August 11th, 2016

आर्थिक विधेयक परिमार्जनसहित पारित गर्ने तयारी

samsadसरकारले संसद्को चालू अधिवेशनबाट नै बजेटका आश्रित विधेयक ‘आवश्यक परिवर्तन’ गरी पारित गर्ने तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने गरी सरकारले तयारी गरिरहेको हो ।
उपप्रधान तथा अर्थमन्त्रि कृष्णबहादुर महराले चालू अधिवेशनबाटै बजेटसंग आश्रित तीन वटा विधेयक पारित गर्ने तयारी गरिएको बताएका हुन् । ‘योभन्दा अघिको सरकारले ल्याएजस्तै हुबहू राख्नुपर्छ भन्ने पनि छैन, सबैकुरा परिवर्तन गर्नुपर्छ भन्ने पनि छैन, संसद्मा रोकिएका केही विधेयक पनि आवश्यक परिमार्जन गरी पारित हुन्छ,’ महराले भने, ‘संसद्को यसै अधिवेशनबाट त्यसलाई पारित गर्ने हामीले तयारी गरेका छौँ ।’एमाले नेतृत्वको सरकारमा माओबादी केन्द्र पनि सत्ता साझेदारका रुपमा रहेकाले त्समा आफ्नो स्वामित्व रहेको भन्दै महराले राजनीतिक पूर्वाग्रह नराख्ने पनि स्पष्ट पारे । 

अघिल्लो सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक संसद्बाट पारित भएको थियो भने बजेटसँग सम्बन्धित बाँकी तीन विधेयक अस्वीकृत भएका थिए । केपी ओली नेतृत्वको सरकारमा मुख्य घटकका रुपमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै ती विधेयकको विपक्षमा मतदान गरेको थियो । माओवादीले विपक्षमा मतदान गरेपछि विधेयक फेल भएका थिए । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि असार मसान्तमा सबै विधेयक पारित भएका थिएनन् । असार २४ गते नै बजेट पारित गर्ने संसद्को कार्यसूची भए पनि पारित हुन सकेको थिएन । अघिल्लो सरकार हुँदा नै विनियोजन विधेयक भने पारित भईसकेको छ । यो विधेयक पारित भएसंग सरकारलाई खर्च गर्ने बाटो खुलिसकेको छ । तर संसद्मा प्रस्तुत भएका चारमध्ये तीन वटा विधेय अल्झिएका छन् । आउँदो मंसिर १५ गतेसम्म यी तीन वटा विधेयक पारित नभए सरकारले आन्तरिक तथा बाह्य ऋण उठाउन पाउँदैन ।

विज्ञहरुले आर्थिक विधेयकहरु पारित गर्ने सरकारी तयारीलाई सकारात्मक रुपमा लिएका बताएका छन् । अर्थविद डा. विश्वम्भर प्याकुरेलले राजनीतिक बहानामा आर्थिक विधेयकहरु अल्झाइराख्न ठिक नहुने भन्दै सरकारले पारित गर्ने तयारी गर्नु सकारात्मक कदम रहेको बताए । अर्थविद तिलकबहादुर रावलले रोक्नै नहुने बजेट आश्रित विधेयक राजनीतिक बहानामा रोकेको भएपनि अहिले पारित गर्ने तयारी हुनु स्वागतयोग्य भएको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]