April 29th, 2017

‘उद्यमी बन्नुछ भने ‘बैंकिङ एक्स्पो’मा आउनुस्’

शुक्रबारदेखि राजधानीमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । नेपालमै पहिलो पटक आयोजना भएको बैंकिङ एक्स्पोले बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंकर, सेयर बजार लगायत पैसा तथा पैसाको कारोबारसँग जोडिएका सम्पूर्ण संस्थाहरुलाई एकै छानामुनि समेटेको कार्यक्रमका संयोजक तथा मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको दाबी छ । यसैबिच, बैंकिङ एक्स्पो र एक्स्पो सञ्चालनको उद्देश्य लगायतका विषयमा उनै निर्दोषसँग बैंकिङ खबर डटकमले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

आजदेखि बैंकिङ एक्स्पो सुरु भएको छ, कस्तो छ जनसहभागीता ?
नेपालमा नै पहिलो पटक बैंकिङ एक्स्पो सुरु भएको छ । आज पहिलो दिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्धारा कार्यक्रमको उद्घाटन गरियो । कार्यक्रममा बैंकर्स, विद्यार्थी लगायत अन्य थुप्रै सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रह्यो । खासमा पैसाको आवश्यकता हुनेहरु, पैसाको बचत गर्न तथा परिचालन गर्न नजानेर समृद्ध बन्न नसकेकाहरुको सहभागि पाइएको छ । बैंक तथा बैंकिङ सेवा, सेयरबजार लगायतबारे जान्न चाहनेहरुको यो उत्साहजनक सहभागिता देख्दा खुसी लागेको छ । बाँकी दिनहरुमा अझै बढीको सहभागीता हुने अपेक्षा गरेको छु ।

खासमा यो एक्स्पोको उद्देश्य के हो ? बैंकिङ एक्स्पोको आयोजना गर्ने सोच कसरी आयो ?
नेपालमा वित्तीय साक्षरताको कमी छ, मानिसमा पैसा कमाउने, बचत गर्ने तथा लगानी गर्नेसम्बन्धी ज्ञानको कमी छ । यीनै कुराहरुलाई ख्याल गर्दै मैले बैंकिङ एक्स्पो आयोजना गरी जनताले चाहेको र आजको एकदमै आवश्यकताको विषय रहेको बैंकिङ तथा वित्तीय जानकारी दिने सोच बनाएँ । मेरो यो सोचमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंकरहरु लगायत पैसा तथा पैसाको कारोबारसँग जोडिएका सबै संस्थाहरुको साथ मिल्यो । खासमा कृषि, व्यवसाय तथा व्यवस्थापन अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमा नै उद्यमी बन्न प्रेरित गर्ने उद्देश्य लिएर हामीले बैंकिङ एक्स्पो सुरु गरेका छौँ । नेपालमा उत्पादन भएका जनशक्तिले अर्काको देशमा गएर पसिना बगाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । 

बैंकिङ एक्स्पोका विशेष आकर्षणहरु केके छन् ?
बैंकिङ एक्स्पोले आजको आवश्यकतालाई ध्यानमा राखेर निशूल्क रुपमा बैंकिङ सूचना प्रदान गरिरहेको छ । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, रेमिट्यान्स कम्पनी, बीमा कम्पनी, मर्चेन्ट बैंक, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, बैंकिङ खबर डट कम लगायत गरी ४६ वटा स्टलहरु राखिएका छन् । सबै संस्थाले आफूले दिने सेवा तथा सुविधाका बारेमा स्पष्ट पार्नेछन् । एक्स्पोमा बैंक र बैंकका सेवाहरु, बैंकले लगानी गर्ने क्षेत्रहरु, उद्यमशीलता, बैंकिङ प्रविधिको प्रयोग र यसको प्रभावकारिता, सेयर बजार, बीमा लगायतका बारेमा अन्तक्र्रिया गर्ने अवसर मिल्नेछ । पैसा कमाउने, बचत गर्ने तथा लगानी गर्नेसम्बन्धी जुनसुकै जानकारी बैंकिङ एक्स्पोले दिनेछ । त्यसैले, यदि समृद्ध बन्न चाहनुहुन्छ, स्वदेशमै उद्यमी बन्न चाहानुहुन्छ भने एक पटक बैंकिङ एक्स्पो भिजिट गर्नुस् । बैंकिङ एक्स्पो शनिबार र आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । 

अब दुई दिन बैंकिङ एक्स्पोमा केके हुँदैछ ?
शनिबार विहान साढे ११ बजे बैंकिङ लगानी र उद्यमशीलताका बारेमा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ भने साढे दुई बजे बैंकिङ प्रविधिसम्बन्धी अन्तक्रिर्यात्मक कार्यक्रम गरिनेछ । त्यस्तै, आइतबार विहान साढे ११ बजे सेयर बजारसम्बन्धी र साढे दुई बजे बीमा सम्बन्धी अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । यी कार्यक्रमहरुमा सहभागी भएर सर्वसाधारणले बैंकिङ, बीमा, सेयर बजार, उद्यमशीलता लगायतका क्षेत्रसँग सम्बन्धित आफूले जान्न चाहेका जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ । यीनै क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरु आएर सर्वसाधारणको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिनुहुनेछ ।  

प्रायः ग्रामीण तथा दुर्गम भेगका मानिसहरुलाई वित्तीय साक्षरताको आवश्यकता रहेको भनिन्छ । बैंकिङ एक्स्पो किन राजधानी सहरमा आयोजना गरियो ?
काठमाडौँ सहरमा मुलुकका सबै कुनाकाप्चाका जनताहरु छन् । साँच्चै भन्ने हो भने अहिले गाउँमा मानिस नै छैनन्, सबै रोजगारी तथा अन्य कुनै शिलशिलामा सहर पसेका छन् । यस हिसाबले हेर्दा, काठमाडौँमा आयोजना गर्दा जति जनसहभागिता पाइएको छ, त्यो ग्रामीण भेगमा पाइँदैनथ्यो । अनि, वित्तीय साक्षरताको कमी गाउँमा नभएर सहरमा पनि छ । यो कुरा आजको जनसहभागिताले पनि प्रष्ट पारिसकेको छ । काठमाडौँकै मानिसहरु पनि कतिपय साथीभाईसँग सापटी लिएर पैसा चलाउँछन् । आफूले कमाएको पैसा गोजीमै राख्छन् र खर्च गरेर सकाउँछन् । बचत गर्ने तथा लगानी गर्ने बानीको विकास सहरकै मानिसहरुमा पनि भइसकेको छैन । सहरका मानिसले कमाउन जानेको भए पनि बचत गर्न र लगानी गर्न जानेका छैनन् । अनि, बैंकिङ एक्स्पोले सर्वसाधारणलाई थोरैबाट धेरै बनाउन अर्थात पैसा बचत गर्न तथा लगानी गर्न सिकाउने उद्देश्य बोकेको छ । अब विदेश जान्छु भनेर झोला बोकेर सहरसम्म आएका युवालाई गाउँमै फर्केर उद्यम गर्ने बनाउने लक्ष्य बैंकिङ एक्स्पोले लिएको छ । 

आगामी योजनाहरु केके छन् ? सहरका जनतामा वित्तीय चेतना जगाइसकेपछि अब ग्रामीण भेगमा पनि जाने सोच्नुभएको छैन ?
हामीले गत कात्तिक २६ गतेदेखि 'वित्तीय जागरण : राष्ट्रिय अभियान' सञ्चालन गरिरहेका छन् । त्यही अभियानअन्तर्गत आज हामीले बैंकिङ एक्स्पोको आयोजना गरेका हौँ । अब यसै आर्थिक वर्षभित्र पूर्व दुई स्थानमा वित्तीय साक्षरताको कार्यक्रम लिएर हामी जाँदैछौँ । आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने योजना बनाएका छौँ । हरेक गाउँपालिका तथा नगरपालिकामा वित्तीय जागरुकता जगाउने उद्देश्यका साथ हामी लागेका छौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]