September 18th, 2016

कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा कार्यक्रम यसै वर्षदेखि : यसरी लिनुस् सुविधा

sanchaya koshकर्मचारी सञ्चय कोषले यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेको बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम र कोष आफैंले तीन वर्षअघिदेखि गरेको पहललाई यस वर्ष योजना बनाएर कार्यान्वयनमा लैजान लागिएको हो । यसअघि कोषले सञ्चयकर्तालाई स्वास्थ्य सुविधा दिने उद्देश्यले छुट्टै स्वास्थ्य बीमा कम्पनी खोल्ने योजना बनाएको थियो । सरकारबाट कम्पनी खोल्न स्वीकृति नपाएपछि कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यस वर्षबाट सञ्चयकर्तालाई मात्र सेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सुविधा योजनाका लागि पहिलो वर्ष एक अर्ब ४४ करोड दायित्व आवश्यक पर्ने प्रक्षेपण कोषले गरेको छ ।

कसरी लिने बीमा सुविधा ?
कोषका अनुसार बृहत् स्वास्थ्य बिमा योजनामा सञ्चयकर्ताले बिरामी तथा औषधोपचार सुविधा, दुर्घटनामा मृत्यु वा अशक्तता सुविधा, प्रसूति सुविधा, आश्रित सुविधा पाउनेछन् । यो योजनाअन्तर्गत योगदानकर्ता, श्रीमान्÷ श्रीमती र निजले तोकेको १८ वर्षभन्दा कम उमेरका दुई छोराछोरीले बिरामी तथा औषधोपचार सुविधा पाउनेछन् । वार्षिक ५० हजारसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम सञ्चयकर्ताले साधारण स्वास्थ्य सुविधाअन्तर्गत प्राप्त गर्नेछन् । यस्तै शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि वार्षिक एक लाख ५० हजार रुपैयाँ वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम कोषले उपलब्ध गराउनेछ । यस्तो सुविधा एकपटक उपयोग गरिसकेका सञ्चयकर्ताले भने पुनः उक्त सुविधा पाउने छैनन् ।

सामान्य उपचारः ५० हजारसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम शल्यक्रिया, एक लाख ५० हजार रुपैयाँ वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम कडा रोग, १५ लाखसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम
कडा रोग लागेको अवस्थामा भने १५ लाखसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम सञ्चयकर्ताले पाउनेछन् । 

कसले पाउँछ सुविधा ?
सरकारको कानुनबमोजिम अवकाश पाएका सञ्चयकर्ताले योजनामा सहभागी हुन चाहेमा तोकिएबमोजिम योगदान गरी योजनाबाट निरन्तर फाइदा लिन सक्नेछन् । यसका साथै कम्तीमा पाँच वर्षसम्म नियमित योगदान गरेका र प्रचलित कानुनबमोजिम सेवा अवधि वा उमेरको आधारमा अवकाश भएमा थप एक वर्ष स्वतः योजनामा सहभागी गराइने योजना कोषको छ । योजनामा कम्तीमा १० वर्षसम्म योगदान गरी कुनै पनि स्वास्थ्य सुविधा नलिएका सञ्चयकर्तालाई रकमको तोकिएको प्रतिशत फिर्ता गरिने कोषले जनाएको छ । महिला वा पुरुष योगदानकर्ताले एकपटकमा १५ हजारदेखि अधिकतम ३० हजारसम्म प्रसूति सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै योजनाअनुसार आश्रित भरणपोषणका लागि एकमुष्ठ ७५ हजार र मृतक सञ्चयकर्ताको दाहसंस्कार काजकिरियाका लागि २५ हजार रकम प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]