November 28th, 2017

कर छुटसम्बन्धी केके छन् व्यवस्था ?

बैंकिङ खबर । नेपाल सरकारले विभिन्न वस्तु तथा सेवामा कर छुट दिँदै आएको छ । अनाधिकृत ढंगले र चोरी पैठारीबाट आउन सक्ने मालवस्तुहरुको प्रवाहलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न वस्तु तथा सेवामा कर छुट दिने व्यवस्था गरिएको राजश्व विभागको भनाइ छ । यद्यपि, व्यापारीहरुले यस व्यवस्थाबाट फाइदा उठाउँदै आएका छन् । मुलुकको आर्थिक विकास र सामाजिक विकासका लागि करदातालाई अभिप्रेरित गर्ने उद्देश्यले सरकारले केही कर छूटहरू दिएको हुन्छ । अन्तरराष्ट्रिय द्विपक्षीय वा बहुपक्षीय सन्धिसम्बन्धी नियमअनुसार कर छूटको सुविधा दिइएको हुन्छ ।

नेपालको कर प्रणालीमा कर छुटसम्बन्धी व्यवस्था
१. आधारभूत कृषि उत्पादन र कृषि सामग्रीहरू, आधारभूत आवश्यकताका तोकिएका वस्तुहरू जीवजन्तु तथा सोको उपज, शिक्षा, किताब, अखबार, सांस्कृतिक, कलात्मक र कालिगढी सेवा, यात्रुवाहक यातायात तथा ढुवानी सेवा, मानव औषधिमा कर छूट हुन्छ । 

२. नेपालमा उत्पादन नहुने मेशिनरी औजार, तिनका पार्टपुर्जा, यन्त्र उपकरण, पेनस्टक पाइप वा सो बनाउन प्रयोग हुने फलामे पातामा पनि कर छुट हुने व्यवस्था छ ।

३. नेपाल सरकारले अरू देशहरूसँग गरेका सन्धिसँगै र युनाइटेड नेशनसँग गरेको सम्झौताको आधारबाट यदि कुनै विदेशी व्यक्ति नेपालमा आएर कुनै दूतावास वा संयुक्त राष्ट्र सङ्घको कुनै कार्यालयमा काम गर्छ भने त्यस्ता व्यक्तिहरूलाई कर छूटको व्यवस्था हुन्छ ।

४. नेपाल सरकारबाट तिरिएको सोसियल सेक्युरिटी पेमेण्ट (वृद्धभत्ता आदि) तथा विदेशमा सेना, पहरीमा काम गरेर सेवा निवृत्त भई नेपालमा आएका व्यक्तिहरूले प्राप्त गर्ने पेन्सनमा कर छुटको व्यवस्था छ भने दूतावास र संयुक्त राष्ट्र संघमा काम गर्ने नेपाली कर्मचारीले विदेशमा काम गरेर यहाँ पेन्सन भुक्तानी लिएमा कर छुट दिइएको छ ।  

५. व्यवसायहरूमा पनि कर छूटको व्यवस्था गरिएको छ । कृषिजन्य व्यवसायहरु, खाद्यान्न, पशुपक्षीको खरीदविक्री जस्ता कारोबारबाट भएको आयमा कर नलाग्ने व्यवस्था छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]