January 31st, 2017

उत्पादनशील क्षेत्रमा लगानी नगर्ने बैंकहरु कारवाहीमा पर्ने

उत्पादानशील क्षेत्रमा लगानी नगर्ने बैंकहरु कारबाहीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरी उत्पादनशील क्षेत्रमा लागनी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानी गर्न निर्देशन दिएको भए पनि बैंकहरुले उक्त निर्देशन पालना गरेका छैनन् । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुले बुझाएको विवरण अनुसार राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी कम गरेका छन् । बैंकहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा पनि अनुत्पादक क्षेत्रमा धेरै भएको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने भएको हो ।

यस बर्ष पनि तोकिएको क्षेत्रमा तोकिएको प्रतिशत लगानी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले हर्जना गर्ने राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पंडितले वताए । बैंकिङ खबरसँग कुरा गर्दै सह–प्रवक्ता पंडितले भने –‘नेपाल राष्ट्र बैंकले उत्पादनशिल क्षेत्रमा २० प्रतिशत तथा कृषि र जलश्रोतमा अनिवार्य १५ प्रतिशत लगानी गर्न बैंकहरुलाई निर्देशन दिएको छ, यो निर्देशन पालना नगर्ने बैंकहरुलाई कारबाही हुन्छ ।’ नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उदाशिन देखिएका छन् । नेपाल राष्ट्र बैंकले आफुले तयार पारेको मौद्रिक नीतिमा उत्पादनमूलक तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गलाई प्राथमिकतामा राखेको छ । तर खासगरी निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु सो नीतिअनुसार लगानी गर्न उदाशिन देखिएका हुन् । राष्ट्र बैंकमा बैंकहरुको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुले केन्द्रीय बैंकको निर्देशनलाई बेवास्ता गरेको पाइएपछि राष्ट्र बैंकले निर्देशन कार्यान्वयनका लागि कारबाही गर्ने तयारी गरेको हो । 

अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने खतरा
चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंक तथा वित्तीय संस्थाले त्यसको ६१ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमै गरेको पाइएको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले व्यापक लगानी गरेका छन् । तथ्यांकअनुसार यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै एक खर्ब अर्थात ९६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका छन् । मुलुकको विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरु बताउँछन् । फेरी अनुत्पादक क्षेत्रमा लगानी उच्च हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । तर उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अनुपात बढ्ने सम्भावना रहँदैन ।  त्यसैले पनि राष्ट्र बैंकले कृषि, उर्जा, हाइड्रोलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आफ्नो नीतिमार्फत नै बैंक तथा वित्तीय संस्थालाई निर्दिष्ट गरेको हो । तर खासगरी निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी मुनाफा नदेखेकाले त्यतापटि कर्जा प्रवाह गर्न त्यति उत्साहित नभएको बताइन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]