April 1st, 2016

उपाध्यक्षको राजीनामापछि बीमक संघ अन्यौलमा 

सर्भेयरसंग पनि विवाद चुलियो
Nepal insurer's Asociationउपाध्यक्ष शेखर बरालले पदबाट राजीनामा दिएपछि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघभित्रको विवाद सतहमा देखिएको छ । संघका अध्यक्ष विजयबहादुर शाहले संघलाई केन्द्रिकृत ढंगबाट चलाएको भन्दै उपाध्यक्ष बरालले आइतबार पदबाट राजीनामा दिएका थिए । गएको आइतबार संघले आगामी बैशाख १ गतेदेखि नियुक्त हुने सर्भेयरको ‘आउटस्टेट’ शुल्क बृद्धि गर्ने निर्णय गर्दा अध्यक्षले एकलौटी निर्णय गराएको आरोप उपाध्यक्ष बरालको छ ।

संघभित्रको यो विवादले बीमक र सर्भेयरबीचको सम्बन्धमा समेत चिसोपन आउने देखिएको छ । काठमाडौं उपत्यकादेखि ३५ किलोमिटरको दूरीमा स्थलगत रिपोर्ट तयार गर्न जाने सर्भेयरलाई दिइने ‘आउटस्टेट’ शुल्क १५ सयबाट बढाएर २५ सय रुपैयाँ दिने निर्णय गरेको थियो । सो निर्णयमा बरालले असहमति जनाएका थिए । सर्भेयरको वर्गिकरण नगरी सबैलाई उही रकम दिनुपर्ने निर्णय भएकाले यो निर्णयबाट क्षमतावान सर्भेयरलाई मार परेको उनको तर्क छ । 


बैंकिङ खबरका लागि संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष बरालले अध्यक्ष शाहलगायत केही व्यक्तिले संस्थागत निर्णय गर्दा एकलौटी ढंगले गरेकाले आफूले राजीनामा दिएको बताए । उनले भने, ‘उहाँ (अध्यक्ष)लगायतका केही व्यक्तिले मनोमानी ढंगले निर्णय गर्नुभयो, त्यहाँ सामूहिक छलफल हुँदैन भने पदमा किन बस्ने, सर्भेयरको शुल्क बढाउँदा उहाँहरु आफैले निर्णय गर्नुभयो ।’
तर अध्यक्ष शाहले भने सर्भेयरको शुल्क बृद्धि सबैको सहमतिमा गरिएको दाबी गरे । ‘एकल निर्णय भएको छैन’ उनले भने, ‘सर्भेयरको शुल्क बढाउने कुरामा त्यतिबेला सबैले सहमति जनाउनुभएको थियो ।’


यसअघि तत्कालीन अध्यक्ष केवलकृष्ण श्रेष्ठ घरेलु तथा साना उद्योग विकास बैंकको किर्ते फाइल बनाएको आरोपमा प्रहरीद्धारा पक्राउ परेपछि बीमक संघ लामो समयसम्म निष्कृय बनेको थियो । त्यसपछि २०७१ साल मंसिरमा अर्को कार्यसमिति चयन भएको १६ महिनापछि बीमक संघको विवाद सतहमा देखिएको हो । स्रोतका अनुसार अध्यक्ष शाह र उपाध्यक्ष बरालबीच संघको निर्णय गर्ने बेला पटक–पटक विवाद हुने गरेको थियो । 

कतिपय बीमकहरुले सर्भेयरको शुल्क बढाउने विषयमा छलफल भएको भएपनि निर्णय गर्दा सबैको सहमतिमा नगरिएको बताएका छन् । 
अध्यक्ष शाहलगायतले गरेको निर्णयमा विवाद भएपछि यस विषयमा फेरि छलफल गर्न बीमकहरुले माग गरेका छन् । संघको यो निर्णयले बीमक र सर्भेयरबीच द्धन्द्ध निम्त्याउने उनीहरुको दाबी छ । बीमा समितिले आवश्यक छलफल गरि मिलाउनु पहल गर्नुपर्ने उनीहरुको भनाई छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]