु भित्रिएका छन् । उनीहरुमा सेयरसम्बन्धी ज्ञानको अभाव छ । सेयर किन्ने र बेच्ने उचित अवसर उनीहरु पहिल्याउन सक्दैनन् । पुराना लगानीकर्ता तथा सेयर दलालहरुको सल्लाहमै लगानी गरीरहेका छन् । उनिहरु बजारमा सामान्य उतावचढाव आउनासाथ अतालिँदा बजारमा थप असन्तुलन पैदा भएको छ ।

हुन त यहाँ नयाँ तथा सेयरसम्बन्धी ज्ञान नभएका लगानीकर्तालाई कुनै दोषारोपण गर्न खोजिएको होईन । तर मिहिनेतको कमाई सेयर बजारमा लगानी गरेर नाफा कमाउने सपना देखेर आउने लगानीकर्ताहरुले आवश्यक ज्ञानको अभावमा नोक्सानी ब्यहोर्नुपर्ने हुन सक्छ । मुख्य चिन्ता यही नै हो । यसमा नयाँ लगानीकर्ता चनाखो हुनु जरुरी छ । हचुवामा लगानी गर्दा एक त स्वयम् लगानिकर्ताको पुँजी जोखिममा पर्छ । त्यससंगै  आवश्यक परिपक्वताको अभावमा यसले बजारमा नै दिर्घकालीन असर पार्छ ।

नेपाली शेयर बजारमा यसकारण देखिन्छ फरक प्रवृत्ति
सायद नेपालको सेयर बजार त्यत्ति परिपक्व भइसकेको छैन । किनकि विश्व सेयर बजारमा देखिने प्रवृत्ति र नेपालको सेयर बजारमा देखिने गरेका प्रवृत्तिहरुमा धेरै फरक पाईने गरेको छ । नेपालको सेयर बजार भर्खर भर्खर विकासको चरणमा छ । काठमाडौँ केन्द्रीत बजार, त्यसमाथि पनि वित्तीय साक्षारताको कमी, लगानीकर्ताको कमजोर आत्मविश्वास, प्राविधिक विश्लेषणको अभाव जस्ता कारणले अन्य देशको ट्रेण्ड तथा बजारको आधारभुत मान्यताभन्दा फरक प्रवृत्ति देखिने गरेका छन् नेपाली सेयर बजारमा । पछिल्लो समय बजारमा देखिएका यस्ता प्रवृत्तिबाट सजग हुनुपर्ने देखिएको छ । 

कुनै कम्पनीको आम्दानी, लाभांश दिने क्षमता, तथा व्यवस्थापकीय पक्ष राम्रो हुँदाहुँदै पनि सेयर मुल्य न्युन छ भने केही त्यस्ता कम्पनी छन्, जसको मुनाफा पनि सन्तोषजनक छैन, प्रति सेयर आम्दानीपनि राम्रो छैन, उसको व्यवस्थापकीय पक्ष पनि राम्रो छैन, त्यस्ता कम्पनीको भाउले आकाश छोएको छ । कुनै कम्पनी जसको प्रतिसेयर आम्दानी २० भन्दा पनि कम छ त्यस्ता कम्पनीको सेयर मुल्य १००० नाघेको छ । बजारमा त्यस्ता कम्पनी पनि छन्, जसले २ प्रतिशत पनि लाभांश दिन सक्दैनन्, त्यस्ता कम्पनिको भाउ ११०० पुगेको छ । कुनै कम्पनी जसले २० देखि ३० प्रतिशत सम्म वोनश सेयर दिने क्षमता राख्दछन्, ती कम्पनीको सेयर मुल्य अझै ५०० वरिपरि नै घुमिरहेको छ । कहिले सेयर बजारको मुख्य सिजनमै बजारमा भारी गिरावट आउँछ त कहिले बेसीजनमा उच्च अकंको बृद्धि देखिन्छ । बजारमा विभिन्न प्रकारका आश्चार्यजनक घटनाहरु दोहोरिइरहेका हुन्छन् । त्यसैले त  बजारसंग सम्बन्धीत ब्याक्तिहरुले नेपाली सेयर बजार बुझी नसक्नुको छ भन्छन् ।

कसरी रहने सजग ?
सामान्यतः सेयर घटेको समयमा किन्ने र बढेको समयमा बेच्ने गर्नुपर्छ । तर यहाँ घटेको समयमा अताल्लीएर भएभरको सेयर बेच्न खोज्ने र बढेको समयमा अझै बढ्ने आशामा थप सेयर किन्न खोज्ने अभ्यास छ । यसबाट पनि लगानीकर्तालाई यथोचित नाफा कमाउन गाह्रो भईरहेको छ । र यसबाट बजार घट्न थालेपछि घटेको घट्यै हुने र बढे पछि बढेको बढ्यै नै हुने गरेको छ । माग र आपुर्तीमा आवश्यक सन्तुलन नमिल्दा बजार असामान्य हुने गरेको छ । प्रशिद्ध लगानीकर्ता वारेन बुफेटले भनेका छन् ‘‘अरु डराउँदा तपाई लोभी बन्नुहोस् र अरु लोभी बन्दा तपाई डराउनुहोस् ।” यसको मतलव अरु डराएर सेयर बेच्दा आफु किन्नलाई तयार बन्नुहोस् । अनि अरुले सेयर किन्न लोभ गर्दा तपाई डराउनुहोस् र आफुसंग भएको सेयर बेच्नुहोस् । वास्तममा यो नै सेयर बजारमा नाफा कमाउनका लागि गर्नुपर्ने काम हो । तर हाम्रो बजारमा कोही डराएर सेयर बेच्यो भने सबै डराउने गर्छन् । र बजारमा सेयर बेच्नेको चाप बढ्न गई भारी गिरावट आउँछ । र कोही लोभी भयो भने बजारका अधिकांश लगानीकर्ता लोभी हुन्छन् । अनि बजारमा तीव्र माग हुन्छ र सेयर मुल्यपनि अस्वभाविक रुपमा नै आकाशीन्छ । बजारमा अधिकांश लगानीकर्ता एकै प्रवृत्तितर्फ ढल्किनाले भारी उतावचढाव आउने गरेको अनुमान गर्न सकिन्छ । बजार अलिअलि घट्न थाल्यो भने अताल्लीएर धेरै भन्दा धेरै लगानीकर्ता बेच्न तयार हुँदा बजार झन् कमजोर हुँदै गईरहेको छ । बजारमा माग र आपुर्तीको सन्तुलन मिल्न सकिरहेको छैन ।

पछिल्लो समय देखिँदै आएको फरक प्रवृत्ति पनि यहि नै हो । अतः सेयर बजारमा अनिश्चितता र जोखीम रहनु यसको विशेषता नै हो । तर अनिश्चितता र जोखीम छन् भन्दैमा यसमा जुवा घरमा लगानी गरेजस्तै लगानी गर्नु मुर्खताबाहेक अरु केही हुँदैन । यसका निश्चित मुल्य मान्यता छन् । निश्चित नियम छन् । प्राविधिक पाटाहरु छन् । यी सबै कुराको अध्ययन गरेर मात्र लगानी गर्नु आवश्यक हुन्छ । हावा जता जादैँछ पात त्यतै हल्लीँदै छ जसरी होईन् । त्यसैले, दुःख गरेर कमाएको पैसा विबेकपुर्ण तरीकाले लगानी गरौँ । जसबाट थप नाफा कमाउन सकियोस् । सबै लगानीकर्ता परिपक्व भईदिए मात्र समग्र पुँजी बजार परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]