May 31st, 2016

उत्पादनक्षेत्र छोडेर ठाडो व्यापारमा लगानी, राष्ट्र बैँकको निर्देशिका अटेर गर्दै बैँकहरु

investmentनेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउन विभिन्न नीति लिए पनि बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन सकेका छैनन् । केन्द्रीय बैंकले बैंकहरूलाई कुल लगानीको २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा गर्न निर्देशन दिए पनि चालू आवको फागुनसम्म १७.८९ प्रतिशतमात्र लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगमा २ खर्ब ७९ अर्ब रुपैँया लगानी गरेका छन् भने थोक तथा खुद्रा व्यापारमा कुल कर्जा रकमको २२ प्रतिशत अर्थात् ३ खर्ब २९ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

कुन क्षेत्रमा कति लगानी ?
यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी १५ खर्ब ५ अर्ब रुपैयाँ छ । जसमध्ये, निर्माण क्षेत्रमा १ खर्ब ६३ अर्ब, फाइनान्स, इन्स्योरेन्स र घरजग्गामा १ खर्ब २१ अर्ब, फाइनान्स, इन्स्योरेन्स र घरजग्गा क्षेत्रमा १ खर्ब २१ अर्ब, सेवा उद्योगमा ७१ अर्ब ९२ करोड, यातायात, सञ्चार र सार्वजनिक सेवामा ७१ अर्ब ९२ करोड, कृषि तथा वनजंगलमा ७० अर्ब ९९ करोड, उपभोगमा ४२ अर्ब ४८ करोड, होटल तथा रेस्टुराँमा २८ अर्ब १७ करोड, यातायात सामग्रीमा २५ अर्ब २३ करोड, विजुली, ग्यास र पानीमा २१ अर्ब ८१ करोड, धातुजन्य उत्पादनमा १६ अर्ब ६६ करोड, खानीमा ३ अर्ब ५३ लाख, स्थानीय निकायमा १ अर्ब ६२ लाख र अन्य क्षेत्रमा १ खर्ब २६ अर्ब रुपैँया बैँक तथा वित्तीय लगानी रहेको छ ।            

खुद्रा व्यापारमा किन बढि आकर्षण ?
उद्योगलगायतका उत्पादनशील क्षेत्रको तुलनामा व्यापारमा कर्जाको माग बढेको र जोखिमसमेत कम भएकाले व्यापारिक क्षेत्रमा भने बैँकहरुको लगानी बढी हुने गरेको छ । गाडी, खाद्यान्न, लत्ताकपडालगायतका सामान विदेशबाट आयात हुने र यसका लागि एलसीमार्फत बैंकिङ च्यानलको प्रयोग हुने भएकाले पनि व्यापारिक कर्जा धेरै देखिएको जानकारहरु बताउँछन् । देशको आर्थिक गतिविधि नै आयातीत व्यापारमा केन्द्रित भएकाले बैंकहरूको लगानी यसै क्षेत्रमा बढी भएको विज्ञहरुको बुझाइ छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न बैँकहरुलाई दबाब दिनुभन्दा सो क्षेत्रमा लगानीका लागि आधारभूत विकास गर्न सरकार लाग्नुपर्ने उनीहरुको तर्क छ । यदि लगानीको वातावरण र सुरक्षाको प्रत्याभूति भए बैँकहरु आफैँ पनि लगानी गर्न तयार हुने बैँकर्सहरु बताउँछन् । बैंकको लगानीकै कारण नेपालमा कार्पेट, पस्मिना, तयारी पोसाकलगायतका व्यवसाय स्थापित भएको र दैनिक उपभोग्य सामानको कारोबारमा कर्जाको माग बढ्दै गएकाले बैंकको लगानी पनि बढ्दै गएको उनीहरुको भनाइ छ । व्यापारिक कर्जाबाट उत्पादनमुलक क्षेत्रका उद्योगको कच्चा पदार्थ आउने भएकाले यसबाट उत्पादन क्षेत्रमा योगदान पुग्ने तर्क उनीहरुको छ । 

के भन्छ केन्द्रिय बैँक ?
यता राष्ट्र बैँकले भने उत्पादनशील क्षेत्रको कर्जा लगानी बढाउने विषय राष्ट्र बैंकको प्राथमिकतामा रहेको कुरा पटकपटक दोहोर्याउँदै आएको छ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकमार्फत बैंकहरूलाई सहुलियत दरमा पुनर्कर्जा दिने गरिएको छ । यस्तो कर्जा बैंकहरूले समेत सहुलियत ब्याजदरमा ग्राहकलाई लगानी गर्नुपर्ने व्यवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]