August 3rd, 2016

एनएमबि माइक्रोफाइनान्सको सीईओमा तिर्थरत्न कोनाजो

20160803_104639एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । कोनाजोले उक्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जा कास्कीमा आयोजित एक स्वागत कार्यक्रमकाबीच बुधवार पदभार ग्रहण गरे । वित्तीय संस्थाको संचालक समितिले उनलाई आगामीदुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो । वित्तीय संस्थामा करीव १ महिना प्रमुख कार्यकारी अधिकृत विहिन रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत कोनाजोको बैंकिङ यात्रा नेपाल बैंक लिमिटेडबाट शुरुवात भई हिमालयन बैंक लिमिटेडमा समेत कार्यअनुभव रहेको छ । नेपालमा लघुवित्तको थोक कारोवार गर्ने संस्था आरएमडिसी (रुरल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड) मा स्थापनाकालदेखि नै विभिन्न विभागहरुमा कार्य गर्दै आएका उनले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै बैंक तथा वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गरेका छन् । साथै, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि सहभागी भएका छन् । 

उक्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्ममा देशका २५ हिमाली तथा पहाडी जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु स्थापना गरी करीब ३६ हजार सदस्यमार्फत ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने १९ करोड रुपैयाँ वचत संकलन गरेको जानकारी दिइएको छ । 

२०७३ वैशाखमा विशेष साधरणसभा बाट स्वीकृत भएको वित्तीय संस्थाको विद्यमान चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँको १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात वित्तीय संस्थाको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ पुग्ने जानकारी उक्त कार्यक्रममा दिइयो । 

स्वागत कार्यक्रममा वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत सजल खड्काले नबनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना ब्यक्त गरे । कार्यक्रममा नवनियुक्त कोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको बताउँदै त्यसका लागि थप मेहनत गर्न कर्मचारीलाई उत्प्रेरित गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]