May 23rd, 2017

अलपत्र अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरु

रोयल आचार्य/बैंकिङ खबर
राष्ट्रिय गौरवका आयोजना अलपत्र अवस्थामा परेका छन् । देशको राष्ट्रिय गौरवको रुपमा रहेका २१ वटा आयोजनाहरु सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेका हुन् । सरकारी बेवास्ताका साथै इन्धन र निर्माण सामग्रीको अभावका कारण पनि राष्ट्रिय गौरवका २१ वटा आयोजनाहरुमध्ये कैयौंको काम पुरा गर्ने लक्ष्य पछाडि धकेलिएको छ । वैशाखको भूकम्पले प्रभावित भएका त्यस्ता आयोजनाको काममा भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले थप ढिलाइ भएको हो । राष्ट्रिय गौरवको आयोजना मध्येको प्रमुख मानिने माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि निर्धारित समयमा नै सम्पन्न नहुने भएको छ । उच्च महत्वका साथ हेरिएको र तीव्र रुपमा काम अघि बढिरहेको उक्त आयोजनामा पहिले भूकम्पले क्षति पुर्यायो, त्यसपछि सीमा नाका अवरोधले निम्त्याएको अभावको मारमा परेको छ ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी बनाउने र छोटो प्रक्रियाबाट लगानी गर्ने उद्देश्यका साथ लगानी बोर्ड गठन गरेर केही महत्वपूर्ण आयोजनाहरू अगाडि बढाए पनि तिनको काम भने कछुवाको गतिमा मात्रै अगाडि बढेको छ । सोचेअनुरूप राष्ट्रिय गौरवका आयोजनाहरू अगाडि बढ्न नसक्दा सरकारको सोच र चाहना कतै पूरा नहुने हो कि भन्ने आशंका समेत पैदा भएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, अरूण तेस्रो जलविद्युत् आयोजना, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजनाको प्रक्रिया हालसम्म कुनै पनि रूपमा अगाडि बढ्न सकेको छैन । लगानी बोर्डले लगानी भित्र्याउनका लागि भन्दै लामो समयदेखि आयोजना विकास सम्झौता (पिडिए)को प्रक्रिया सुरु भएको जनाए पनि त्यसले सार्थक निष्कर्ष पाउन सकेको छैन । बोर्डले राष्ट्रिय गौरवमा नै राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम भने तीव्र रूपमा अगाडि बढिरहेको छ । २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये केहि आयोजनाको बारे यहाँ प्रस्तुत छ : 

रेलमार्ग निर्माण
०६६ देखि ०८६ सालसम्म चार हजार किलोमिटर रेल सञ्जाल विस्तार गर्ने योजना अलपत्र अवस्थामा छ । रेलमार्ग निर्माण सरकारले बेला बेला कुरा उठाउने भए पनि त्यसलाई कागजमै सिमित राखिएको छ । यसमध्ये १० वर्षभित्रै १ हजार ५ सय किलोमिटर रेल सञ्जाल विस्तार गर्ने सरकारको लक्ष्य थियो । तर, अहिलेसम्म एक किलोमिटर पनि निर्माण भएको छैन । भारतमा शासन गर्ने इस्ट इन्डिया कम्पनीले सन् १९३७ मा बनाइदिएको जनकपुर–जयनगर र रक्सौल–अमलेखगन्ज रेलवे नै नेपालको एक मात्र रेलवे हो । 

०६६ मा सरकारले पूर्व–पश्चिम रेल मार्ग बनाउने योजना ल्याएको हो । त्यसको दुई वर्षपछि ०६८ मा रेल विभाग स्थापनासँगै २० वर्षे योजना तयार पारेर पूर्व–पश्चिम रेलवे बनाउने घोषणा गरियो । ०६६ मा सुरु भएको ९ सय ४५ किलोमिटर लामो पूर्व–पश्चिम रेलवेको प्रगति भने बल्ल सम्भाव्यता अध्ययनमा मात्रै पुगेको छ । विभागका अनुसार यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ५३ करोड रुपियाँ खर्च लाग्छ । जस अनुसार यसको लागत खर्च पाँच खर्ब रुपियाँभन्दा बढी हुन आउँछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
राष्ट्रिय गौरवको आयोजना मध्यको एक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि अलपत्र अवस्थामा नै छ । विमानस्थलको नाममा कार्यालय मात्रै खोलिएको छ । मुआब्जा वितरण भएर चीन सरकारसँग ऋण सम्झौता भए पनि काम अघि बढ्न सकेको छैन । खास गरी ऋण रकम निकासा नभएकाले यो आयोजना अन्योलमा छ । 


पश्चिम सेती आयोजना
पश्चिम सेती आयोजनाको कथा पनि उस्तै हो । ०३७ मा नै यो आयोजना विकासको प्रसंग उठेको हो । फ्रान्सेली कम्पनी सोग्रेहले पहिलो पटक ०३७ मा सेती नदीमा जलविद्युत् उत्पादन गर्ने अध्ययन गरेको थियो । उक्त अध्ययनले ३७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो । त्यसपछि ०४३ र ०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने भन्दै अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले यसको निर्माणमा रुचि देखायो । २३ असार ०५१ मा स्मेकले ७ सय ५० मेगावाट विद्युत् निकाल्ने गरी नेपाल सरकारसँग आयोजना विकाससम्बन्धी सम्झौता गरेको भए पनि यसको काम अघि बढ्न सकेको छैन । 

काठमाडौँ–तराई दु्रत मार्ग (फास्ट ट्रयाक) 
राजधानीलाई तराईसँग जोड्ने यो मार्ग ०६४ बाट सुरु भए पनि डीपीआर र जग्गा अधिग्रहणमै झन्डै एक दशक बितेको छ । अहिले सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ तर, कहिले सम्पन्न हुने हो ठेगान भने छैन । ससंद्को सार्वजनिक लेखा समितिमा आयोजनाले बुझाएको विवरणले त अझै एक वर्ष मुआब्जा र जग्गा अधिग्रहणमै अल्झिने उल्लेख छ । यसबाट समेत आयोजनाको रफ्तार छर्लंग हुन्छ । 

पूर्व–पश्चिम हुलाकी मार्ग 
पूर्व–पश्चिम हुलाकी मार्ग निर्माणको रफ्तार पनि एकदमै सुस्त छ । ०६३ देखि सुरु भएको यो आयोजनामा १० वर्षमा जम्मा १५ प्रतिशत मात्रै काम भएको छ । सम्पादित काममध्ये पनि ठूलो हिस्सा पुल निर्माणमा छ, सडक निर्माणको योगदान मुस्किलले पाँच प्रतिशत रहेको आयोगको तथ्यांकले देखाउँछ । जब कि, ०७५ सम्ममा यसले १ हजार ६ सय ६३ किलोमिटर सडक निर्माण गरिसक्नुपर्ने थियो । 

यी हुन्, राष्ट्रिय गौरवका २१ आयोजनाहरुः
१. तामाकोशी जलविधुत आयोजना
२. बुढी गण्डकी जलबिद्युत आयोजना
३. पश्चिम सेती जलविद्युत आयोजना
५. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना
६. हुलाकी राजमार्ग
७. काठमाडौं तराई मधेश द्रुतमार्ग
८. उत्तर दक्षिण लोकमार्ग 
९. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना
१०. मेलम्ची खानेपानी आयोजना
११. सिक्टा सिँचाइ आयोजना
१२. रानीजमरा सिँचाइ आयोजना
१३. बबई सिँचाइ आयोजना
१४. भेरी–बबई डाइभर्शन आयोजना
१५. दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढ, बारा
१६. भैरहवा (गौतम बुद्ध) विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउने, रुपन्देही
१७. पोखरा विमानस्थललाई क्षेत्रिय विमानस्थलमा विकसित गर्ने
१८. पशुपति क्षेत्र विकास कोष
१९. लुम्बिनी क्षेत्र विकास कोष
२१. राष्ट्रपति चुरे संरक्षण आयोजना


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]