September 8th, 2016

अरबौँ लगानी गरेर किन जोखिम मोल्दैछन् अम्बानी ?

ambaniभारतकै धनी मुकेश अम्बानीको लगानी रहेको रिलायन्स जियो सेवाले फोर जी नेटवर्क सुरु गरेको छ । न्यूनतम मूल्यमा सेवा उपलब्ध गराउने यी अर्बपतिको प्रतिबद्धताका साथै डाउनलोड गतिले ‘स्ट्रिमिङ’ भिडियोलाई सक्षम बनाउने देखिएको छ । भारतको ८० प्रतिशतभन्दा बढीको पहुँच पुर्याउने गरी फोर जी नेटवर्क सोमबार औपचारिक रूपमा सुरु भएको हो । भारतीयले यो वर्षको अन्त्यसम्म जियो निःशुल्क प्रयोग गर्न पाउने देखिएको छ । त्यसपछि डेटाका लागि मासिक १ सय ४९ भारु मात्रै तिर्नुपर्नेछ । “डिजिटलमा जान सक्ने कुनै पनि वा सबै चिज त्यसमै जाँदै छ । त्यो पनि ठूलो दरमा,” अम्बानीले गत साता लगानीकर्तालाई भनेका थिए, “जीवन डिजिटलमा जाँदै छ ।”

प्रविधि उद्योगले तोड्न खोजेको बजार
भारतमा समग्र वयस्कको २० प्रतिशतको मात्रै इन्टरनेटमा पहुँच छ । थोरै मात्र सार्वजनिक वाइफाइ छन् । तीव्र ब्रोडब्यान्ड सम्पर्कका लागि पूर्वाधार आवश्यक पर्छ, जुन सहरी क्षेत्रमा दुर्लभै छ । ग्रामीण क्षेत्रमा त यो अझै कम छ । जियो नेटवर्क सफल भयो भने अम्बानी ‘तरंगित रूपान्तरण’मा यसलाई पुँजीकरण गर्न सफल हुनेछन् । यसले गर्दा करोडौं भारतीय आगामी वर्षहरूमा अनलाइनमा जान सक्नेछन् । यो धेरैजसो स्मार्टफोनको माध्यमबाट हुनेछ । यो प्रविधि उद्योगले तोड्न खोजेको बजार हो । गुगलले भारतभरिका रेल स्टेसनमा निःशुल्क वाइफाई जडान गरेको छ । फेसबुकले पनि फ्री भर्सनको प्लेटफर्म ल्याउने प्रयास गरिरहेको छ ।

नेटवर्क निर्माणमा जोखिम
अम्बानीले नेटवर्क निर्माण गरेर ठूलो जोखिम मोलेका छन् । भारतभर १ लाख दूरसञ्चार टावर निर्माणमा उनले अर्बौं लगानी गरेका छन् । जियोले सुरुमै १८ हजार सहर र २ लाख गाउँलाई समेटेको अनुमान उनको छ । सन् २०१७ मार्चदेखि उनले ९० प्रतिशत जनसंख्यामा आफ्नो पहुँच पुर्याउने लक्ष्य लिएका छन् । स्क्र्याचबाट राष्ट्रिय फोर जी नेटवर्कको निर्माण गर्नु उनका लागि ठूलो जोखिमका रूपमा देखिन्छ ।

उनले १५ वर्षअघि भाई अनिलसँगको विवादपछि दूरसञ्चार क्षेत्र प्राप्त गरेका थिए । यी दाजुभाइसँग संयुक्त गरेर २६ अर्ब डलरको सम्पत्ति रहेको अनुमान छ । जियोले रिलायन्स कम्युनिकेसन्सको स्वामित्वमा रहेको रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न पाउनेछ । प्रतिद्वन्द्वी नेटवर्कले पनि विशेष छुटको प्रस्ताव गरेर रिलायन्स जियोको सुरुवातीको प्रतिक्रिया दिएका छन् । यसले मूल्य प्रतिस्पर्धाको अवस्था ल्याएको छ । एयरटेलले थ्रीजी र फोरजी सेवाको मूल्य ८० प्रतिशतले घटाएको छ । भोडाफोनले पनि डेटाको परिमाणलाई झन्डै ७० प्रतिशतले बढाएको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]