April 4th, 2017

आफ्नो बैंकिङ एटीएम कसरी सुरक्षित गर्ने ? हेर्नुस्, आधा दर्जन टिप्सहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका छन् । पछिल्लो समय नेपालका एटीएमहरुबाट धमाधम पैसा चोरी भइरहेका छन् । नेपालमा अन्तरराष्ट्रिय एटीएम ठगहरूको गतिविधि बढिरहेको छ । यस्ता ठगहरुले एटीएम मेशिनभित्र कार्ड छिराउने ठाउँमा एक्सटर्नल डिभाइस सेट गरी एटीएम कार्ड प्रयोगकर्ताको सम्पूर्ण विवरण कपी गर्ने तथा एटीएम बुथभित्रै अंक थिच्ने ठाउँ माथि गोप्य क्यामेरा सेट गरेर पिन कोड लिने काम गर्दै आएको पाइएको छ । त्यस्तै, गिफ्ट कार्ड तथा स्वापिङ डिभाइसबाट कार्ड प्रयोगकर्ताको सूचना राखी एटीएम कार्ड बनाउँदै आएको पाइएको छ । नेपालजस्तै अल्पविकसित देशमा चोरीका एटीएम र ह्याक गरेका कार्डका आधारमा चोरी गर्ने गिरोह बेलाबेला सक्रिय हुने गरेको छ । तर एटीएमबाट चोरी हुने घटना सम्पन्न मुलुकमा पनि बेलाबेलामा हुने गर्छ । त्यसैले, यस विषयमा समयमै सजग रहनु र सुरक्षाका उपाय अपनाउनु राम्रो हुन्छ । 

एटीएम ठगहरुबाट कसरी बच्ने ?
नेपालका धेरै एटीएममा अझै पनि पुरानै प्रविधि छ । यस्तो प्रविधि रहेसम्म चोरी गर्ने गिरोहलाई निकै सजिलो  हुन्छ । विश्वका धेरै देशले चिप प्रविधिको एटीएम कार्ड प्रयोग गर्दै आएका छन् । तर, नेपालका धेरै बैङ्कले अझै पनि म्याग्नेटिक स्ट्रीप प्रविधिका कार्ड प्रयोग गर्दै आएका छन् । म्याग्नेटिक स्ट्रिप कार्ड सजिलै नक्कल गर्न र आपराधिक कार्यमा बढी प्रयोग हुने गरेको पाइएकाले नेपाल राष्ट्र बैंकले आव ०७२।७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई डेबिट, क्रेडिटलगायत प्रिपेड कार्डहरूमा आधुनिक चिप्स प्रयोग गर्न निर्देशन दिएको थियो । तर, एकाध बैंकबाहेक अरूले यसको पालना गरेनन् । यस्ता कुराहरुमा बैंकहरुले ध्यान पुर्याउनुपर्ने हुन्छ । बैङ्कले आफ्ना प्रयोगकर्तालाई एटीएमको सुरक्षा र प्रयोग गर्न तरीकाबारे जानकारी गराइराख्नुपर्छ । यसबाहेक, आफ्नो एटीएम कार्डको पिन कोड चारी हुन नदिन यस्ता सजगता अपनाउन सकिन्छ :

१. एटीएम प्रयोगकर्ताको लापरबाहीका कारण कतिपय ठगी गर्नेलाई सहयोग हुने गरेको छ । पैसा निकालेको रसिद या स्लिप एटीएम बुथमा नै छोड्दा उनीहरूले व्यक्तिको विवरण लिने गरेका छन् । त्यसैले आफ्नो पैसा निकालेको कुनै पनि स्लिप एटीएम बुथमा छोड्नु हुँदैन । बेलाबेलामा आफ्नो पिन कोड परिवर्तन गरिरहनु राम्रो हुन्छ । 
२. तपाईँले एटीएममा जहाँ आफ्नो कार्ड घोट्नुहुन्छ, त्यहाँ ह्याकरले कार्ड रिडर लगाएका हुनसक्छन् । यस्तो अवस्थामा तपाई जब कार्डलाई घोट्नुहुन्छ, तब कार्डको डिटेल ह्याकरसम्म पुग्नसक्छ । यो प्रोसेसलाई कार्ड स्किमिङ भनिन्छ । यस्तो अवस्थामा जब तपाईं एटीएम कार्ड एटीएम मसिनमा घोट्नुहुन्छ वा छिराउनुहुन्छ, सो बेला यो कुरालाई निकै ध्यान दिनुपर्ने हुन्छ । 
३. एटीएममा आफ्नो पिन नम्बर थिच्ने बेलामा केही वस्तु (मोबाइल, पर्स, एउटा हात आदि)ले छोपेर मात्र थिच्ने गर्नुपर्छ । यसो गर्दा, कसैले क्यामेरा राखेको भएपनि तपाईँले थिचेको पिन नम्बर क्यामेरामा कैद हुन पाउँदैन ।
४. एटीएम मेसिनको रङ तथा नम्बर थिच्ने ठाउँको रङ अस्वाभाविकरूपले फरक देखिएमा त्यस्तो ठाउँबाट पैसा निकाल्नु हुँदैन । ह्याकरहरुले एटीएममा नक्कली किबोर्डको समेत प्रयोग गरिरहेका छन् । यस्तो किबोर्डबाट उनीहरुले तपाईको पिन नम्बर पत्ता लगाउन सक्छन् । यस्तो किबोर्ड उनीहरुले एटीएममा पहिलादेखि लगाइएको सक्कली किबोर्ड माथि लगाउँछन् । यस्तो किबोर्ड प्रयोग गर्ने क्रममा निकै नरम हुन्छ । जबकि एटीएमको सक्कली किबोर्ड धेरै नरम हुँदैन ।
५. ठगलाई एटीएममा क्यामेरा तथा डिभाइस राख्न केही समय लाग्ने र पछि निकाल्नुपर्ने भएकाले उनीहरूले सकभर एकान्तमा रहेको एटीएम प्रयोग गर्छन् । त्यसैले, गार्ड रहेको तथा भीडभाड भइरहने ठाउँको एटीएम मेशिनबाट पैसा निकाल्ने गर्नुपर्छ । बैङ्कसँगै रहेको एटीएम पनि सुरक्षित हुन्छ ।
६. कतिपय अवस्थामा ह्याकरहरुले एटीएम सफ्टवेयरलाई ह्याक गरी स्क्रीनमा भ्रामक म्यासेज  पठाउन थाल्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले स्क्रीनमा आएको म्यासेज अनुसार कमाण्ड दिन थाल्छन् । यो प्रक्रियामास्क्रीनमा दुई दुईपटकसम्म पिन कोड टाइप गर्ने अप्सन आउँछ । यदि एटीएम प्रयोग गर्ने समयमा यस्तो अप्सन आयो भने तपाई सचेत हुनुपर्छ । साथै, यस्तो एटीएम प्रयोग गर्नबाट पनि सक्दो बच्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]